आमाको हौसलाले निजामती बनेका प्रकाश !


बुवा मणिराम शर्मा र आमा जमूना शर्माको कोखबाट २०५१ सालमा नौमूले गाउँपालिका –८, दैलेख साविक चौराठा गाविसमा जन्मिएका प्रकाश शर्मा वरिष्ठ लेखा अधिकृत हुन् । उनी प्रदेश अस्पताल, सुर्खेतमा कार्यरत छन् । प्रकाश शर्मा र उनकी श्रीमती सीता कंडेल दुवै निजामती सेवामा वरिष्ठ लेखा अधिकृत पदमा कार्यरत छन् । एकै दिन सेवा प्रवेश गरेका कारण उनीहरूलाई काम र अध्ययन सबैमा एक अर्काको साथ मिल्यो । खरिदार पदमा सँगै निजामती सेवा प्रवेश गरेपछि वैवाहिक जीवनको सुरुवात गरेका दम्पत्तीले नायब सुब्बा र अधिकृतसम्मको तयारी सँगै गरेका थिए । यो जोडी पेशागत जीवनका अलवा सामाजिक काममा समेत सक्रिय रहेको छ । अहिले सीता नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्य समिति, सुर्खेतकी अध्यक्ष छिन् भने प्रकाश संगठन कर्णाली प्रदेश कार्य समितिको महासचिव छन् । उनले सरकारी सेवामा काम गरेको करिब ११ वर्ष पुग्न लाग्यो । उनै वरिष्ठ अधिकृत शर्मासँग अंगराज परियारले गरेको संघर्ष र सफलतका कुरा :
बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झनुहुन्छ ?
म बुवा मणिराम शर्मा र आमा जमूना शर्माको कोखबाट जन्मिएको पहिलो सन्तान हो । मध्यम वर्गीय किसान परिवारमा जन्मिएकोले बाल्यकाल मिश्रीत नै रह्यो । त्यो समयमा गाँउमा बसोबास बाक्लै थियो । छरछिमेकमै हाम्रो उमेर समूहमा करिव १५–२० जना भाइ बहिनी थियौँ । विद्यालय खुलेको दिन विद्यालय जाने र अघिपछि पशु चौपाया लिएर गोठाला जान मलाई मन पथ्र्यो । गाउँ भरीका बाख्रा वनमा लैजाने पौडीे, डन्डिबियोे, खो खो, चुम्की आदि खेलहरु खेल्ने हुनाले निक्कै रमाईलो हुन्थ्यो । बुबा आमाले औपचारिक शिक्षा नलिएको हामिले त पढेनौ पढाईको महत्व अहिले थाहा भयो तर तिमिहरु पढ भन्नुहुन्थ्यो । म घरको पहिलो सन्तान भएकोले तैले पढाईमा ध्यान दिए भाईबहिनीलाई सजिलो हुन्छ भन्नुहुन्थ्यो । त्यो कुरा मलाई सधै याद आउँथ्यो । कक्षा १ देखि ५ सम्म जगनाथ प्राथमिक विद्यालय, बाँउदेमा पढेँ त्यतिखेर प्रथम हुन्थेँ । कक्षा ६ देखि १० सम्म अरनिको उच्च माध्यामिक विद्यालय, गिरखानी, चौराठामा पढेँ, तर अलि बढी घरायसी जिम्मेवारी र प्रतिस्पर्धा अलि बढी भएर प्रथम स्थान कायम गर्न सकिएन । एसएल्सीमा प्राविधिक कारणले अंग्रेजी विषय लाग्यो । यद्यपी पूरकबाट प्रथम श्रेणीमा उत्तिर्ण गरें । खेती किसानी गर्दा खान पुग्ने, घरमा दुई तीनवटा भैसी, एक हल गोरु र ३०–४० वटा बाख्रा हुन्थे भने गाउँमा मिश्रीत खाले व्यापार पनि थियो । गाउँमा बस्दा त रमाइलै थियो तर भविष्य सम्झिएर उच्च शिक्षा अध्ययनका लागि सुर्खेत झरँे ।
विद्यार्थी जीवनमा के बन्ने लक्ष्य थियो ?
गाउँघर तिर शिक्षक मात्र देखेकोले शिक्षक बन्छु भन्ने थियो ।
निजामती सेवामा के कुराले प्रेरणा मिल्यो ?
५–६ कक्षा सम्म त गाउँमा शिक्षक मात्र देखेकोले शिक्षक बन्छु भन्ने थियो । पछि अलि बुझ्ने भएपछि मेरो आमाले फूपूको छोरा कृष्ण प्रसाद रुपाखेती दाई जस्तै कर्मचारी बन्नुपर्छ भनेपछि त्यता ध्यान केन्द्रित भयो । सोही अनुसार एसएलसी पछि सुर्खेत पढ्न आएँ । उहाँकै घरमा बसेर मेरो मामा कृष्ण प्रसाद ढकाल पढ्नु हुन्थ्यो । एसएलसी प्रथम श्रेणीमा पास भएकोले साइन्स पढ्नुपर्ने धेरैको सुझाव थियो । तर मेरो मामाले लोकसेवाको कोर्ससँग सँगै म्यानेजमेन्ट पढ्दा निजामती कर्मचारी हुन सकिने सल्लाह दिनुभयो । उहाँसँगै बसेर प्लसटु म्यानेजमेन्ट पढो । आमा र मामाको सल्लाह तथा बुबाको साथले मेरो निजामती सेवा प्रवेशको कोशेढुंगा बन्यो ।

सरकारी सेवामा आउनु पहिलाको संघर्ष कस्तो रह्यो ?
मैले मामाको सल्लाह बमोजिम प्लसटु म्यानेजमेन्टमा मिहिनेत गरेर पढेँ । त्यहाँ पनि प्रथम श्रेणीमा नै पास गरेँ । मनोबल उच्च थियो मामा सँगै अलि अलि सामान्यज्ञान हेरिरहन्थ्ये ंप्लसटु पास हुने बित्तिकै लोक सेवा तयारीमा लागेँ । पढ्न लागेको दोस्रो वर्षमै सिफारिस हुन सफल भएँ ।
सरकारी जागिरको अनुभव ?
जुनसुकै क्षेत्रमा नियमित रुपमा इमान्दारीपूर्वक मेहनत गरेमा सफलता प्राप्त हुने हो । सरकारी सेवामा करिब ११ वर्ष पुग्न लाग्यो । यहाँ पनि इमान्दारीपूर्वक मेहनतको आवश्यक हुन्छ । जागिरमा पनि मैले काम गर्ने हरेक कार्यालयमा मिहनेत पूर्वक काम गर्ने गरेको छु । त्यसमा पनि हामी दुबै जना श्रीमान् श्रीमती निजामती सेवामा छाँै । दुवैजना एउटै क्षेत्रमा हुँदा एक अर्काको काम र जिम्मेवारी पनि थाहा हुने हुँदा अझ सहज हुने रहेछ । हाम्रा एक अर्काका साथी पनि एउटै हुने हुँदा हरेक काम गर्न सजिलो भएकोले म आफ्नो काम र पेशाप्रति पूर्णरुपमा सन्तुष्ट छु ।
दुई जना सरकारी सेवामा हुँदा समाजले कस्तो प्रतिक्रिया दियो ?
दुवै जना सरकारी सेवामा हुँदा समाजमा सबैको सकारात्मक दृष्टि नै हुने रहेछ । सबैले प्राथमिकतामै राखेको अनुभूति हुन्छ ।
निजामती सेवाको यात्रामा एकअर्काको साथ कत्तिको रह्यो ?
निजामती सेवामा हामीले एकैदिन प्रवेश गरेको हो । एउटै सेवाभित्र भएकोले हरेक कार्यहरुको विश्लेषण गर्न, एकले अर्काको बाध्यता बुझ्न सजिलो हुने रहेछ । सेवा प्रवेश पछाडि अध्ययन पनि संगसंगै गर्ने गरियो हरेक कुरामा साथ र सहयोग हुने नै भयो । एक अर्काको अनुभव आदान प्रदानले पेशागत जिम्मेवारीलाइ प्रभावकारी एवं सहज रुपमा निर्वाह गर्न सकिदो रहेछ । नायब सुब्बा अनि अधिकृत सबै तयारी सँगसँगै गर्दा नतिजा पनि सँगै प्राप्ति भएको छ । अहिले दुबै जना कर्णाली प्रदेशमा वरिष्ठ लेखा अधिकृत पदमा कार्यरत छौँ । कार्यालयको नियमित कामको अलवा पेशागत हक हितका लागि हामी दुवैजना निरन्तर लागिरहेका छौँ । अहिले सीता नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति, सुर्खेतको अध्यक्ष छन् भने म कर्णाली प्रदेश कार्यसमितिको महासचिव पदको जिम्मेवारीमा छु । हरेक कुरामा एकले अर्कोलाई साथ दिदा सबै क्षेत्रमा सफलता प्राप्त गर्न सकिने रहेछ भन्ने अनुभूति भएको छ ।
पारिवारिक जीवन र पेशागत जिम्मेवारीलाई कसरी सन्तुलनमा राख्नुहुन्छ ?
पारिवारिक जीवन र पेशागत सन्तुलन मिलाउन निकै गाह्रो रहेछ । समय जता दियो त्यतै राम्रो हुने हो । हामीले सकभर समय व्यवस्थापन गरेर दुई छोरा र परिवारसँग समय विताउने गरेका छौ। सामाजिक काममा पनि सम्भव भए सम्म पुगिहाल्छौ। आमा बुवा बहिनीहरु सबै परिवार सँगै भएकोले पारिवारिक तथा सामाजिक काममा उहाँहरु पनि संलग्न हुनुहुन्छ । त्यसले हामीलाई धेरै सजिलो भएको छ ।
निजामती बन्न गाह्रो कि सजिलो ?
गाह्रो छ, सजिलो भने पक्कै छैन । मेहनत, अनुशासन र लगन भए असम्भव भन्ने केहि छैन । प्रतिस्पर्धा अत्यधिक हुन्छ । हजारौँ मध्ये थोरै मात्र चयन हुन्छन् । लामो समयसम्म निरन्तर मेहनत गर्नुपर्छ । परिवार, पढाइ र पेशागत तथा सामाजिक जीवनबीच सन्तुलन मिलाउन कठिन हुन्छ । यसका लागि धैर्य र आत्मानुशासन आवश्यक हुन्छ । लोक सेवा आयोग परीक्षा पारदर्शी र निष्पक्ष छ । सही तयारी, नियमित अभ्यास र योजनाबद्ध अध्ययन गर्ने हो भने नतिजा हासिल गर्न सकिन्छ ।

सेवाग्राहीहरुको समस्या समाधानमा कतिको सफल भएजस्तो लाग्छ ?
मेरो स्वमूल्यांकन अनुसार सफल भए जस्तो लाग्छ । आफूले प्रवाह गरेको सेवा प्रवाहबाट सन्तुष्ट छु । अनुभव बटुल्दै जाँदा अझ राम्रो गर्न सक्छु जस्तो लाग्छ ।
जनअपेक्षाको पूरा गर्न कर्मचारीतन्त्रको विकल्प के रहन्छ ?
जनअपेक्षा पूरा गर्ने सन्दर्भमा इमान्दारिता र निष्ठाको प्रवद्र्धन मार्फत निजामती सेवालाई जनमुखी बनाउन सकिन्छ । कर्मचारीतन्त्रको विकल्प सुधारिएको कर्मचारीतन्त्र नै हो । सबैले आफू रहेको क्षेत्रमा आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने जनअपेक्षा पूरा गर्न कठिन छैन । राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र, गैरसरकारी क्षेत्र, निजी क्षेत्र, नागरिक समाज, मिडिया र सेवाग्राहीको संयुक्त प्रयासबाट कर्मचारीतन्त्रलाई सुदृढ, सबल, सक्षम र जनमैत्री बनाउन सकिन्छ ।

रिटायर्डपछिको चाहना के छ ?
रिटायर्ड लाइफबारे मैंले त्यस्तो केही सोचेको छैन । रिटायर्ड हुन अझै धेरै बर्ष बाँकी नै छ । त्यसैले रिटायर्ड लाइफबारे खासै योजना बनाएको छैन । तरपनि सक्रिय सामाजिक जीवनमा रमाउन चाहान्छु । अहिले देखी नै हरेक सामाजिक काममा सक्रिय छु र यसलाई निरन्तरता दिन चाहन्छु ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
सकारात्मक सोचका साथ निरन्तर इमान्दारीपूर्वक मेहनत, आत्मविश्वास, धैर्यता र साहस भयो भने जुनसुकै क्षेत्रमा सफलता प्राप्त हुन्छ भन्ने लाग्छ ।