बलात्कारपछि हत्या गरेको आरोपमा चार जना गिरफ्तार

सुर्खेत: गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले फागुन २३ गते घटनास्थलबाटै गिरफ्‌तार गर्यो । पीडित पक्षले फागुन २४ गते दिएको उजुरीको आधारमा शवको पोष्टमार्टम प्रदेश अस्पताल सुर्खेतमा भयो । हालसम्म परिवारजनले शवको सद्गत गरेका छैनन् । २३ गते दिउँसो बालिकाको शव वीरेन्द्रनगर नगरपालिका–४ स्थित जनजागरण सामुदायिक वनमा बेहोसको अवस्थामा फेला परेको थियो । थप अनुसन्धानका लागि फागुन २४ गते अन्य १५, १६ र १७ वर्षीय बालकहरुलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनजंग बुढथापाले बताए। मृतक बालिका कक्षा ११ मा अध्ययनरत थिइन् । मृतकका आफन्तहरूले सामुहिक बलात्कारपछि हत्या भएको भन्दै दोषीहरुलाई कारबाहीको माग गरेका छन् ।