सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेत र कर्णाली प्रदेश समितिले पत्रकार माथिको हिंसात्मक आक्रमणको भत्र्सना गर्दै ध्यानाकर्षण गराएको छ । महासंघले सोमबार जिल्ला प्रशासन कार्यालय सुर्खेत र कर्णाली प्रदेश सरकारमार्फत संघीय सरकारलाई ध्यानकर्षण गराएको हो ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सर्कुलरअनुसार पत्रकार हत्या र मिडिया माथि भएको तोडफोड तथा आगजनीको विरोध एवं दोषी उपर कारबाहीको माग गर्दै मुख्यमन्त्री कँडेलमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको हो । साथै कर्णाली प्रदेशका १० वटै जिल्ला शाखाहरूले पनि प्रमुख जिल्ला अधिकारीमार्फत संघीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समर्थकको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समुहले विभिन्न सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएको विरोधमा महासंघले सरकारको ध्यानाकर्षण गराएको हो ।
भिडियो खिच्ने क्रममा आन्दोलनकारीले व्यक्तिगत घरमा लगाएको आगलागीमा परि पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो । अराजक आन्दोलनकारीले अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइतलामा आगो लगाउनुका साथै ढुंगामुढामा र कान्तिपुर टेलिभिजनको भवनमा क्षति पु¥याएका थिए ।
यस्तै, हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड, पत्रकार दिनेश गौतममाथि भएको आक्रमणबाट उनको खुट्टा भाँचिएको थियो, भने फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको थियो । हिंसात्मक प्रदर्शनबाट घटेका घटनाप्रति महासंघ गम्भीर भएको बताउँदै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र सुर्खेत शाखाले संयुक्त रुपमा ध्यानार्कषण पत्र बुझाएको छ ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल र सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायमार्फत नेपाल सरकारसमक्ष ज्यान गुमाएका पत्रकारको हत्याबारे अनुसन्धान गरी घटनामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्नुपर्ने माग महासंघको छ । साथै, मृतक तथा घाइतेका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने महासंघले जोडदार माग गरेको छ ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश उपाध्यक्ष लक्ष्मण केसीले सोमबार महासंघको केन्द्रीय निर्देशन अनुसार कर्णाली प्रदेशका सबै शाखाहरुले सरकारलाई ध्यानाकर्षण गरिएको बताए ।
उपाध्यक्ष केसीले आन्दोलनका क्रममा क्षति पु¥याइएका सञ्चारगृहलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको उचित प्रवन्ध मिलाउन महासंघले माग गरेको उनले बताए ।
विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन्का घटनामा संलग्नहरूलाई तत्काल कानुनी कारवाही गरी भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको ग्यारेण्टी राज्यले मिलाउनु पर्ने जोडदार माग गरिएको छ ।
महासंघले राखेका माग एक साताभित्र सम्बोधन हुने विश्वसनीय आधार निर्माण नभए महासंघ देशव्यापीरुपमा सरकारविरुद्ध आन्दोलनमा उत्रने चेतावनी महासंघको छ । ध्यानाकर्षण पत्र बुझ्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले महासंघले राखेका माग गृहमन्त्रालयमार्फत सरकारलाई ध्यानाकर्षण गराउँने प्रतिबद्धता जनाए ।
आन्दोलनका नाममा पत्रकार र सञ्चार गृहमाथि हमला हुनु दुखद् रहेको उल्लेख गर्दै प्रजिअ उपाध्यायले आन्दोलनका नाममा कसैलाई पनि अराजकता फैलाउन छुट नभएको बताए । अराजकता फैलाउनेलाई अबिलम्व कारबाही हुनुपर्ने उनको भनाई थियो ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले व्यक्ति विशेषका व्यवस्थाले प्रसय नपाउँने बताएका छन् । पत्रकार महासंघ कर्णाली प्रदेश समिति र सुर्खेत जिल्ला शाखाले पत्रकार र सञ्चार माध्यममा भएको सांघातिक आक्रमणको विरोध गर्दै संघीय सरकारलाई बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै कँडेलले जनताले अस्वीकृत गरिसकेको परिवारवादले पुनः मौका नपाउने दावी गरे ।
महासंघले बुझाएको पत्रमा प्रदेश सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै कँडेलले संघीय सरकारलाई जानकारी गराउने बताए । गणतन्त्रमा व्यक्ति विशेषको कमजोरीले प्रश्न उठ्नु स्वभाविक हुने उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले गणतन्त्रको विकल्प राजतन्त्र नभएको दावी गरे ।
‘लोकतान्त्रिक व्यवस्थामा नेतृत्वमा रहेकाहरुको विरोध गर्न पाइन्छ । उनीहरुको विकल्प खोज्न पाइन्छ । त्यसैका लागि हाम्रो संविधानले पाँच वर्षमा आवधिक चुनाव हुने परिकल्पना गरेको छ,’ उनले भने, ‘तर, व्यक्ति विशेष, ठाउँ विशेष र घटना विशेषका कमजोरी देखाएर व्यवस्थाको विरोध गर्न पाइदैन ।’ स्वतन्त्ररुपमा बोल्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष भएको दावी गर्दै उनले राजतन्त्र फिर्तिको प्रारम्भमै दुखद् घटना घटेको बताए । पुराना पुस्ताले राजतन्त्रको सामना गरेको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले राजावादी समर्थकले तिनकुनेमा प्रदर्शन गरेको अराजक आन्दोलनमार्फत नयाँ पुस्तालाई जान्ने अवसर मिलेको दावी गरे । जात र व्यक्ति विशेष आन्दोलनको कुनै अर्थ नभएको उनले बताए । नेपालको राजनीतिक परिवर्तनको क्रममा भएका आन्दोलनमा सिङ्गो पत्रकारिता क्षेत्रको भुमिका महत्वपूर्ण भएको उल्लेख गर्दै कँडेलले तिनकुनेको घटना पुनः दोहरिन नुहुने बताए । आम पत्रकारहरुको पेशागत हकहित, सुरक्षा र स्वतन्त्र प्रेसको सुनिश्चिततामा प्रदेश सरकार प्रतिवद्ध रहेको मुख्यमन्त्री कँडेलको दावी थियो ।
खुलानजर । १७ चैत्र २०८१, सोमबार १८:२०