
सुर्खेत: उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २, सुर्खेतका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। “समृद्ध सुर्खेत–२ : सुशासन, रोजगारी र प्रविधिमैत्री” नारासहित सार्वजनिक गरिएको घोषणापत्रमा पूर्वाधार विकासदेखि सामाजिक न्यायसम्मका ठोस एजेन्डा समेटिएका छन्।
पार्टीका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार गम्भीर सिंह भुलले सुर्खेत–२ का सम्पूर्ण नागरिकप्रति प्रतिबद्धता जनाउँदै घोषणापत्र सार्वजनिक गर्नुभएको हो। घोषणापत्रमा समावेश नीति तथा कार्यक्रमले दिगो विकास, जनउत्तरदायी शासन र समावेशी समाज निर्माणलाई केन्द्रमा राखेको बताइएको छ।
पूर्वाधार विकासमा जोड
घोषणापत्रअनुसार वर्षायाममा समेत सहज आवागमन सुनिश्चित गर्न जङ्गलबाट सडकमार्ग र सिँचाइ व्यवस्था विस्तार गरिनेछ। ग्रामीण र शहरी बस्तीलाई जोड्ने सडक, खानेपानी तथा सिँचाइलाई प्राथमिकतामा राख्दै अधुरा आयोजना सम्पन्न र नयाँ योजना स्थानीय आवश्यकताअनुसार अघि बढाइने जनाइएको छ।
शिक्षा र स्वास्थ्यमा राज्यको भूमिका
सरकारी विद्यालयलाई डिजिटल सिकाइ केन्द्रको रूपमा विकास गरिने, शिक्षक तालिम, छात्रवृत्ति र प्रविधिमैत्री शिक्षा विस्तार गरिने घोषणापत्रमा उल्लेख छ। स्वास्थ्यतर्फ आधारभूत अस्पताल, स्वास्थ्य चौकी सुदृढीकरण गर्दै दुर्गम क्षेत्रमा नियमित स्वास्थ्य सेवा पु¥याइने प्रतिबद्धता गरिएको छ।
रोजगारी र युवा केन्द्रित कार्यक्रम
कृषि आधुनिकीकरण, जडीबुटी प्रशोधन, पशुपालन, पर्यटन र साना उद्योगमार्फत स्थानीय रोजगारी सिर्जना गर्ने योजना घोषणापत्रमा समावेश छ। युवालाई ऋण, सीप र बजारको पहुँच दिई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ।
सुशासन र सेवा प्रवाह
“नेता होइन, सेवा” भन्ने अवधारणासहित सांसद कार्यालयलाई सेवा केन्द्रको रूपमा विकास गरिने जनाइएको छ। योजनाको छिटो कार्यान्वयन, नागरिक सहभागिता, पारदर्शिता र सार्वजनिक लेखाजोखा सुनिश्चित गरिनेछ।
प्रविधि र डिजिटल सुर्खेत-२
डिजिटल सेवा, अनलाइन गुनासो प्रणाली, ई–शासन र प्रविधिमैत्री कृषि प्रणाली लागू गरिने घोषणापत्रमा उल्लेख छ। युवालाई आईटी, डिजिटल सीप र नवप्रवर्तनमा जोड दिइनेछ।
समावेशी विकासको प्रतिबद्धता
दलित, महिला, आदिवासी, थारू, मुस्लिम, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा विपन्न वर्गका लागि लक्षित कार्यक्रम सुनिश्चित गरिने बताइएको छ। विकास सबैका लागि समान हुने प्रतिबद्धता घोषणापत्रमा दोहोर्याइएको छ।
घोषणापत्रको अन्त्यमा उम्मेदवार भुलले “नारा होइन, नतिजा दिने राजनीति” गर्ने प्रतिबद्धता व्यक्त गर्दै सुर्खेत–२ लाई उदाहरणीय निर्वाचन क्षेत्र बनाउने अठोट व्यक्त गर्नुभएको छ।

खुलानजर । १८ माघ २०८२, शनिबार १२:४६