सुर्खेत : पञ्चपुरी नगरपालिका–६ की चन्द्रा विक आफ्नो बारीमा उत्पादन गरेको तरकारी हरेक शनिबार स्थानीय हाटबजारमा बिक्रि गर्छिन् । उनी यसरी हाटबजारमा बिक्रि गर्न थालेका १० वर्ष भयो । उनले आफ्नो करेसाबारीमा उत्पादन गरेको तरकारीबाट घर खर्च चलाइरहेकी छन् । पञ्चपुरी नगरपालिका–५ स्थित बाबियाचौर हाटबजारमा बाबियाचौरमा हरेक शनिबार बेच्न लिन्छिन् । त्यसबाट उनले एक शनिबार एक् हजार रुपैयाँसम्मको तरकारी बिक्रि गर्छिन् । त्यसले घर खर्च चलाउने गरेको उनले सुनाइन् । ‘बारीमा लगाएको तरकारी आफुलाई खान पनि भइहाल्छ । शनिबार हाटबजारमा लिएर बिक्रि गर्दा घर खर्च पनि चलिहाल्छ,’ उनले भनिन्, ‘हरेक शनिबार एक हजारको तरकारी बेच्छु । चार शनिबार चार हजार बनाउँछु । त्यसले घर खर्च चलेकै छ । केटाकेटीलाई कापी कलम किन्न पनि भएकै छ ।’ उनले साग, टमाटर, प्याज र लसुन जस्ता उत्पादनहरु हट बजारमा बेच्दै आएकी छन् । केही वर्षअघिसम्म घरमै तरकारी खपत हुने र बचेको छिमेकमा बाँडेर सकिने गरेको अर्की कृषक अम्बकला विक बताउँछिन् । ‘पहिला आफैले मात्रै खाइन्थ्यो । कोही छिमेकीलाई दिइन्थ्यो त कोही बारीमै कुहिन्थ्यो,’अम्बकलाले भनिन्, ‘आजभोली त जे उत्पादन गरे पनि हाट बजारमै पुर्याएर बेच्छु । नाफा धेरै नभए पनि नगद हातमा आउँछ, घरखर्च चल्छ ।’
चन्द्रा र अम्बकला मात्रै होइन, हरेक शनिबार पञ्चपुरी नगरपालिका–५ स्थित हाटबजार कृषकहरूका लागि सयौं कृषकलाई स्थानीय उत्पादन बेच्ने थलो बनेको छ । २० वर्षदेखि उक्त हाटबजार चलिरहेको छ । फलफुल, सागसब्जीदेखि बाख्रा, खसी बेच्ने कृषकहरु श्निबार बिहानैदेखि हाटबजारमा तैनाथ हुन्छन् । वीरेन्द्रनगर सुर्खेत, कैलाली र अछामसम्मका व्यापारीहरु खरिद बिक्रिका लागि बाबियाचौर हाटबजारमा आउँछन् । पञ्चपुरी नगरपालिका–४ का कृषक शेरबहादुर बुढाले हाटबजारका कारण आफूले उत्पादन बढाएको बताउँछन् । ‘पहिले बजारसम्म पुर्याउने टाढा यात्रा गर्नु पथ्र्यो, मूल्यपनि राम्रो पाइन्थेन । अहिले दुई रोपनीमा तरकारी लगाएको छु,’ उनले भने, ‘अहिले त हाम्रै छेउमा बजार लाग्छ । सिधै उपभोक्तालाई बेच्न सकिन्छ ।’
काँक्रो, गोलभेंडा, सागसब्जी सबै सजिलै बिक्री हुँदा वार्षिक आयआर्जनको स्रोत बनेको उनको भनाई छ । ‘बजारमा स्थानीय उत्पादनको राम्रो माग छ । उपभोक्ताहरू पनि ताजा र विषादीरहित तरकारी पाएपछि बाहिरको विषादी हालेको तरकारी लिँदैनन्,’ उनले भने, ‘त्यसैले अर्को पेसा गर्न परेको छैन । वार्षिक तीन लाखसम्म नाफा कमाएकै छु ।’
पञ्चपुरी नगरपालिकाले स्थानीय हाटबजार व्यवस्थापन तथा संचालन कार्यविधि २०७८ मार्फत हाट बजार चलाउँदै आएको छ । हाटबजारले कृषक र उपभोक्ताबीच पुलको काम गरेको पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालविर भण्डारीले बताए । ‘हाट बजारले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाइरहेको छ । हामीले स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति लिएका छौं,’ उनले भने, ‘हाट बजारले कृषकलाई उत्पादनको उचित मूल्य दिलाउने, स्थानीय व्यापारलाई प्रवद्र्धन गर्ने र उपभोक्तालाई ताजा उत्पादन उपलब्ध गराउने अवसर सिर्जना गरेको छ ।’ गाउँ–घरका किसानहरूलाई आफ्नो उत्पादन बजारमा लिएर सिधै बेच्ने माध्यम बनेको उनको भनाई छ । बजारमा व्यापारिक गतिविधिसँगै स्थानीय कला तथा संस्कृतिको जगेर्नाका लागि देउडा खेल, ठाडी भाका लगायतका सांस्कृतिक गतिविधि समेत गरिँदै आएको छ ।
जगतदल । २९ चैत्र २०८१, शनिबार १६:१३