
सुर्खेत: सरकारले धान उत्पादन बढाउन हाइब्रिड तथा उन्नत जातका धानलाई प्रोत्साहन गरिरहेको बेला जुम्लाका किसान भने रैथाने मार्सी जोगाउने अभियानमा लागेका छन् । उनीहरूको माग छ—‘मार्सीको विकल्प खोज्ने होइन, यसको उत्पादकत्व बढाउने नीति ल्याइयोस् ।’
चन्दननाथ–९ का किसान चन्द्रप्रसाद रेग्मीले करिब १५ वर्षसम्म उन्नत जातको धान लगाए। उत्पादन बढी भए पनि स्वाद फिका र माटोको उर्वराशक्ति कमजोर भएपछि उनले फेरि रैथाने मार्सी रोप्न थालेका छन् । रत्नप्रसाद चौलागाईं पनि उन्नत जात छोडेर ‘सक्कली’ मार्सीमा फर्किएका छन् । सरकारको सक्रियतामा २०६० को दशकदेखि जुम्लामा लेकाली धान–१, लेकाली धान–३ लगायतका जात लगाउन थालेको हो । पछिल्ला वर्षमा नार्कले रैथाने मार्सीको जीन ट्रान्सफर गरी जुम्ली मार्सी–१८, २० र २२ नामक नयाँ प्रजाति विकास गरेको छ । यी धान उत्पादनमा दोब्बर भए पनि स्वाद र पौष्टिकतामा फरक पर्छन् । त्यसैले किसानहरू ‘नक्कली मार्सी’ भन्दै असन्तुष्ट छन् । जुम्ली किसान अमृत सार्की भन्छन्, ‘बरु उत्पादन थोरै होस्, तर मार्सी नै लगाउने हो ।’ तातोपानीका होटल व्यवसायी तेजेन्द्रबहादुर रावलले पाहुनालाई रैथाने मार्सीको स्वाद चखाउँदै यसको संरक्षणमा योगदान दिइरहेका छन् । अहिले जिल्लामा कुल २ हजार ९५० हेक्टरमा धान खेती हुन्छ । पछिल्ला चार वर्षमा जुम्लामा धान उत्पादन करिब ६ हजार मेट्रिक टनको हाराहारीमा पुगेको छ भने परम्परागत मार्सी उत्पादन वार्षिक झन्डै २ हजार मेट्रिक टनमा स्थिर छ । मार्सीको बजार मूल्य पनि आकर्षक छ । स्थानीय बजारमा उन्नत धान प्रतिकेजी १५० रुपैयाँमा बिक्री भए पनि रैथाने मार्सी २०० रुपैयाँ पर्छ । कृषि शाखा प्रमुख दीपा पौडेलका अनुसार मार्सीमा प्रोटिन, फाइबर, पोलिफेनोल र फ्लाभोनाइड बढी हुने भएकाले स्वास्थ्यका लागि लाभदायक छ ।
जुम्ली मार्सी २ हजार ७९० मिटरभन्दा माथि मात्र फल्ने दुर्लभ र अग्र्यानिक अनाज हो। किसानहरूको भनाइमा, यसलाई ब्रान्डिङ गरी निर्यात गर्न सके जुम्ली कृषकलाई आर्थिक रूपमा ठूलो लाभ हुनेछ । रैथाने मार्सी धानको भविष्य भने किसानकै दृढता र सरकारी नीतिमा निर्भर छ। उत्पादन बढाउने नाममा मार्सी हराउने हो कि संरक्षणमार्फत विश्वबजारमा जुम्लाको चिनारी दिलाउने भन्ने बहस चर्किएको छ।
जुम्लाली किसानले ‘लाल धान’ भनेर चिनिने रैथाने मार्सी धान जोगाउन निरन्तर अभियान चलाईरहेका बेला स्थानीय तहदेखि प्रदेश सरकारले समेत ठोस नीति ल्याउनुपर्ने आवाज उठ्न थालेको छ। कृषि विज्ञका अनुसार मार्सी धान जुम्लाको पहिचान मात्र नभई पौष्टिकता र औषधीय गुणले समेत महत्वपूर्ण मानिन्छ। तर पछिल्ला वर्षहरूमा उत्पादन घट्दै जाँदा यसको अस्तित्व नै संकटमा पर्ने अवस्था आएको छ। यस अवस्थाले स्थानीय सरकारलाई उत्पादन वृद्धिका लागि प्राविधिक सहयोग र बीउ संरक्षण केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता देखिएको छ। किसानलाई सहुलियत ऋण, आधुनिक खेती प्रविधि र मल–विउको सहज पहुँच उपलब्ध गराइएमा मार्सी खेतीलाई सहज बनाउन सकिने कृषिविज्ञहरू बताउँछन्।
त्यस्तै, प्रदेश सरकारले बजेटमार्फत ‘मार्सी संरक्षण कार्यक्रम’ अघि सारेर अनुसन्धान, प्रवर्द्धन र बजार विस्तारमा जोड दिनुपर्ने स्थानीय सरोकारवालाको माग छ। प्रदेशस्तरमै विशेष प्रयोगशाला स्थापना गरी बीउ शुद्धीकरण तथा गुणस्तर परीक्षण गर्ने व्यवस्था भएमा उत्पादन र विश्वास दुवै बढ्ने अपेक्षा गरिएको छ। मार्सीलाई जोगाउन किसान मात्र होइन, सरकारको ठोस नीति अपरिहार्य रहेको भन्दै जुम्लाका कृषक सङ्घ–संस्थाहरूले एकमुख भएका छन्। रैथाने धानको पहिचान जोगाउन स्थानीय र प्रदेश सरकारबीच सहकार्य, अनुसन्धान, प्रविधि र बजार विस्तारको संयोजन नै दीगो समाधान मानिएको छ।

खुलानजर । २७ भाद्र २०८२, शुक्रबार १०:१४