आर्मीका पूर्व अमलदारले गरे श्रीमतीको विभत्सव हत्या, परिवारबाटै असुरक्षित महिलाहरु !

सुर्खेत: वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलाका ४२ वर्षीय दानसिंह ठाडाले शनिबार राति ४१ वर्षीया श्रीमती रविना थापाको चिर्पटले हानेर विभत्सव हत्या गरेका छन् । ठाडाले राति २ बजे सुतेको बेला चिर्पटले हानेर हत्या गरेपछि २ बजे उनलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए । आरोपित ठाडाविरुद्ध मृतकका दाइले आइतबार जिल्ला प्रहरी कार्यालयमा हत्याको जाहेरी दिएका छन् । शवको पोष्टमार्टम आइतबार प्रदेश अस्पताल सुर्खेतमा भयो । आरोपित ठाडा नेपाल आर्मीको अलमदारबाट अवकाश प्राप्त व्यक्ति हुन् । मृतकका एक छोरा तीन छोरी छन् । छोरा रोजगारीका लागि दुबई र जेठी छोरी जापानमा छन् । माइली छोरीको सुर्खेत र कान्छीको विवाह दैलेखमा भएको छ । ‘श्रीमतीको हत्या गरेपछि स्थानीयले प्रहरीलाई खबर गरे त्यसपछि अस्थायी प्रहरी पोष्ट करेखोलाको टोलीले पक्राउ गर्यो । अहिले घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको छ’, डिएसपी बुढथापाले भने । प्रहरी स्रोतका अनुसार आरोपित ठाडाले आफु मानसिक समस्यामा भएका कारण निन्द्रमा नै भुत पिसाचलाई हानेको सम्झेर श्रीमतीको हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् । परिवारका अनुसार आरोपित ठाडा मानसिक रोगी रहेको र उनले औषधी सेवन गरिरहेका थिए ।
आफन्तबाटै ४१ जनाको हत्या
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार प्रदेशका १० जिल्लामा पछिल्ला तीन आर्थिक वर्षमा आफन्त वा परिवारका सदस्यबाट ४१ जनाको हत्या भएको छ । आर्थिक वर्ष २०७९-०८० मा १०, २०८०-०८१ मा २२ र २०८१-०८२ को असारसम्म नौ हत्या परिवार र आफन्तबाटै भएका छन् । आ.व. २०७९-०८० मा श्रीमानद्वारा श्रीमतीको हत्याका नौ, आ.व. २०८०-०८१ मा नौ र आ.व. २०८१-०८२ मा चार घटना छन् । श्रीमतीद्वारा श्रीमानको हत्या आ.व. २०८०-०८१ मा दुई र आ.व. २०८१-०८२ मा एक घटना छन् । यी तीन वर्षमा भाइद्वारा दाजुको हत्या दुई, बुवाद्वारा छोराको हत्या तीन, छोराद्वारा बुवाको हत्या दुई घटना रहेका छन् । यसबाहेक सौतेनी आमाद्वारा छोरीको हत्या, भाउजुद्वारा देवरको हत्या, देउरानीद्वारा जेठानीको हत्या, भेनाजुद्वारा सालाको हत्या, मामाद्वारा भान्जाको हत्या, जेठाजुद्वारा बुहारीको हत्या, छोराद्वारा आमाको हत्या, बुहारीद्वारा सासुको हत्या र आमाद्वारा छोरीको हत्याका घटना रहेका छन् । तथ्याङ्क हेर्दा श्रीमानद्वारा श्रीमतीको हत्याको संख्या बढी देखिन्छ । आमाबाट छोरीको हत्या, छोराबाट आमाको हत्याजस्ता हृदयविदारक घटनाहरू पनि तथ्याङ्कमा देखिन्छ ।
मानव अधिकारकर्मीहरुको अनुगमन
शनिबार राति वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलामा श्रीमतीको चिर्पट प्रहार गरी हत्या गरिएको घटनापछि सुर्खेतका मानव अधिकारकर्मीहरूले घटनास्थलको संयुक्त अनुगमन गरेका छन् । आवाज संस्थाकी निर्देशक पवित्रा शाहीले महिला माथि हुने घरेलु हिंसा र हत्या जस्ता जघन्य अपराधहरू राज्यको बेवास्ता र कमजोर कानुनी कार्यान्वयनका कारण बढ्दो रहेको बताइन् । ‘वर्षेनी महिलाहरुले श्रीमान र आफन्तबाटै ज्यान फाल्नुपरेको छ । तर राज्य गम्भीर देखिँदैन,’ उनले भनिन्, ‘हामी घटनाको निष्पक्ष अनुसन्धान र पीडित पक्षलाई न्याय सुनिश्चित गर्न माग गर्छौं ।’
गैरसरकारी संस्था महासंघका सुर्खेत अध्यक्ष प्रकाश सारुले समाजमा महिला र बालबालिका माथि हुने घटनाको विषयमा पहिला नै सुचना लिई आवश्यक परामर्श लिनुपर्ने बताए । ‘हामी सबै संस्था र तीनै तहका सरकार मिलेर यस्ता घटनाहरु न्यनिकरण गर्नपर्छ,’ उनले भने, ‘जोखिममा रहेका महिला र बालबालिकाको तथ्याङ्क संकलन गर्नुपर्छ । सोही अनुसार सचेतना, सुरक्षा र प्रशिक्षण गर्नु आवश्यक छ ।’ नवज्योती केन्द्रकी सिस्टर रोसिटाले राज्यले कडा कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने बताइन् । नवज्योति केन्द्रकी जरमाया बाठाले राज्यले स्थानीय स्तरमा सचेतनाका कार्यक्रमहरु गरी प्रभावकारी कदम चाल्नुपर्ने बताइन् । दलित महिला संघ (फेडो) की सचिव खगीसरा वलीले यस्ता घटनाले समाजमा महिला र कमजोर वर्गको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको बताइन् । ‘यस्ता घटनालाई हल्का रूपमा लिन मिल्दैन,’ उनले भनिन्, ‘राज्यको भूमिका कमजोर भयो भने हिंसाका घटना झनै बढ्छन् ।’ अनुगमन टोलीमा इन्सेक, महिला मानव अधिकार रक्षक सञ्जाल लगायतका संस्थाहरुका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । मानव अधिकारकर्मीहरूले यस्ता घटनालाई सामाजिक न्याय, महिला अधिकार र मानव अधिकारको गम्भीर उल्लङ्नका रूपमा लिएका छन् । उनीहरूले यस्ता घटनाको पारदर्शी छानबिन, पीडित पक्षको संरक्षण, र दीर्घकालीन रूपमा घरेलु हिंसा न्यूनीकरण गर्न प्रभावकारी रणनीति आवश्यक रहेको निष्कर्ष निकालेका छन् । त्यस्तै मंगलबार मानव अधिकारकर्मीहरुले महिलामाथि हुने हिंसा र हत्याको विरोधमा र्यालीसहितको ध्यानाकर्षण पत्र बुझाउने भएका छन् ।