सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पर्यटनको क्षेत्रमा अन्तर प्रदेशकासँग संस्थागत सम्बन्ध स्थापित गर्न अनुरोध गरेका छन् । आइतबार सौराहा घुम्नका लागि निम्तो दिन ‘घुमौं सौराहा, चितवन’ अभियानको टोली कर्णाली आएको अवसरका उनले यस्तो बताएका हुन् । ‘कर्णाली पर्यटन र प्राकृतिक स्रनेतको खानी हो । यहाँका पर्यटकीय स्थल पर्यटकको पर्खाइमा छन्,’ मुख्यमन्त्री कँडेलले भने, ‘सौराहासम्म आउने पर्यटकलाई कर्णाली पुर्याउनेगरी संस्थागत सम्बन्ध स्थापित गर्न पनि अनुरोध गर्दछु । यसले अन्तर प्रदेशको सम्बन्ध संस्थागत हुन्छ ।’ उनले पर्यटन व्यवसायीहरुलाई समेत कर्णालीमा व्यवसाय विस्तारका लागि आफु स्वागत गर्न तयार रहेको बताए । कर्णालीमा आउने लगानीकर्तालाई प्रदेश सरकारले आवश्यक सहयोग र समन्वय गर्ने मुख्य मन्त्री कँडेलले प्रतिवद्धता व्यक्त गरे ।
घुमौँ सौराहा चितवन अभियान २०२५ सञ्चालन गरेको क्षेत्रीय होटल संघ नेपाल चितवनको टोलीले आइतबार वीरेन्द्रनगर पुगेर सौराह घुम्नका लागि निम्तो दिएको छ । क्षेत्रीय होटल व्यवसायी संघ चितवन–सौराहाका अध्यक्ष ओमप्रकाश पाण्डेले कोरोनापछिको समयमा स्वदेशी तथा विदेशी पर्यटकको संख्यामा आएको गिरावटले उद्योग प्रभावित भएको भन्दै सौराहाको प्रवद्र्धन गर्न यो अभियान सञ्चालन गरिएको बताए । उनका अनुसार नेपालकै तेस्रो पर्यटकीय गन्तव्यका रुपमा चितवनको सौराहालाई मानिन्छ । अध्यक्ष पाण्डेले सौराहा पर्यापर्यटन र साँस्कृतिक हिसाबले आकर्षक गन्तव्य रहेको भन्दै सौराहा घुम्नका लागि कर्णालीवासीलाई आफुहरु स्वागत गर्न तयार रहेको बताए ।
अध्यक्ष पाण्डेले नेपाल आउने कुल पर्यटकमध्ये १० प्रतिशत मात्रै कर्णाली ल्याउन सके पनि कर्णालीको पर्यटन क्षेत्रमा उल्लेखनीय परिवर्तन आउने बताए । त्यसका लागि कर्णालीका पर्यटन व्यवसायीहरूसँग सहकार्य गर्दै काम गर्न आफूहरु तयार रहेको बताए । उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले कर्णालीका पर्यटन व्यावसायीहरु अभियानको साथमा रहेको प्रतिबद्धता जनाए । उनले कर्णालीको प्रर्यटन प्रवद्र्धनका क्षेत्रमा सहकार्य गर्न आतुर रहेको भन्दै त्यसका लागि आवश्यक सहयोग गर्न अनुरोध गरे । सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले देशको कुल गार्हस्थ उत्पादनमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेकोले सरकार र निजी क्षेत्रको सहभागिताबाट मात्रै पर्यटन क्षेत्र अगाडी बढ्ने बताए ।
खुलानजर । २८ बैशाख २०८२, आईतवार १३:२५