सुर्खेत: कर्णाली प्रदेश सभा अन्तर्गत सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले बाल अधिकार संरक्षणमा तीनै तहका सरकारको भूमिका महत्वपुर्ण रहने बताएक छन् । मंगलबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा भएको बाल अधिकार समूहका सदस्यहरूका लागि दुई दिने क्षमता अभिवृद्धि तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका ह्न् । ‘बाल अधिकार संरक्षणमा नीति तथा कार्यक्रम र योजना ल्याउन तीनै तहका सरकारको भूमिका महत्वपुर्ण छ,’ उनले भने, ‘बालबालिकाका हकहितका सवालमा समाज, अभिभावक र नागरिक समाज संस्थाहरूबीच समन्वय हुनु अत्यावश्यक छ ।’
राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेशकुमार थापाले बालबालिकालाई सुरक्षित वातावरण दिन समाजको भूमिका निर्णायक रहेको बताए । ‘समाजमै बाल अधिकार उल्लंघनका घटना भइरहेका छन् । बालश्रम लगायतका समस्या अझै बढिरहेका छन्,’ उनले भने, ‘त्यसलाई न्यूनीकरण गर्न यस्तो खालका तालिम उपयोगी हुन्छन् ।’
जिल्ला बार एशोसियसन सुर्खेतकी सदस्य अधिवक्ता गीता कोइरालाले बाल अधिकार र नेतृत्व विकासका सवालमा यस्ता तालिमले सहयोग पुर्याउने बताइन् । ‘तालिम मार्फत बालबालिकासम्बन्धी कानुनी ज्ञान प्रदान गरिनु आवश्यक छ,’ उनले भनिन्, ‘कानुनको जानकारी नै अधिकार सुनिश्चित गर्ने मूल आधार हो ।’
इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले तालिमको उद्देश्यमाथि प्रकाश पार्दै बाल अधिकार समूहका सदस्यहरूलाई सशक्त बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताए । ‘हामीले स्थानीय तहमा बाल अधिकार समुह गठन गरेका छौं । समूहका सदस्यहरू आफू बसेको स्थानमा बालबालिकाको समस्या पहिचान र समाधानमा सक्रिय होउन् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘यो तालिमले कोसे ढंगा साबित गर्ने अपेक्षा छ ।’
बुधबारसम्म सञ्चालन हुने तालिममा सुर्खेत र दैलेखका आठ विद्यालयबाट ३२ जना बाल अधिकार समूहका सदस्यहरूको सहभागीता रहेको छ ।
सहभागीलाई बाल अधिकार, बालश्रम, मानव अधिकार, कानुनी प्रक्रिया र प्रभावकारी समुह सञ्चालन, नेतृत्व विकास, भित्ते पत्रिका प्रकाशन, वातावरण संरक्षण बालमैत्री विद्यालय, लैङ्गिक हिंसा, महिला तथा विभेद विरुद्धको अधिकारका बारेमा विभिन्न क्षेत्रका विज्ञहरुले प्रशिक्षण दिइने इन्सेक कर्णाली प्रदेश कार्यालयकी फोकल प्रर्सन ललिता विकले जानकारी दिइन् ।
खुलानजर । १४ जेष्ठ २०८२, मंगलवार १९:१२