सुर्खेत: हातमा बाल्टी र लठ्ठी । जताततै आगोले जलिरहेको फोहोरको डङ्गुर । न ओत लाग्ने ठाउँ छ, नत खाने कुरा । वैशाखको खलखली पसिना चुहिने गर्मीमा वीरेन्द्रनगर नगरपालिका–२ का रमेश खत्री र र उनकी श्रीमती टिका बुढा फोहोरभित्रको ‘कवाड’ उठाउँछन् । त्यहिबाटै आएको रकमले साँझ बिहानको छाक टार्छन् । वीरेन्द्रनगर नगरपालिका–१ बतासे डाँडामा डम्पिङ साइड छ । जहाँ १२ वटा वडाको फोहोर लगेर थुपारिन्छ । त्यहाँको फोहोरमा कवाड संकलन गरेर उनीहरुले दैनिक तीनदेखि पाँच सय रुपैयाँसम्म कमाउँछन् । हरेक दिन बिहानै रमेश घरबाट फोहोर संकलन गर्न बतासे डाँडामा आइपुग्छन् । पाँच वर्षीय छोरालाई स्कुल पठाएर टिका पनि कवाड संकलन गर्न पुग्छिन् । दुई वर्षदेखि यी जोडीको दैनिकी यसरी चलिरहेको छ । रोजगारीका लागि रमेश भारतसम्म पुगे । त्यहाँ पनि कमाई नभएपछि जोखिम मोलेरै भएपनि कवाड उठाउन बाध्य भएको रमेश बताउँछन् । ‘यहाँ अरु रोजगारी छैन । भारतमा गएर पनि कमाई भएन । घरमा ६ जनाको परिवार छ । हामीले काम नगरेपछि साँझ बिहानको छाक पनि टर्दैन । अरु केही उपाय भएन । दुई जनाले चार पाँच सय बनाएपछि बल्ल चुलो बल्छ,’ उनले भने, ‘जलिरहेको फोहोर भित्रबाट कवाड उठाउनुपर्छ । स्वास्थ्यलाई त्यतिकै हानी छ । आगोले जलिने होकी भन्ने पनि डर हुन्छ ।’ दिनभरको धुवाँले साँझ औषधी नखाई सुत्न नसकिने रमेशकी श्रीमती टिका बुढा बताउँछिन् । ‘दिनभर धुवाभित्र काम गर्नपर्छ । कहिल्यै कवाड भेटिन्छ । कहिल्यै भेटिदैन, फोहरभित्रको पनि बहुमूल्य फोहोर देख्नुपर्छ,’ टिकाले भनिन्, ‘साँझ टाउको दुख्छ । घाँटी थनिएको जस्तो हुन्छ । अनि दबाई नखाई सुत्न सकिदैन ।’ फोहोरभित्र काम गर्दा झाडा पखाला, डेङ्गी लाग्ने र काँच, सिरीन्जहरु हात खुटमा बिज्ने गरेको उनको भनाई छ । जोखिम मोलेरै भएपनि काम गर्दा मेहनत अनुसारको कमाई नभएको वीरेन्द्रनगर–२ कै अर्का स्थानीय दिपक न्यौपाने बताउँछन् । ‘मेहनत धेरै छ । जोखिम पनि उस्तै छ । तर कमाई दुई चार सय रुपैयाँ मात्रै हुन्छ,’ उनले भने, ‘यो डाँडामा त केही घटना भएपनि खबर पुर्याउने मान्छे हुँदैनन् । खानापानी त परको कुरा भयो ।’
उनीहरु तीन जना मात्रै होइन, यहाँको डम्पिङ साइडबाट कवाड उठाएर १५ जना बढी मजदुरले जिविका चलाउने गरेका छन् । उनीहरुले डम्पिङ साइटमा जलिरहेको फोहोर उधिनेर प्लास्टिक, फलाम र सिसाका टुक्राहरु बटुलेर कवाड संकलन केन्द्रमा बेच्ने गरेका छन् । उनीहरुलाई न स्वास्थ्य सुरक्षाको कुनै प्रबन्ध छ, नत खानेपानीको व्यवस्थापन ।
समुदायमा असर
वीरेन्द्रनग नगरपालिका–१ स्थित बतासे डाँडा श्रीकृष्ण सामुदायिक वनभित्र पर्दछ् । त्यस नजिक बराहताल गाउँपालिकाको वडा नम्बर १० पर्छ । नगरपालिका क्षेत्रभित्र उत्पादन हुने फोहोर बिसर्जन गर्न बनाइएको अव्यवस्थित डम्पिङ साइडले वीरेन्दनगरका १ र २, बराहतालको १० नम्बर वडालाई प्रत्यक्ष प्रभाव पारेको छ । फोहोर व्यवस्थापनका लागि नगरपालिकाले दुई जना कर्मचारी राखेको छ । ती फोहोरहरु असुरक्षित रुपमा जलाउने गरिएको छ । जसका कारण नजिकैको समुदायमा प्रदुषण हुने गरेको वीरेन्द्रनगर–१ बाङ्गेसिमलका टेकबहादुर विकले बताए । ‘सबै फोहोर एकै ठाँउमा फाल्छन्, त्यसैमा आगो लगाइदिन्छन् । त्यो धुवाँले बस्तीसम्म पुग्छ,’ उनले भने, ‘धुवाँको उकुसमुकुसले स्वास फेर्नै सकिदैन । हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर पारेको छ ।’ वीरेन्द्रनगरमा दैनिक १२ टनसम्म फोहोर उत्पादन हुने गरेको एक अध्ययनले देखाएको थियो । २०७३ सालदेखि नगरपालिकाले फोहोरलाई बतासे डाँडामा बिसर्जन गर्दै आएको छ । बस्ती र सडकमै फोहोरको डंगुर थुप्रिँदा वडा नम्बर १ धारापानी, बाङ्गेसिमल र बराहताल गाउँपालिकाको वडा नम्बर १० को सिमलचौरका स्थानीय अव्यवस्थित डम्पिङ साइडका कारण प्रभावित भएका छन् ।
जगतदल जनाला विक । २८ बैशाख २०८२, आईतवार १६:१२