प्रादेशिक पुर्नस्थापना केन्द्र सञ्चालन गरिनेछ : मन्त्री भण्डारी

सुर्खेत: कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णालीमा लागूपदार्थ दुव्र्यसनी न्यूनीकरणका लागि पुर्नस्थापना केन्द्र सञ्चालन गरिने बताइएका छन् । आइतबार एइआइएनको आर्थिक सहयोगमा  सोसेक नेपालद्वारा संचालित बिहानी परियोजना अन्तर्गत लागूपदार्थ दुव्र्यसनी, बालविवाह, बालश्रम, मानव बेचविखन तथा ओसारपसार एवं लैङ्गिक हिंसाका घटना सम्बन्धी सामाजिक सवाल र सरोकारवालाहरूको आगामी कार्यदिशा सम्बन्धी प्रदेश स्तरीय कार्यशालामा बोल्दै मन्त्री भण्डारीले कर्णालीमा बढ्दो लागूपदार्थ सेवनकर्ताका लागि पुर्नस्थापना केन्द्र सञ्चालन गर्ने प्रतिवद्धता जनाएका हुन् । नेपाल प्रहरीद्वारा संचालित पुर्नस्थापना केन्द्रलाई समन्वय गरी त्यसको शाखा सुर्खेतमा सञ्चालन गरिने जानकारी दिए । त्यसका लागि सम्भब भएसम्म चालू आर्थिक वर्षमा सञ्चालन गर्न सकिने बताए ।
समाजमा हुने हिंसाजन्य घटनाहरू कम गर्न मानवियताको आधारमा व्यवहार गर्नुपर्ने सुझाव दिए । जनावरलाई माया गर्ने र मानिसबीच विभेद गर्ने व्यवहारका कारण हिंसा बढिरहेको टिप्पणी गरे । कार्यक्रममा जुम्लाको चन्दननाथ नगरपालिका, सुर्खेतको भेरिगंगा नगरपालिका र वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख, महिला शाखाका प्रमुख, एकद्वार संकट ब्यवस्थापन केन्द्र जुम्ला, सुर्खेत, प्रदेश प्रहरी, जिल्ला प्रहरी, महिला बालबालिका तथा जेष्ठनागरिक सेवा केन्द्रका प्रमुख, नगर बाल सञ्जाल लगायतका व्यक्तिहरुको सहभागीतामा सामाजिक सवालमा तथ्याङ्कसहित प्रस्तुतीकरण थियो । सहभागीहरुले कर्णालीमा भएका सामाजिक समस्या र त्यसमा आफुहरुले निभाउन सक्ने भूमिकाका विषयमा समेत प्रतिवद्धता जनाएका थिए ।