विलासिता कर र भ्याटको विरोधमा सुर्खेतका व्यवसायी


सुर्खेत: नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि प्रस्तुत गरेको बजेटमा सुनचाँदीमा २ प्रतिशत विलासिता कर र हिरा–पत्थरमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति सुर्खेतका सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन् ।  उनीहरुले सरकारले नागरिक र व्यवसायीको चासोलाई बेवास्ता गरेको भन्दै शनिबार देखि चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका छन् । कर्णाली सुनचाँदी रत्न तथा आभूषण संघ र सुनचाँदी व्यवसायी संघ, सुर्खेतले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम शनिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन् । कोरोना महामारीपछि हाल सम्मपनि कारोबारको गति सहज हुन नसकेको भन्दै त्यसमाथि सरकारको कर नीतिले व्यवसायी मात्र हैन, आम उपभोक्तामा समेत प्रतिकूल असर परेको सुनचाँदी व्यवसायी संघ सुर्खेतका अध्यक्ष ओम बहादुर विश्वकर्माले बताए । अध्यक्ष विश्वकर्माका अनुसार केही सातादेखि नै देशभरका सुनचाँदी व्यवसायीहरु नेपाल सुनचाँदी व्यवसायी महासंघ तथा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त नेतृत्वमा विरोध कार्यक्रम गरिरहेका छन्। तर, सरकार गम्भीर नभएको भन्दै अब सुर्खेतमा सशक्त आन्दोलनको तयारी गरिएको हो । संघले सार्वजनिक गरेको आन्दोलनको तालिका अनुसार शनिबार मंगलगढीचोक देखि वीरेन्द्रचोक सम्म ¥याली र कोणसभा गरिनेछ । त्यसपछि लगातार १६ गते सिटी जुलुस, १७ गते खालि खुट्टाको यात्रा, १८ गते मोटरसाइकल ¥याली, १९ गते मौन ¥याली र २० गते पुनः ठूलो र्यालीसहित कोणसभा गरिने कार्यक्रम तय गरिएको छ । यसबाहेक आन्दोलनको क्रममा प्रमुख तीन राजनीतिक दलका जिल्ला तथा प्रदेश अध्यक्ष, सचेतक, सांसद, मुख्यमन्त्री र प्रदेश प्रमुखसँग शिष्टाचार भेट र ज्ञापन पत्र बुझाउने कार्यक्रम पनि तय गरिएको छ । कर्णाली सुनचाँदी रत्न तथा आभूषण संघका महासचिव मदन कुमार सिंह र सुनचाँदी व्यवसायी संघ, सुर्खेतका महासचिव मोहन सुनारले संयुक्त वक्तव्य जारी गर्दै माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनी समेत दिएका छन् ।