राष्ट्रिय सभाबाट अध्यादेश पारित गराइन्छ : सचिव भट्टराई


सुर्खेत : नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले ल्याएका अध्यादेश राष्ट्रिय सभाबाट पारित गराई छाड्ने बताएका छन् । नेकपा एस वा जसपाबाट सहयोग लिएर अध्यादेश पारित गर्ने उनले संकेत गरे ।
बिहीबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उनले देशको पक्षमा आएको अध्यादेश पारित गर्न राष्ट्रिय सभा सदस्यले साथ दिने विश्वास व्यक्त गरे । नेकपा एस र जसपाले अध्यादेशका पक्षमा नलाग्ने निर्णय गरिसकेको अवस्थामा अध्यादेश कसरी पास हुन्छभन्ने प्रश्नमा उनले भने, ‘त्यो उपाय अहिले खुलाउन मिल्दैन । राष्ट्रिय सभाका माननीयज्यूहरू परिपक्व हुनुहुन्छ । उहाँहरू देशका पक्षमा आएको अध्यादेशलाई पारित गराउन सहयोग गर्नुहुन्छ ।’
उनले सामाजिक सञ्जालसम्बन्धी विधेयक पनि पारित हुने बताए । ‘हामीले सामाजिक सञ्जाललाई नियन्त्रण र निषेध गर्न यो विधेयक ल्याएका होइनौं । नियमन गर्न ल्याएका हौं ,’ उनले भने, ‘यी सञ्जालहरू भारत, चीन, अमेरिका आदि देशमा दर्ता हुने तर, नेपालमा दर्ता नहुने भन्ने हुन्छ र ? देश सानो छ भन्दैमा हेप्न मिल्छ र ? यदि फेसबुकबाट कसैले केही घटना घटाइहाल्यो भने हामीले कसलाई समात्ने ? उहाँहरू नेपालको प्रचलित कानून मान्न तयार हुनुपर्छ भन्ने नै हाम्रो धारणा हो ।’