बुवा मान बहादुर विक र आमा लक्ष्मी विकको कोखबाट २०५२ साल साउन ७ गते वीरेन्द्रनगर –११ सिमलकुना सुर्खेतमा जन्मिएकी शर्मिला विक सानै उमेरमै कानून अधिकृत बन्न सफल भएकी छिन् । सानैदेखि पढाइमा जेहन्दार शर्मिला मेडिकल लाइन पढ्ने सोचमा थिइन् । तर जातीय विभेद सहनु हुँदैन भन्ने अठोटका साथ उनका बुवाले वकालत गर्ने सपना देखेपछि उनी कानुनतर्फ मोडिइन् । दिदीको सफलताबाट पाएको प्रेरणाले पनि उनले कानुनी अध्ययनलाई नै जीवनको लक्ष्य बनाइन् । काठमाडौँको नेपाल ल क्याम्पसबाट बीएएलएलबी अध्ययन पूरा गरेपछि उनले लोकसेवामा पहिलो प्रयासमा नै सफलता हाँसिल गरिन् । हाल उनी सामाजिक विकास मन्त्रालयमा कानून अधिकृतका रूपमा कार्यरत छिन् । उनै कानुन अधिकृत विकसँग अंगराज परियारले गरेको सफलता र संघर्षको कुराकानी :
बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झनुहुन्छ ?
मेरो बाल्यकाल त संघर्षमै बित्यो । मेरो परिवारमा अहिले चार भाईबहिनीमध्ये म सबैभन्दा कान्छी छोरी हो । हामी मध्यम परिवारमा हुर्केका हौँ । मेरो जीवनमा सबैभन्दा ठूलो प्रेरणा र पीडादायी सम्झना भनेको बुबाको दुःख हो । बुबासँग कुनै विशेष रोजगारी थिएन । परिवार पाल्न उहाँले आफ्नो घर–परिवार छोडेर भारतमा गएर ज्याला–मजदुरी गर्नुहुन्थ्यो । त्यही पैंसाले हाम्रो परिवारको खर्च धानिन्थ्यो । बुबाले हाम्रो लागि गरेको संघर्ष र त्यागका कारण हामीले पढ्ने अवसर पायौँ । बुवाले छोरीलाई पढाउनुपर्छ भनेर सक्रिय हुनुहुन्थ्यो । कक्षा १ देखि ८ सम्म गंगामाला विद्यालय पिपिरामा पढेँ । त्यही विद्यालयमा पढ्दा कक्षा ८ मा जिल्ला स्तरीय परिक्षामा प्रथम भएपछि कक्षा ९ देखि १२ सम्म इगरब्रिज विद्यालयमा छात्रवृत्तिमा पढने अवसर प्राप्त गरे । एसएलसी परीक्षामा सुर्खेत जिल्लाभरी दलित समुदायको महिलाा प्रथम भएँ । त्यो बेला मलाई तीन हजारको पुरस्कार दिनुभएको थियोे । त्यो कुरा मैंले अहिले सम्म बिर्सेकी छैन । २०६८ मा दुर्भाग्यवश बुबाको निधन भयो । म त्यो बेला म १६ वर्षकी १२ पढदै थिएँ । पढ्दा उच्च माध्यमिक शिक्षा सकिएपछि काठमाडौँमा दिदिसँगै गएर पढे र बिएललबी पास गरें ।
विद्यार्थी जीवनमा के बन्ने लक्ष्य थियो ?
त्यो बेला जे देख्यो त्यही बन्न मन लाग्थ्यो । तर सानैदेखि मलाई मेडिकल क्षेत्रमा जाने ठूलो रहर थियो । प्लसटुमा विज्ञान लिएर पढें । तर मेरो जीवनमा बुबाको सोच र उहाँको संघर्षले विशेष प्रभाव पारेको छ । बुबाले सधैं भन्नुहुन्थ्यो जातीय विभेद सहनुहुँदैन, अन्याय किन सहने ? उहाँ अन्यायविरुद्ध हरेक पटक आवाज उठाउनुहुन्थ्यो । म पनि सानैदेखि बोल्ने स्वभावकी भएकीले बुबाले प्राय भन्नुहुन्थ्यो मेरो छोरी वकिल बन्नुपर्छ । उहाँको त्यो भनाइ मेरो मनमा गहिरो भएर बस्यो । अरू तिर मैले सानैदेखि नै दलित समुदायले भोग्दै आएको विभेद प्रत्यक्ष देखेँ । इनारमा पानी हाल्दा, धारा प्रयोग गर्दा वा दैनिक जीवनका सामान्य व्यवहारमै समेत हुने विभेदले मलाई पीडा हुन्थ्यो । त्यसैले बुबाको प्रेरणाले उहाँको दुःख र मेरो संघर्षले गर्दा आज यो ठाउँमा छु । बुवाकै प्रेणाले कानुन र न्याय सेवातर्फ आकर्षित गर्यो । हाल म सामाजिक विकास मन्त्रालयमा कानून अधिकृत छु ।
बुवापछि परिवारको साथ कत्तिको मिल्यो ?
बुबा अभावमा गाह्रो त कोलाई हुन्न र ? सानै उमेरमा त्यस्तो अवस्था भोग्दा भविष्य कस्तो होला भन्ने ठूलो प्रश्न मेरो मनमा उब्जिन्थ्यो । परिवारको खर्च धान्नलाई दाईले पढाईलाई निरन्तरता समेत दिन सक्नुभएन। तर मेरो परिवारमा छोरा भन्दा छोरीलाई नै बढी सक्षम बनाउनु पर्छ भन्ने सोचले नै हामी तीन बहिनी आफ्नो खट्टामा उभिनुपर्छ भन्ने परिवारको सोच थियो। मेरो लागि मेरो परिवारको साथ नै सबैथोक बन्नपुग्यो । मेरो दिदिले देखाएको बाटो नै प्रेरणाको स्रोत बन्नुभयो मेरो दिदि नेपाली सेनामा प्रथम दलित महिला अधिकृत बनेपछि म नि दिदिकै बाटोमा हिड्न पर्छ भन्ने भयो । बुबा नभएको खालि ठाउँमा दिदीले परिवारको लागि आमा–बुवाको जिम्मेवारी समेत लिनुभयो । म उहाँसँगै बसेर पढ्ने अवसर पाएँ । आमाले हाम्रो लागि धेरै संघर्ष गर्नुभयो। म काठमाडौँ बसेर पढ्दा मेरो लागि भनेर बाख्रा पाल्नु हुन्थ्यो मैले केही नभनेपनि पैसा चाहिएको होला भनेर पैसा पठाइदिनुहुन्थ्यो। आज म जुन स्थानमा छु, जहाँसम्म आइपुगेकी छु, त्यसको सबैभन्दा ठूलो श्रेय आमा र दिदीलाई नै जान्छ । उहाँको प्रेरणा र समर्थन नभएको भए सायद म आज यहाँ हुन्थिन होला । बुबापछि मेरो जीवनको वास्तविक अभिभावक दिदी नै हुनुहुन्छ । उहाँले दिनुभएको सहयोग, स्नेह र मार्गदर्शनप्रति जतिसुकै कृतज्ञता प्रकट गरे पनि त्यो कम नै हुन्छ ।
निजामती सेवामा कहिले प्रवेश गर्नुभयो ?
निजामती सेवामा पहिलो प्रयासमा नै २०७६ सालमा अधिकृत तहमा नाम निकाल्न सफल भएँ । त्यतिबेला मेरो नाम खुला प्रतिस्पर्धाबाट निस्किएको हो । विशेष कुरा के भने, म स्वयं दलित समुदायकी भएपनि दलित कोटा प्रयोग गर्नुपरेन । जागिरको पहिलो अनुभव कर्णाली प्रदेशबाट बटुल्ने भनेर आफ्नो प्रदेश रोजेर आए, करिब २७ महिनाको बसाई पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तीन वर्ष बसे त्यही समय अपराधशास्त्रमा स्नातकोत्तर सम्पन्न गरी हाल सामाजिक विकास मन्त्रालयमा विगत २०८१ असोज देखि कार्यरत छु ।
निजामती कर्मचारी बन्न गाह्रो कि सजिलो ?
बजारमा जती गाह्रो भनेर भन्ने कुरा छनी त्यती भित्र गाह्रो छैन । फेरी भन्न खोजेको कुरा त्यती सजिलो भने पक्कै छैन । निरन्तर मेहनेत र प्रयास अनुशासन र लगन भए असम्भव भन्ने केहि छैन । पढ्नाले मात्र हुँदैन, बुझ्न पनि सक्नुपर्छ । पुराना प्रश्नपत्रलाई पनि नोट गनुृपर्छ । समाचारमा आएका नयाँ कुराले पनि राम्रो ज्ञान दिने रहेछ । आफूलाई कमजोर ठान्यो भने त सफल हुन पनि सकिन्न । कसैले पनि जन्मजातै जानेको हुन्न । सिकाई र अभ्यास र अनुुभवले जान्ने कुरा हो । त्यसकारण निजामती बन्ने कुरा पनि गाह्रो बिषय होइन ।
सेवाग्राहीका लागि कत्तिको सफल भएजस्तो लाग्छ ?
मैले निर्वाह गरिरहेको भूमिकामा सफल भएको ठान्छु । अझै जागिरे जिवन त धेरै नै बाकीँ छ। त्यो समयले नै निर्धारण गर्नेछ। किनभने आफ्नो अधिकार र क्षेत्रबाट माथिल्लो तहमा नीति निमार्ण बनाउने ठाउँमा सल्लाह दिन र लिने ठाउँमा सहकर्मी हुँदा पूर्णरुपमा सफल भएजस्तो लाग्छ ।
चाँडो सरुवाले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
छिटोछिटो सरुवाले गर्दा सबैभन्दा कार्यसम्पादनमा नराम्रो असर पार्छ । राजनीतिक पहुँच र पावरको भरमा सरुवा हुँदा कर्मचारीका मनोबल घट्न जान्छ । यसले गर्दा सेवा प्रवाह र व्यवस्थापनमा अन्यौलता सिर्जना गराउँछ । कुनै एउटा कार्यालयको काम राम्रोसंग काम नभएर नतिजा आउन नपाउँदै अर्को कार्यालयमा सरुवा हुँदा कार्यदक्षतामा ह्रास आउँछ । यसले गर्दा कर्मचारीको उत्प्रेरणा र मनोबलमा समेत नकारात्मक असर पर्छ ।
निजामती जनअपेक्षामुखि के विकल्प रहन्छ ?
इमान्दारिता र निष्ठाको प्रवर्धन मार्फत निजामती सेवालाई जनमुखी बनाउन जरुरी छ । कर्मचारीतन्त्रको विकल्प सुधारिएको कर्मचारीतन्त्र नै हो । राजनितिक नेतृत्व, कर्मचारी, गैरसरकारी क्षेत्र, निजी क्षेत्र, नागरिक समाज, मिडिया र सेवाग्राहीको संयुक्त प्रयासबाट कर्मचारीतन्त्रलाई सुदृढ र सबल बनाउन सकिन्छ ।
सरकारसंगको केहि अपेक्षा छ ?
जसलाई पनि आफु र आफ्नो पेशाप्रति सम्मान र सन्तुष्टि मिल्छ । म पनि अहिले सम्म आफ्नो पेशाप्रति सन्तुष्ट नै छु । मैंले सरकारसंग त्यस्तो ठुलो अपेक्षा राखेको छैंन । तर कुनैपनि देशको आयस्रोत अनुसार कर्मचारीलाई सेवा सुविधा दिनुपर्छ । छिमेकी देशको तुलनामा हेर्ने हो भने नेपालका कर्मचारीहरले सेवा सुविधा पाउन सकिरहेका छैनन् । राष्ट्रको विकास र समृद्धिका लागि अहोरत्र खटिने जुनसुकै तहका कर्मचारीहरुलाई उनको परिवार बाँच्न सकिनेगरी सेवा सुविधा सरकारले दिनसक्नुपर्छ ।
अबको योजना के छ ?
अबको मेरो योजना भनेको, अझ माथिल्लो तहमा पुग्ने हो । म न्याय क्षेत्रमा नै अझ गहिरो योगदान गर्न चाहन्छु । त्यसैले अहिलेको मुख्य लक्ष्य न्यायाधीश बन्ने हो । यसको लागि आवश्यक तयारी र मेहनत निरन्तर गरिरहेकी छु । मलाई विश्वास छ, ढिलोचाँडो भए पनि एकदिन त्यो सपना पूरा हुनेछ ।
अन्त्यमा केही भन्नु छ ?
आज म जहाँ छु, त्यसको पछाडि मेरा अभिभावकको र विशेषगरी बुवाको अमूल्य संघर्ष छ । उहाँले जीवनभर धेरै दुःख गर्नुभयो, तर त्यसको वास्तविक फल चाख्न पाउनु भएन । यदि आज उहाँ भइदिएको भए उहाँभन्दा खुशी अरू कोही हुने थिएन । त्यसैगरी, मेरो आमाको संघर्षलाई कसरी सम्बोधन गरू आफ्नो आयस्रोत केही नभएर पनि हामी चार भाइबहिनिको लागि आफूलाई चट्टान बनाएर हाम्रो अगाडी कहिल्यै दुख पर्न दिनु भएन। मलाई यो स्तरमा पु¥याउनमा मेरी दिदीको भूमिका अपार छ । उहाँ नभएको भए, म यो स्थानमा हुने थिइनँ । त्यसैले म दिदीप्रति जीवनभर कृतज्ञ रहनेछु । अन्त्यमा, मेरो जीवनका यस्ता क्षणहरूलाई विचार राख्ने अवसर दिनुभएकोमा म धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

अंगराज परियार । ११ भाद्र २०८२, बुधबार १०:२९