महिला हिंसा र हत्या विरुद्ध अधिकारकर्मीहरुको वृहत विरोध र्याली


सुर्खेत:  देशभरि बढ्दो महिला हिंसा र विभत्स हत्याका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कर्णाली प्रदेशका मानव अधिकार तथा महिला अधिकारकर्मीहरूले मंगलबार वीरेन्द्रनगरमा वृहत विरोध र्याली गरेका छन् । र्यालीपछि वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकाल,  र सुर्खेतका प्रमुख जिल्ला अधिकारी दगदिश्वर उपाध्याय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । अधिकारकर्मीहरुले ध्यानाकर्षण पत्रमा पछिल्लो समय भएका विभत्स हत्याका घटनाहरूलाई उदाहरणस्वरूप प्रस्तुत गर्दै दोषीलाई कडा कारबाही गर्न, पीडित परिवारलाई संरक्षण दिन र महिला सुरक्षाका लागि दीर्घकालीन नीति निर्माण गर्न माग गरेका छन् । सुर्खेतको वीरेन्द्रनगर–१३ मा नेपाली सेनाबाट अवकाश प्राप्त दानसिंह ठाडाले आफ्नी श्रीमती रविना थापाको चिर्पट प्रहार गरी हत्या गरेको, असार १७ मा रुकुमपश्चिमका चन्द्रबहादुर बुढाथोकीले श्रीमती देविकाको खुकुरी प्रहार गरी हत्या गरेको, वैशाख २१ मा भेरीगंगा–१२ मा दर्शन खत्रीले श्रीमती प्रेमा ओलीको ढुङ्गा प्रहार गरी हत्या गरेको र साउन ९ मा नेपालगञ्जमा प्रकाश सुनारले दैलेखकी १९ वर्षीया निर्मला थापाको हत्या गरेको घटनालाई विशेष रुपमा उठाइएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला तीन वर्षमा कर्णाली प्रदेशमा २४ जना महिलाले आफ्नै श्रीमानको हातबाट ज्यान गुमाएका छन् । प्रमुख जिल्ला अधिकारी दगदिश्वर उपाध्यायले महिला माथि हुने हिंसा र हत्याका घटनामा प्रशासन गम्भीर बनेको बताए । ‘समाजमा घटिरहेका हिंसाजन्य घटनाप्रति राज्य गम्भीर छ । नागरिक समाजको आवाजलाई सुन्नेछौं र संघीय सरकारसमक्ष माग पुर्याइनेछ,’ उनले भने ।
वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालले महिलाका लागि संविधान र कानुनले विशेष व्यवस्था गरेपनि त्यो कार्यान्वयनमा आउन नसकेको बताइन् । ‘महिलाको सुरक्षाका लागि कानुनी व्यवस्थाहरू भए पनि व्यवहारमा कार्यान्वयन कमजोर देखिन्छ,’ उनले भनिन्, ‘स्थानीय तहले पनि जिम्मेवारीपूर्वक भूमिका खेल्छ । हामीले अब समस्याग्रस्त ठाउँको पहिचान गरेर विशेष सचेतनाका कार्यक्रमहरुलाई अगाडी बढाउँछौं ।’
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले महिला विरुद्धका हिंसा र हत्या रोक्न सामुहिक एकता आवश्यक रहेको बताए । ‘महिला विरुद्ध हुने हिंसा रोक्न नागरिक समाज, राज्य संयन्त्र र सबै तहका सरकारबीच सहकार्य अपरिहार्य छ,’ उनले भने, ‘अब समस्या ग्रस्त ठाउँको पहिचान गरेर सचेतनाका कार्यक्रमहरु अगाडी बढाउन आवश्यक छ ।’


आवाज संस्थाकी निर्देशक पवित्रा शाहीले महिलाका सवाललाई सबैले साझा मुद्दका रुपमा अगाडी लिन अनुरोध गरिन् । ‘हामी महिलाहरू अब चुप बस्दैनौं । यस्ता हिंसा र हत्याको विरुद्धमा आवाज उठाउन सडकमा उत्रिरहेका छौं,’ उनले भनिन्, ‘यो. समस्या केवल महिलाको मात्रै होइन, यो समस्या सबैको साझा हुन जरुरी छ ।’ दलित महिला संघ (फेडो) सुर्खेतकी अध्यक्ष मञ्जु सुनारले अहिलेको युगमा पनि महिलाले मानव भएर बाँचन् नपाउनु सोचनिय विषय रहेको बताइन् । ‘महिला भएकै कारण हत्या र हिंसाको सिकार हुनु यो समाजको लज्जास्पद विषय हो । अब समाजमा प्रत्येक घर र राज्यका हरेक तहमा सुधारको आवश्यकता छ,’ उनले भनिन्, ‘यदी यस्ता विषयहरुलाई समयमा नै न्यूनिकरण गर्न सकिएन भने समाज अन्धकार तर्फ जाने निश्चित छ ।’ गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष प्रकाश सारुले महिला अधिकार विरुद्ध हुने घटनाहरुको कारण पत्ता लगाई न्यूनिकरणमा सबै निकायले हातेमालो गर्न जरुरी रहेको बताए ।
संयुक्त ध्यानाकर्षण पत्रमार्फत महिलाविरुद्ध हुने हिंसा र हत्यालाई अन्त्य गर्न संविधान अनुरूप महिला सुरक्षालाई व्यवहारमा उतार्न जोड दिइएको छ । पीडित परिवारलाई मनोसामाजिक सहायता, उद्धार, पुनःस्थापना, मानसिक उपचार, कानुनको प्रभावकारी कार्यान्वयन र दीर्घकालीन रणनीति निर्माणका मागहरू राखिएका छन् । ध्यानाकर्षण पत्रमा गैरसरकारी संस्था महासंघ, बाल विवाह विरुद्ध साझा अभियान सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल, मानव अधिकार रक्षक सञ्जाल, इन्सेक, नवज्योति केन्द्र, आवाज, दलित महिला संघ, नेपाल अपाङ्ग महिला संघ, बालिका दुलही होइनन् अभियान, वाम, मानव अधिकार एलाइन्स, सुन्दर नेपाल, महिला एकल समूह, र शिक्षाका लागि राष्ट्रिय सञ्जाल सहित २२ वटा संस्थाहरूको ऐक्यवद्धता जनाएका छन् ।