सुर्खेत: वीरेन्द्रनगरमा बाल क्लब प्रतिनिधिका लागि पाँच दिने बाल संवाददाता तालिम सम्पन्न गरिएको छ । एईआइएन लक्जेम्बर्गको साझेदारीमा वीरेन्द्रनगर नगरपालिकाको समन्वय र सोसेक नेपालद्वारा संचालित बिहानी परियोजनाको आयोजनामा साउन १५ गतेदेखि सञ्चालन गरिएको तालिम सोमबार सम्पन्न गरिएको हो । तालिमको समापन सत्रमा बोल्दै वडा नम्बर १ का वडा अध्यक्ष दिनेश खत्रीले बाल संवाददाता समुदायमा भएका सकरात्मक र नकरात्मक विषयहरुमा आवाज उठाउने माध्यम भएको बताए । ‘तालिमबाट सिकेका कुराहरु व्यवहारमा पनि उतार्नुस् तपाईंहरु अब समाजका कथाहरु सुनाउने माध्यम बन्नुभएको छ,’ उनले भने, ‘तपाईंहरुलाई साथ दिन वडा सरकार तयार छ ।’
त्यस्तै वडा नम्बर ७ का वडा अध्यक्ष धु्रव कुमार चपाईंले वडा तहमा बाल संवाददाताहरुको आवश्यकता रहेको भन्दै उपलब्धी देखाउनेगरी काम गर्न सुझाव दिए । उनले आजका बाल संवाददाता भोली राम्रा र सफल पत्रकार बन्नसक्ने बताए । उक्त तालिममा वीरेन्द्रनगर नगरपालिका नगरपालिका वडा नम्बर १, २, ६, ७ र ८ का पाँच जना बाल क्लब प्रतिनिधिहरूको सहभागीता रहेको बिहानी परियोजनाकी संयोजक माया अधिकारीले जानकारी दिइन् । उनका अनुसार तालिमले बाल प्रतिनिधिहरूलाई स्थानीयस्तरमा बाल–अधिकार र सरोकारका विषय उठान गर्न, छिमेक, विद्यालयभित्रको मुद्दा उजागर गर्न, र बालबालिकाकै आवाज बालबालिका मार्फत् सञ्चार माध्यम मार्फत पु¥याउन सशक्त बनाउने लक्ष्यका साथ तालिमको आयोजना गरिएको हो ।
पाँच दिने तालिमको सहजिकरण पत्रकार जगतदल जनाला विकले गरेका थिए । पाँच दिनसम्म पत्रकारिताको परिचय, समाचार लेखन, समाचारको प्रभाव, मोबाइल जर्नालिजम, मिथ्या सुचना र त्यसको असर, पत्रकार आचार संहिता, समाचार कक्षहरुको अध्ययन अवलोकन लगायतका क्रियाकलापहरु गरिएको थियो । त्रीपुरेश्वर माध्यामिक विद्यालय, प्रभात माध्यामिक विद्यालय, जननमुना माध्यामिक विद्यालय, श्रीकृष्ण संस्कृत माध्यामिक विद्यालय र नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका विद्यार्थीहरुकाे सहभागिता रहेको थियो ।

खुलानजर । २० श्रावण २०८२, सोमबार १९:२६