
काठमाडौंबाट एमबीबीएस सक्किएलगत्तै उनले एम.डी गरेपछि २०७५ को कार्तिकदेखि प्रदेश अस्पताल, सुर्खेतमा काम गरे । २०७८ मा लोकसेवा पास गरेपछि स्थायी रूपमा कर्णाली प्रदेश अस्पतालमै कार्यरत छन् । डा.समदर्शी एक अनुभवी भएका डाक्टर हुन् । उनी प्रदेश अस्पताल सुर्खेतमा कार्यरत छन् । उनले डिप्रेसन, चिन्ता र स्किजोफ्रेनिया जस्ता मानसिक स्वास्थ्य विकारहरूको निदान र उपचार गर्छन् । बिरामीहरूको लक्षणहरूको आधारमा मूल्याङ्कन गरेर औषधि लेख्छन् र मानसिक स्वास्थ्य अवस्था व्यवस्थापन गर्न मद्दत गर्न थेरापी प्रदान गर्दै आएका छन् । उनै डा. समदर्शीसँग अंगराज परियारले गरेका संघर्ष र सफलताका कुरा:
बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झिनुहुन्छ ?
मेरो बाल्यकाल एकदमै रमाइलो, सहज र प्रेरणादायी रह्यो । पढाइको सुरुवात ‘इगरब्रीज एण्ड न्यू किड्स बोर्डिङ स्कुल’बाट भयो भने माध्यमिक शिक्षा ‘एसओएस हर्मन जेमिनर स्कुल’बाट पूरा गरें । परिवारको राम्रो साथ र मार्गदर्शनले मलाई अध्ययन मात्र होइन, अतिरिक्त क्रियाकलापहरूमा पनि सक्रिय बनायो । विद्यार्थी जीवनको सुरुवातमा केही चुनौती भए पनि समयसँगै रमाइलो, सिकाइ र अनुभवले भरिएको बन्यो ।
तपाईं सानैमा के बन्न चाहनुहुन्थ्यो ?
सुरुका दिनमा खासै निश्चित लक्ष्य थिएन । तर, स्नातक पढ्दादेखि मानसिक स्वास्थ्य समस्याबाट पिडित मानिसहरू र तिनका परिवारको पीडा देख्दा मन छोयो । त्यसबेला मनमा आयो—मानसिक समस्याको क्षेत्रमा काम गर्नुपर्छ ।
तपाईंले मनोविज्ञान क्षेत्र किन रोज्नुभयो ?
मानसिक समस्याबाट पीडित बिरामीहरू उपचारपछि सुधार हुँदै गएको देख्दा अद्भुत सन्तुष्टि मिल्थ्यो । यस्तो रोग ल्याबमा परीक्षण गरेर होइन, संवाद, व्यवहार र विचारबाट बुझेर निदान गरिन्छ । समाजमा मानसिक रोगप्रति रहेको लान्छना हटाउँदै गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने सोचले मैले स्नातकोत्तरमा यही विषय रोजें ।
मेडिकल अध्ययन कस्तो रह्यो ?
सुरुका दिनहरू चुनौतीपूर्ण थिए । विषयहरू गहिरा र जटिल थिए । कहिलेकाहीँ लाग्थ्यो, अरै क्षेत्र रोजूँ कि? तर गुरुहरूको मार्गदर्शन, साथीहरूको साथ र आफ्नो मेहनतले त्यो यात्रा रोमाञ्चक बन्यो । क्लिनिकल लर्निङ र बिरामीहरूसँगको प्रत्यक्ष सम्बन्धले सिकाइ अझ गहिरो बनायो ।
अध्ययनपछि कार्ययात्रा कसरी अगाडि बढ्यो?
स्नातकपछि केही समय काठमाडौंमै काम गरें । पछि स्नातकोत्तर पढ्न थालेँ । सन् २०७५ को कार्तिकदेखि प्रदेश अस्पताल, सुर्खेतमा कार्यरत छु । सुरुमा कहाँ काम गर्ने भनेर अन्योल थियो, तर आफ्नो प्रदेशमै सेवा दिनु अर्थपूर्ण लाग्यो । २०७८ मा लोकसेवा पास गरेपछि स्थायी रूपमा यहीँ कार्यरत छु ।
मानसिक बिरामीलाई तपाईं कसरी हेर्नुहुन्छ ?
म तिनीहरूलाई अन्य शारीरिक बिरामीसरह नै हेर्छु। कुनै प्रकारको विभेद वा लान्छना बिना व्यवहार गर्छु। संवाद, परामर्श र औषधिको संयोजनबाट उपचार गर्छु। मानसिक रोगलाई पनि समयमै उपचार गरेमा पूर्णरूपमा निको हुन सकिन्छ भन्नेमा म विश्वास गर्छु।
मानसिक स्वास्थ्य क्षेत्रमा के–के चुनौती छन् ?
मानसिक स्वास्थ्यप्रति जनचेतनाको गम्भीर अभाव छ । धेरैले अझै पनि यसलाई देवीदेवताको श्राप वा पूर्वजन्मको पाप ठान्छन् । योग्य जनशक्ति, बजेट, र आधुनिक सेवा प्रणालीको कमी, साथै पुरातन सोचले ठूलो अवरोध सिर्जना गरेको छ ।
कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था कस्तो छ ?
समदर्शीः कर्णालीमा मानसिक समस्या भएका मानिसको संख्या उच्च छ । वयस्कमा करिब ११ प्रतिशत र बालकिशोरमा ५ प्रतिशत मानसिक समस्या देखिएको छ । डिप्रेशन, डर, भ्रम, लागुऔषध दुव्र्यसन, आत्महत्या प्रयास जस्ता समस्याहरू आम छन् । तर सेवा पहुँच टाढा छ, पुनस्र्थापनाको अवस्था कमजोर छ ।
कर्णालीमा मानसिक स्वास्थ्य सुधारका लागि के गर्न सकिन्छ ?
सबैभन्दा पहिला जनचेतना बढाउनु पर्छ । विद्यालय, समुदाय, स्वास्थ्य संस्था, सुरक्षाकर्मी, शिक्षक र जनप्रतिनिधिहरूलाई मानसिक स्वास्थ्य सम्बन्धी ज्ञान दिनु पर्छ । टेलिमेडिसिन, स्वास्थ्य शिविर, तालिम र स्थानीय तहको सक्रियता आवश्यक छ ।

बिरामीको सेवा गर्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ ?
अत्यन्त सन्तोषजनक अनुभव हुन्छ । जब बिरामी ठीक हुँदै जान्छन् र आफूलाई सहज महसुस गर्छन्, त्योभन्दा ठूलो खुशी अरु केही हुँदैन। मानसिक रोग निको भएको मान्छे फेरि आफ्नो जीवनमा फर्किएर रमाउन थाल्छ भने त्यो चिकित्सा क्षेत्रकै ठूलो उपलब्धि हो ।
कर्णालीमा के–कस्ता योजना सञ्चालनमा छन् ?
कर्णाली प्रदेश पहिलो प्रदेश हो जसले मानसिक स्वास्थ्य रणनीतिक कार्ययोजना तयार गरेको छ । सरकार, NGO र INGO मिलेर विभिन्न कार्यक्रमहरू सञ्चालनमा छन् । स्वास्थ्यकर्मीलाई तालिम, विद्यालय र समुदायमा जनचेतना कार्यक्रम, सिविर र दुरचिकित्सा सेवा सुरु भइसकेका छन् । अब अन्तरंग सेवा र पुनस्र्थापना केन्द्र स्थापना गर्ने तयारी भइरहेको छ ।
भावी कार्ययोजना के छन् ?
मानसिक स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि सबैभन्दा पहिले, म समुदायमा मानसिक स्वास्थ्यप्रतिको भ्रम र लान्छना हटाउन व्यापक जनचेतना अभियानलाई प्राथमिकता दिन्छु। स्कुल, कलेज र सार्वजनिक थलोहरूमा नियमित रूपमा सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना छ। पुनस्र्थापना सेवा अझ व्यवस्थित र प्रभावकारी बनाउनका लागि विशेष केन्द्रहरू स्थापना गर्ने योजना पनि अगाडि बढाइरहेको छु। मानसिक रोगीहरूलाई केवल औषधि होइन, परामर्श, सामाजिक पुनर्संलग्नता र रोजगारीमा सहजीकरण गर्ने व्यवस्था हुनु जरुरी छ। कर्णाली प्रदेशको भौगोलिक, सांस्कृतिक र सामाजिक परिवेशअनुसार अनुकूल कार्यक्रम विकास गर्ने दिशामा काम गर्नेछु।
खुलानजर । २९ चैत्र २०८१, शनिबार ११:५४