
सुर्खेत: कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न ड्रागन खेती स्थानीय श्रोत व्यक्ति (एल. आर. पी) तालिमको समापन कार्यक्रम उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। समापन कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा सरकारका प्रवक्ता विनोद कुमार शाहले कर्णालीलाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यलाई अघि बढाउन यस्ता तालिमहरू महत्वपूर्ण भएको बताउनुभयो।
“प्रदेश सरकार कृषिमा आत्मनिर्भरता हासिल गर्न किसानसँगै सहकार्य गर्दै अघि बढ्नेछ,” मन्त्री शाहले भन्नुभयो, “युवा र किसानलाई प्रविधिमैत्री खेतीतर्फ आकर्षित गर्ने हाम्रो मुख्य प्राथमिकता हो।”
कार्यक्रमको अध्यक्षता ड्रागन फूट उत्पादक किसान सङ्घ सुर्खेतका अध्यक्ष महेन्द्र प्रसाद खनालले गर्नुभएको थियो। उहाँले तालिममार्फत किसानले सिकेका सीपलाई व्यवहारमा उतार्दा मात्र उत्पादनमा क्रान्ति ल्याउन सकिने बताउनुभयो।
यो तालिममा १२ जना सहभागी रहेका थिए।
कार्यक्रम ड्रागन फूट उत्पादक किसान सङ्घ, सुर्खेतको आयोजनामा तथा हेल्भेटास नेपाल (इन-इलम परियोजना) को सहयोगमा सम्पन्न भएको हो।
ड्रागन फूट उत्पादक किसान सङ्घका अध्यक्ष महेन्द्र प्रसाद खनालले भन्नुभयो, “यस तालिमले किसानलाई आधुनिक खेतीप्रति उत्साहित बनाएको छ। अब हामीले बजारमैत्री उत्पादनमा जोड दिन्छौं।”
हेल्भेटास नेपालका प्रतिनिधिले किसानलाई निरन्तर प्राविधिक सहयोग पुर्याइरहने प्रतिबद्धता व्यक्त गर्दै भने, “यो तालिम किसानलाई व्यवहारमै उपयोगी हुने गरी डिजाइन गरिएको हो।”

जितबहादुर तिरुवा । ४ आश्विन २०८२, शनिबार २१:००