
सुर्खेतः डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिका–५ स्थित इलाका प्रहरी कार्यालय खदाङको प्रहरी चौकीमा स्थानीयले पुस १८ गते बेलुका आक्रमण गरेका छन् । १८ गते दिउँसो लागूऔषधको कारोबार भइरहेको भन्ने सुचनाका आधारमा प्रहरीले ल्हाँ गाउँका ३४ वर्षीय जुन रोकायालाई चेकजाँच गर्ने क्रममा उनी भागेपछि स्थानीयले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी रुकबहादुर खड्काले जानकारी दिए ।
‘दिउँसो आरोपितले एक ट्रकका चालकलाई लागुऔषध बुझाउँदैछन् भन्ने सूचना आएपछि हाम्रो प्रहरी चेकजाँचका लागि खटियो,’उनले भने, ‘चेकजाँच आउनुभन्दा अगाडि नै उनी भागिसकेका थिए । त्यसपछि स्थानीयहरु आएर चौकीमा आक्रमण गरे ।’ डिएसपी खड्काका अनुसार चौकीमा रहेका आठ जना प्रहरी घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला सदरमुकाम ल्याइएको छ ।
आरोपित रोकाया भागेपछि घरको सम्पर्कमा नआएको भन्दै स्थानीयले उनी ठूली भेरीमा खसेर बेपत्ता भएको दाबी गरेका छन् । उनीहरूले रोकाया बेपत्ता हुनुमा प्रहरीको लापरबाहीका कारण भएको आरोप लगाएका छन् ।
तीन सदस्यीय छानबिन समिति
उक्त घटनाको छानबिन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले पुस १९ गते एसपी रामप्रसाद घर्तीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । छानबिन समितिमा प्रदेश प्रहरी कार्यालयका इन्स्पेक्टर खिम बहादुर खड्का र असई प्रेमप्रसाद शर्मा सदस्य रहेका छन् ।
छानबिन टोली घटनास्थलतर्फ पुगिसकेको प्रदेश प्रहरी कार्यालयका एसएसपी केदार खनालले जानकारी दिए । बेपत्ता भनिएका जुन रोकायको खोजी कार्यका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली घटनास्थलमा परिचालन भई खोजी कार्य जारी राखिएको उनले बताए।
सोमबार (आज)बाट घटनास्थल पुगेर आवश्यक कारबाही अगाडि बढाइने एसपी रामप्रसाद घर्तीले बताए ।
यातायात खुले
उक्त घटनालाई लिएर सुरु भएको विवादपछि बन्द गरिएको सडक खुलेका छन । आइतबार साँझ त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित प्रहरी चौकी त्रिपुराकोटमा स्थानीय र प्रहरीबीच भएको वार्तामा मौखिक सहमति जुटेपछि सडक बन्दका कारण ठप्प भएको यातायात सेवा सोमबार बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
वार्तामा घटनामा संलग्न चार जना प्रहरीविरुद्ध मुद्दा चलाउने सहमति भएको पीडित पक्षका तर्फबाट वार्तामा सहभागी स्थानीय जंगबहादुर रोकायले जानकारी दिए। घटनापछि उक्त ठाउँका स्थानीयहरुले शनिबार रातिदेखि नै अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका थिए। जिल्ला भित्रिने–बाहिरिने सवारी साधन पूर्ण रूपमा रोकिएका थिए, जसका कारण यात्रुहरू अलपत्र परेका थिए ।

खुलानजर । २१ पुष २०८२, सोमबार ०९:२६