दलित भित्रकाे विभेद अन्त्य गर्न मागी विवाह !


सुर्खेत : दलित भित्रकाे जातिय विभेद अन्त्य गर्न सुर्खेतमा मागी विवाह गरिएको छ । काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ भंगाल निवासी सुन्दर पुर्कटी र लक्ष्मी पुर्कटीका छाेरा सुरेश पुर्कटीसँग सुर्खेतकाे वीरेन्द्रनगर-११ झुप्राका गाेपाल बादी र पार्वती बादीकी छाेरा सीता वादीसँग मागी विवाह गरेका छन् । `भागी हाेइन, मागी गराैं, अपमान हाेइन,सम्मान गराैं´ भन्ने नाराका साथ शुक्रबार झुप्रामा परम्परागतरुपमा बाजागाजा बजाएर विवाह गरिएको हाे । पुर्कटी दलितकै सार्की समुदाय अन्तर्गत पर्दछ । राष्ट्रिय दलित आयोगका सदस्य समेत रहेका पुर्कटीले दलित समुदाय भित्रकै विभेद अन्त्य गर्नका लागि आफ्नो एक मात्र छाेराकाे बादी समुदायबाट मागेर विवाह गरेकाे बताए ।
`जातिय विभेदकाे कुरा या घटना आउँदा पहिलाे कुरा दलित समसदायभित्रकाे विभेदकाे कुरा आउँछ । साँच्चिकै विभेद अन्त्य गर्न पहिलाे सुरुवात हामीबाटै सुरु गर्नुपर्दछ,` सदस्य सुन्दर पुर्कटीले भने, `संविधानमा छुवाछूत र विभेद विरुद्धको व्यवस्था गरिएपनि व्वयवहारमा त्याे लागू भएको छैन । त्यसकाे अन्त्यका लागि छाेराकाे मागेर विवाह गरिएको हाे ।´
२०७७ असार १० गते आयोगकाे सदस्यमा नियुक्त भएका पुर्कटी २०६७ सालमा स्थानीय विकास मन्त्रालय अन्तरगतकाे उपेक्षित, उत्पीडित दलित विकास समितिकाे कार्यकारी निर्देशक समेत भएका थिए ।
झुप्राकै स्थानीय तथा वीरेन्द्रनगरका पुर्व कार्यपालिका सदस्य एवम् बादी समुदायका अगुवा विष्णु बादीले यसरी दलित भित्रकै आफुभन्दा उच्च जाति मानिनेले मागेरै विवाह गरेकाे याे पहिलाे पटक रहेकाे बताए । `हाम्रो समुदायमा यसरी उच्च जातिले मागेरै विवाह गरेकाे याे पहिलाेपटक हाे । अन्य जातिसँग विवाह भएपनि भागेर हुन्थ्यो । त्यसाे हुँदा सम्बन्ध पनि खासै राम्रो हुन्थेन । याे त परम्परागत रुपमा नै विवाह भएपछि हाम्राे समुदायभित्र खुसी छाएकाे छ । विभेदले समाजमा जरा गाडीरहेका बेला याे कुराले हाम्रो समुदायमा खुसीयाली छाएकाे छ,`विष्णुले भने, `विभेदकाे सुरुवात हामी आफैंबाट सुरु भएकाे छ । याे जाेडीकाे सम्बन्ध अजमबरी चलाेस्, शुभकामना । याे कुरालाई हामीले हरेक वर्ष उत्सवका रुपमा लिनेछाैं ।´
दलित समुदायमा आफ्नो मिल्ने जातमा मिल्ने मात्रै विवाह गर्ने प्रचलनकाे अन्त्य भएको उनकाे भनाइ छ ।
यस्तै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा कुरीति र विसङ्गति विरुद्धको सुरुवात दलितबाटै सुरु भएकाेमा खुसी व्यक्त गरे ।`हजाराैं वर्षदेखि दलितलाई विभेद गरिएको छ । त्यसकाे आवाज उठाउँदा दलपतभित्रकै विभेदकाे कुरालाई ल्याएर वहस गरिन्छ । त्यसकाे जवाफ याे विवाहले प्रष्ट देखाउनेछ,` अध्यक्ष विश्वकर्माले भने,`उत्पीडित वर्गले पनि परिवर्तनको मुद्दा आफैंबाट सुरु गर्नुपर्छ भन्ने कुराकाे पाठ याे विवाहले सिकाएकाे छ । अगामी दिनमा पनि दलित समुदायका अरु जाेडीले पनि यस्ताे परम्पराकाे सुरुवात गर्नुपर्छ । त्यसका लागि सहयाेग, समन्वय र हाैसला दिन आयोग तयार छ ।´
अध्यक्ष विश्वकर्माले यस्ता उदाहरणीय कार्यले समाजमा सबैकाे आत्मसम्मान र मानवअधिकारकाे संरक्षण हुने विश्वास व्यक्त गरे ।
दलित समुदायभित्र पिछडिएका वर्गकाे हकअधिकार र सम्मानकाे लागि तीनै तहका सरकारसँग समन्वय गरेरर काम गर्ने याेजनाका साथ आयोग लागि परेकाे अध्यक्ष विश्वकर्माकाे भनाइ छ ।