चौकुनेमा आँखा तालिम सम्पन्न, उपचार केन्द्र स्थापनामा सहमति

सुर्खेत: नेपाल रेडक्रस सोसाइटी चौकुने उपशाखाको आयोजनामा कर्णाली प्रदेश अन्तर्गतको चौकुने गाउँपालिका मा तीन दिने प्राथमिक आँखा उपचार सम्बन्धी तालिम सम्पन्न भएको छ। तालिम समापनसँगै वडा नं. ४ बिजौरामा आँखा उपचार केन्द्र स्थापना गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।

मिति २०८२ फागुन ९, १० र ११ गते सञ्चालन गरिएको तालिममा महिला स्वास्थ्य स्वयंसेविका ३२ जना र शिक्षक प्रतिनिधि ४३ जना गरी जम्मा ७५ जनाको सहभागिता रहेको थियो। ९ गते महिला स्वास्थ्य स्वयंसेविकालाई, १० गते वडा नं. ४, ५, ६, ७, ८, ९ र १० का शिक्षक प्रतिनिधिलाई तथा ११ गते वडा नं. १, २ र ३ का शिक्षक प्रतिनिधिलाई छुट्टाछुट्टै सत्रमार्फत तालिम प्रदान गरिएको थियो।

तालिमको मुख्य उद्देश्य विद्यालय तथा समुदायस्तरमै आँखासम्बन्धी समस्या समयमै पहिचान गरी आवश्यक परामर्श तथा उपचारतर्फ मार्गनिर्देशन गर्नु रहेको थियो। विशेषगरी बालबालिकामा देखिने दृष्टि कमजोरी छिटो पहिचान गरी शिक्षण–सिकाइ प्रक्रियामा सुधार ल्याउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष खड्क वि.क. (विवस) प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो भने नेपाल रेडक्रस सोसाइटी चौकुने उपशाखाका सभापति चेत बहादुर वि.सि.को सभाध्यक्षता रहेको थियो। साथै गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन बहादुर पाण्डे, प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर वि.क., उपाध्यक्ष नरबहादुर बान्तोला लगायतको उपस्थिति रहेको थियो।

समापन समारोहमा वक्ताहरूले विद्यालय र समुदाय स्तरमै आँखा स्वास्थ्यबारे सचेतना अभिवृद्धि गर्ने यस्ता कार्यक्रम समयानुकूल र प्रभावकारी भएको उल्लेख गर्दै बालबालिकाको दृष्टि सुरक्षाले उनीहरूको शैक्षिक प्रगति र भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। सिकेका ज्ञान र सीप व्यवहारमा लागू गर्न सहभागीलाई आग्रहसमेत गरिएको थियो।

यसै अवसरमा नेपाल रेडक्रस सोसाइटी आँखा अस्पताल सुर्खेत, चौकुने गाउँपालिका र च्यारिटी फाउण्डेसनबीच वडा नं. ४ बिजौरामा आँखा उपचार केन्द्र स्थापना गर्ने गरी त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौतापत्रमा रेडक्रसतर्फबाट रामलाल आचार्य, च्यारिटी फाउण्डेसनका तर्फबाट डा. विद्या पन्त र गाउँपालिकाका अध्यक्ष खड्क वि.क.ले हस्ताक्षर गर्नुभएको थियो। उक्त कार्यक्रममा आँखा अस्पतालका सञ्चालक समिति संयोजक रामलाल आचार्य, व्यवस्थापक घन बहादुर थापा तथा नेत्र अधिकृत प्रेम दीक्षितको समेत उपस्थिति रहेको थियो।

आँखा उपचार केन्द्र स्थापना भएसँगै चौकुनेका स्थानीय बासिन्दाले आफ्नै पालिकाभित्र आधारभूत आँखा सेवा पाउने अपेक्षा गरिएको छ। स्थानीय तह र सामाजिक संस्थाबीचको सहकार्यले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विस्तारमा सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्।