दलितका मुद्दालाई समेट्न ध्यानाकर्षण

सुर्खेत: आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेटमा दलित समुदायका मुद्दाहरुलाई समेट्न मुख्यमन्त्री राजकुमार शर्मालाई मागपत्रसहित ध्यानाकर्षण गराइएको छ ।
आगामी नीति तथा कार्यक्रम र बजेटमा दलितका अति आवश्यक मुद्दा समेट्नुपर्ने भन्दै दलित मोर्चा संगठनले शिक्षा, स्वास्थ्य, भूमि, सिप जस्ता विषयहरु समेटेर कार्यक्रम ल्याउन माग गर्दै ध्यानाकर्षण गरेको हो । पेस गरिएका मागहरु सरकारले सम्बोधन गर्ने मुख्यमन्त्री शर्माले प्रतिवद्धता व्यक्त गरेको कार्यक्रममा सहभागी दलित अभियन्ता बसन्त विश्वकर्माले बताए ।

त्यस्तै दलित समुदायका ८४ बुँदे माग सम्बोधन गर्न संघीय सरकारलाई मागपत्र पेश गरिएको छ । सुर्खेत जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा मार्फत संघीय सरकारलाई ८४ बुँदे मागपत्र बुझाइएको छ । त्यस्तै दलित समुदायका विषयमा आवाज उठाउन प्रदेशसभा सदस्य घनश्याम भण्डारीलाई समेत अनुरोध पत्र बुझाइएको छ ।

बिहीबार ‘दलितका लागि, दलित आन्दोलनका’ संयोजक खगेन्द्र सुनारले प्रमुख जिल्ला अधिकारी सापकोटा मार्फत संघीय सरकारलाई ध्यानाकर्षण बुझाएका हुन् । सुनारकै नेतृत्वमा वैशाख १ गतेदेखि एक हप्ता बढी समय दलित समुदायले मुख्यमन्त्री कार्यालय अगाडी धर्ना समेत दिएका थिए । पछि प्रदेश सरकारले माग सम्बोधन गर्ने सहमति गरेपछि आन्दोलन स्थगित गरिएको थियो ।