वीरेन्द्रनगरमा ‘द क्यामेरा हाउस’ सञ्चालनमा, फोटोग्राफी क्षेत्रमा नयाँ अवसरको सुरुवात

सुर्खेत: कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा फोटोग्राफी तथा भिडियो उपकरणको समग्र समाधान दिने लक्ष्यसहित “द क्यामेरा हाउस” नामक नयाँ व्यवसाय औपचारिक रूपमा सञ्चालनमा आएको छ। झण्डै २० लाख रुपैयाँको लगानीमा सुपरमार्केट क्षेत्रभित्र सञ्चालनमा आएको यो पसल आइतवार एक समारोहका बीच उद्घाटन गरिएको हो।

सञ्चालक लोकजंग शाहीका अनुसार, क्यामेरा हाउसमा २० हजारदेखि ४ लाख रुपैयाँसम्मका विभिन्न प्रकारका क्यामेराहरू उपलब्ध छन्। फोटो तथा भिडियो सुटिङका लागि आवश्यक स्टुडियो लाइट, ट्राइपड, लेन्स, स्ट्याबिलाइजर, मेमोरी कार्ड, माइक लगायतका सहायक उपकरणहरू पनि यहाँ पाइनेछ।

शाहीले यो व्यवसाय सुरु गर्नुको पछाडि आर्थिकभन्दा बढी सामाजिक उद्देश्य रहेको बताए। “हामी नयाँ पुस्तालाई फोटोग्राफी र भिडियोग्राफीमा सीपमूलक बनाउन चाहन्छौं,” उनले भने, “यस व्यवसायबाट दुई जना युवाले प्रत्यक्ष रोजगारी पाएका छन् र आगामी दिनमा तालिम कार्यक्रममार्फत थप अवसर सृजना गर्ने योजना छ।”

ग्राहकहरूलाई क्यामेरा खरीदअघि परामर्श र डेमो सेवा प्रदान गरिने शाहीले जानकारी दिए। उनका अनुसार, व्यवसाय अन्तर्गत क्यामेरा बिक्रीसँगै भाडामा समेत उपलब्ध गराइनेछ।

सञ्चालक शाहीले आगामी दिनमा फोटोग्राफी तालिम, भिडियो सम्पादन कक्षा, डिजिटल सामग्री निर्माणबारे कार्यशाला सञ्चालन गर्ने लक्ष्य लिएको जानकारी समेत दिएका छन्।