सुर्खेत: आन्तरिक राजस्व कार्यालय सुर्खेतले आर्थिक वर्ष २०८१/०८२ मा राजस्व संकलन, करदाताको वृद्धि र बेरुजु फर्छ्यौटका दृष्टिकोणले उत्साहजनक प्रगति हासिल गरेको छ । कर्णाली प्रदेशको आर्थिक केन्द्रको रुपमा विकसित हुँदै गइरहेको सुर्खेतमा आर्थिक गतिशीलता र कर अनुशासनमा उल्लेखनीय सुधार देखिएको हो ।
कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा कुल २ अर्ब १४ करोड ४२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १४.७३ प्रतिशतले वृद्धि हो । आर्थिक वर्ष २०८०/०८१ मा सोही कार्यालयले १ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियो । राजस्व संकलनको वृद्धिको प्रमुख कारणहरूमा करको दायरा विस्तार, बक्यौता असुली र आर्थिक गतिविधिको वृद्धि रहेका छन् । कर अधिकृत अमरबहादुर थापाका अनुसार, `करको कानुन पालना र दायरा विस्तारसँगै राजस्व संकलनमा प्रगति भएको हो ।´ उनका अनुसार, जति करको क्षेत्र फराकिलो हुन्छ, त्यति नै संकलनको आधार बलियो बन्छ ।
लक्ष्यमा भने अपुग
राजस्व संकलनमा उल्लेखनीय प्रगति भए तापनि निर्धारित लक्ष्य भने पूरा हुन सकेन । आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयलाई २ अर्ब ४९ करोड ८६ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएको थियो । तर कुल प्रगति ८५.८२ प्रतिशत मात्र भयो । सुरुमा विभागले २ अर्ब २० करोडको लक्ष्य दिएको भए पनि बीचमा ३० करोड थपिएपछि लक्ष्य पूरा गर्न कठिन भएको कर अधिकृत थापाको भनाइ छ ।
उनले भने, `हामीले आफ्नो क्षमताअनुसार प्रयास गर्यौं, तर तोकिएको लक्ष्य हाम्रो क्षेत्रको आर्थिक कारोबारको सन्दर्भमा बढी थियो ।´ सुर्खेत कार्यालयले सुर्खेत, दैलेख, जाजरकोट, डोल्पा र हुम्ला जिल्लाको कारोबार हेर्ने गर्दछ ।
आयकर, भ्याट र अन्तःशुल्कमा वृद्धि
राजस्व शीर्षकमध्ये आयकर बाट सबैभन्दा बढी १ अर्ब ३१ करोड ३२ लाख रुपैयाँ संकलन भएको छ, जसमा १५.०६ प्रतिशत वृद्धि देखिएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) बाट ६८ करोड संकलन भएको छ, जसमा १३.४१ प्रतिशत वृद्धि छ । ब्याज करमा ३०.२० प्रतिशत र अन्तःशुल्कमा २२.८७ प्रतिशत वृद्धि भएको छ । तर घरबहाल कर मा भने गिरावट आएको छ । गत वर्षको तुलनामा १.९८ प्रतिशतले कमी आएको छ । ७ करोड ४० लाखको लक्ष्य राखिएकोमा जम्मा ४ करोड ३९ लाख रुपैयाँ मात्र संकलन भएको छ । यस विषयमा थापा भन्छन् , `व्यक्तिगत घरबहाल कर स्थानीय तहमा जान्छ । हाम्रो कार्यालयमा व्यावसायिक निकायको मात्र आउने भएकाले संकलनमा कमी देखिएको हो ।´
करदाताको उल्लेखनीय वृद्धि
राजस्व संकलन मात्र होइन, करको दायरा विस्तारमा पनि कार्यालयले गत वर्ष उल्लेखनीय सफलता हासिल गरेको छ । एक वर्षमै १७ हजार ६७० नयाँ करदाता प्रणालीमा दर्ता भएका छन् । यसमध्ये १३ हजार ८५० जना व्यक्तिगत स्थायी लेखा नम्बर (PAN) लिने रहेका छन् । ३ हजार २०३ जना नयाँ आयकरदाता, ४०४ जना भ्याटदाता र १५० अन्तःशुल्कदाता थपिएका छन् ।
सूचना अधिकारी थापाका अनुसार प्यान नम्बर अनिवार्य बनाइएपछि दर्ता संख्या बढेको हो । बजार अनुगमनका क्रममा पनि दर्ता नभएकालाई प्रणालीमा ल्याइएको उनले जानकारी दिए ।
९ करोड ६६ लाख बेरुजु फर्छ्यौट
अन्ततः कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ९ करोड ६६ लाख रुपैयाँ बराबरको बेरुजु फर्छ्यौट गरेको छ । यद्यपि १२ करोड ४६ लाख फर्छ्यौट गर्ने लक्ष्यमा ७७.५८ प्रतिशत मात्र प्रगति भयो । तर पनि अघिल्ला वर्षहरूको तुलनामा यो अत्यधिक प्रगति भएको कार्यालयको भनाइ छ । `अघिसम्म बेरुजु फर्छ्यौट कसले गर्ने भन्ने अस्पष्टता थियो, तर हाल महालेखा परीक्षकबाट फर्छ्यौट गरिने व्यवस्था भएपछि काम अघि बढेको हो,`थापाले भने । सुर्खेत आन्तरिक राजस्व कार्यालयको प्रगति हेर्दा कर्णाली प्रदेशमा कर प्रणालीप्रति नागरिकको सहभागिता, आर्थिक कारोबारको बिस्तार र संस्थागत दायित्वबोध बढ्दै गएको देखिन्छ । यद्यपि तोकिएको लक्ष्यअनुसारको कार्यान्वयन अझै चुनौतीपूर्ण देखिन्छ । राजस्व प्रशासनले दायरा विस्तार, कर शिक्षा र प्रवर्तनको संयोजनमा जोड दिन सके आगामी वर्षहरूमा अझ प्रगति हुने देखिन्छ ।

खुलानजर । ११ श्रावण २०८२, शनिबार १३:२९