
सुर्खेत: जेन–जी युवा पुस्ताले भष्टाचार नियन्त्रण र सुशासनको मागसहित २३ र २४ भदौमा आह्वान गरेको शान्तिपूर्ण विरोध प्रदर्शनपछि देशमा विकसित पछिल्लो घटनाक्रमप्रति कर्णाली प्रदेशमा रहेका नागरिक समाज र मानव अधिकारकर्मीहरुले शुक्रबार सामुहिक अपील गर्दै गम्भीर ध्यानाकर्षण गराएका छन् । विरोध प्रदर्शनका क्रममा ज्यान गुमाएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरिएको छ । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै निशुल्क र प्रभावकारी उपचार सुनिश्चित गर्न सम्बद्ध निकायलाई आग्रह गरिएको छ । पीडित परिवारलाई उचित राहत र क्षतिपूर्तिको माग पनि गरिएको छ । शान्तिपूर्ण प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, ऐतिहासिक सम्पदा, निजी सम्पत्ति ध्वंस, आगजनी, लुटपाट, हिंसा र कैदी भगाउने घटनाको नागरिक समाजले निन्दा गरेको छ । यस्ता घटनाको अध्ययन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गरी स्वतन्त्र, निष्पक्ष र न्यायिक अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।
अपिलमा भनिएको छ–‘भविष्यमा यस्ता घटना नदोहोरिन जनताको ज्यान र सम्पत्तिको सुरक्षासहित समाजमा शान्ति–सुव्यवस्था कायम गर्न राज्यका निकाय जिम्मेवार हुनुपर्छ ।’
उनीहरुले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था जनताको बलिदानीपूर्ण संघर्षबाट स्थापना भएको स्मरण गर्दै जेनजी पुस्ताले उठाएका माग सम्बोधन हुनेगरी संवैधानिक व्यवस्था अनुसार सरकार गठन, विगतका भ्रष्टाचार घटनामा उच्चस्तरीय छानबिन आयोग गठन र विधिको शासन कायम गर्न आग्रह गरेका छन् । उक्त अपिलमा इन्सेक, मानव अधिकार रक्षक सञ्जाल, गैसस महासंघ नेपाल, नेपाल पत्रकार महासंघ, उच्च अदालत र जिल्ला अदालत बार एशोसियसन, महिला मानव अधिकार रक्षक सञ्जाल, आवाज, सुन्दर नेपाल, दलित महिला संघ (फेडो), वातावरण सुधार समाज, फियान, राष्ट्रिय अपांग महासंघ, उपभोक्ता हित संरक्षण मञ्च लगायत कर्णाली प्रदेशका २७ संस्थाले संयुक्त हस्ताक्षर गरेका छन् ।



खुलानजर । २७ भाद्र २०८२, शुक्रबार १४:४८