चौकुने गाउँपालिकाको १९औँ गाउँसभा सम्पन्न

सुर्खेत: चौकुने गाउँपालिकाको १९ औँ गाउँसभा (हिउँदे अधिवेशन) गाउँपालिका अध्यक्ष खड्क वि.क.(विवस) को अध्यक्षतामा सम्पन्न भएको छ।

सभामा गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोला, प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर वि.क., वडा नं. १ देखि १० सम्मका वडा अध्यक्ष तथा सदस्यहरू, कार्यपालिका सदस्य, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा अन्य सभासदहरूको सहभागिता रहेको थियो।

गाउँसभाले चौकुने गाउँपालिकाको अर्धवार्षिक प्रगति समीक्षा गर्दै संगठन तथा व्यवस्थापन सर्वेक्षण, अति विपन्न नागरिकको जीवन रक्षा सम्बन्धी व्यवस्था, वेवारिसे शव ओसारपसार व्यवस्थापन लगायतका विषयमा छलफल गरेको थियो।

यसैगरी एम्बुलेन्स प्रयोगका क्रममा बाटोमै वा अस्पतालमा मृत्यु भएको अवस्थामा सेवा शुल्कमा शतप्रतिशत छुट दिने व्यवस्था, आर्थिक कार्यविधि तथा उत्तरदायित्व सम्बन्धी विधेयक, रकमान्तरण गर्नुपर्ने रकम तथा विभिन्न विकास आयोजनासम्बन्धी प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरिएको गाउँपालिकाले जनाएको छ।

सभाको शून्य समयमा सदस्यहरूले विभिन्न विषयमा धारणा तथा सुझाव प्रस्तुत गरेका थिए। सदस्य **तपेन्द्र वि.सि.**ले रेक्चा खानेपानी योजनामा डिप सफल नभएकोप्रति दुःख व्यक्त गर्दै वैकल्पिक व्यवस्था गरी नागरिकलाई स्वच्छ पिउने पानी उपलब्ध गराउन आग्रह गर्नुभयो। सदस्य कल्पना कामीले गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन माग राख्नुभयो।

त्यसैगरी सदस्य रतन टमट्टाले विकास क्रमिक प्रक्रिया भएको उल्लेख गर्दै सडक, स्वास्थ्य, शिक्षा र खानेपानी क्षेत्रमा भइरहेको प्रगतिप्रति धन्यवाद व्यक्त गर्नुभयो। उनले सम्पन्न आयोजनाको भुक्तानीमा ढिलाइ हुँदा उपभोक्ता समितिका पदाधिकारीले समस्या भोग्नु परेको भन्दै सुधार आवश्यक रहेको बताए।

अन्य सदस्यहरूले अपूरा खानेपानी आयोजना तथा पाइप वितरणलाई निरन्तरता दिनुपर्ने, कार्यकाल सकिन लाग्दा विकास निर्माणका कामको गति बढाउनुपर्ने तथा बासपानी–जंगलाघाट सडक असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने सुझाव दिएका थिए।

सदस्य अर्जुन विकले नयाँ आयोजना सुरु गर्नु भन्दा हाल सञ्चालनमा रहेका आयोजनालाई प्राथमिकताका साथ सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो। सदस्य धनिराम धमलाले बलात्कारपछि हत्या भएको आशंका गरिएको इनिशा विकको घटनामा दोषीलाई कडा कारबाही गर्नुपर्ने माग राख्दै दुःख व्यक्त गर्नुभयो। साथै साना आयोजनाभन्दा पालिका स्तरका रणनीतिक योजनामा बजेट व्यवस्थापन गर्नुपर्ने, विद्युत विस्तार, अधुरा वडा कार्यालय तथा अन्य अधुरा योजना सम्पन्न गर्नुपर्ने र काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्नुपर्ने सुझाव दिनुभयो।

यसैगरी सदस्य गोविन्द थापाले कामदारको ज्याला भुक्तानी, घुतघुते खानेपानी, विद्युत विस्तार तथा झ्यालेकाडा खानेपानी आयोजनाको व्यवस्थापनतर्फ पालिकाको ध्यानाकर्षण गराउनुभयो। सदस्य जिरक बडुवालले पालिका कम्पाउण्डवाल, घेराबार, कार्यालय सुरक्षा तथा पार्किङ व्यवस्थापन सुधार गर्नुपर्ने विषय उठाउनुभयो। साथै मदन भण्डारी आयोजना अन्तर्गत बिजौरा–सिमलखेत–लगाम सडक खण्डको काम समयमै सम्पन्न गर्न पालिकाले सहजीकरण गर्नुपर्ने बताउनुभयो।

अन्त्यमा सभामा उठेका प्रश्न तथा सुझावहरूबारे सम्बोधन गर्दै गाउँपालिका अध्यक्षले सबै सदस्यहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। गाउँसभाले गाउँपालिकाको समग्र विकास र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै अधिवेशन समापन भएको घोषणा गरिएको छ।