पूर्वाधारको अभाव हुँदा पनि कर्णालीमा भित्रिए साढे १६ लाख पर्यटक

सुर्खेत: कर्णाली प्रदेशमा सात वर्षमा १६ लाख ३९ हजार ८४३ आन्तरिक तथा बाह्य पर्यटक भित्रिएका छन्। आर्थिक वर्ष २०७६–७७ मा ११ हजार ७०४ पर्यटक प्रमुख पर्यटकीय गन्तव्यमा पुगेकोमा गत आर्थिक वर्ष २०८२–८३ मा यो संख्या पाँच लाख ४० हजार ७२८ पुगेको छ।
प्रदेश सरकार गठनपछि पर्यटन पूर्वाधार र प्रवर्द्धनमा बढ्दै गएको लगानीसँगै पर्यटक आगमन पनि उल्लेख्य बढेको सरकारी तथ्यांकले देखाउँछ। तर, पर्यटकीय सम्भावनाको तुलनामा कमजोर सडक तथा हवाई पहुँच, पर्याप्त पूर्वाधार र स्तरीय सेवाको अभाव तथा प्रभावकारी प्रचारप्रसार हुन नसक्दा पर्यटकको संख्या अझै अपेक्षित रूपमा बढ्न सकेको छैन।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६–७७ मा ११ हजार ७०४ पर्यटक कर्णालीका प्रमुख पर्यटकीय गन्तव्यमा पुगेका थिए। आर्थिक वर्ष २०७७–७८ मा यो संख्या बढेर ३४ हजार ६९ र २०७८–७९ मा एक लाख २७ हजार २९ पुगेको थियो।
आर्थिक वर्ष २०७९–८० मा एक लाख ९८ हजार १३४, २०८०–८१ मा दुई लाख १० हजार ५९० र २०८१–८२ मा पाँच लाख ४१ हजार ८८९ पर्यटक कर्णालीका विभिन्न गन्तव्यमा पुगेका थिए। गत आर्थिक वर्ष २०८२–८३ मा पाँच लाख ४० हजार ७२८ पर्यटक पुगेका छन्। अघिल्लो वर्षको तुलनामा गत वर्ष पर्यटक संख्या एक हजार १६१ ले घटेको देखिन्छ।

यो तथ्यांक मुगुको रारा ताल, सुर्खेतको गोठीकाँडा, प्रादेशिक शहीद पार्क, बुलबुले ताल र काँक्रेबिहार, डोल्पाको शे–फोक्सुण्डो ताल तथा सल्यानको कुपिण्डे तालमा पुगेका पर्यटकको हो। यसमा कर्णालीका सबै पर्यटकीय गन्तव्यमा पुग्ने पर्यटक समेटिएका छैनन्।
गत आर्थिक वर्षमा हवाईमार्ग प्रयोग गरी हुम्लाको मानसरोवरलगायत पर्यटकीय क्षेत्रमा पुग्ने पर्यटकको संख्या चार हजार ५८९ रहेको मन्त्रालयका वन व्यवस्थापन तथा जैविक विविधता संरक्षण महाशाखाका वरिष्ठ डिभिजनल जलाधार व्यवस्थापन अधिकृत शेरबहादुर श्रेष्ठले जानकारी दिए।

रारा पुगे एक लाख पाँच हजार
कर्णालीको प्रमुख पर्यटकीय आकर्षण मुगुको रारा तालमा सात वर्षमा एक लाख पाँच हजार १८४ आन्तरिक तथा बाह्य पर्यटक पुगेका छन्। आर्थिक वर्ष २०७६–७७ मा रारा पुग्ने पर्यटकको संख्या १० हजार ३६ थियो। गत आर्थिक वर्षमा मात्रै २४ हजार ९३१ पर्यटक रारा पुगेका छन्।
नेपालकै सबैभन्दा ठूलो ताल रारालाई ‘स्वर्गकी अप्सरा’का रूपमा चिनाइए पनि त्यहाँसम्मको सडक तथा हवाई पहुँच अझै सहज छैन। सडकको कमजोर अवस्था र नियमित तथा भरपर्दो हवाई सेवाको अभावले रारामा पर्यटकको संख्या सम्भावनाअनुसार बढाउन चुनौती देखिएको छ।

अर्को प्रमुख पर्यटकीय गन्तव्य डोल्पाको शे–फोक्सुण्डो तालमा सात वर्षमा २६ हजार ५८५ पर्यटक पुगेका छन्। आर्थिक वर्ष २०७६–७७ मा त्यहाँ एक हजार ६६८ पर्यटक पुगेका थिए।
रारा र शे–फोक्सुण्डोसँगै कर्णालीमा स्यार्पु ताल, कुपिण्डे दह, काँक्रेबिहार, पञ्चकोशी, सिंजा सभ्यता, लिमी उपत्यकालगायत प्राकृतिक, धार्मिक, ऐतिहासिक र सांस्कृतिक सम्पदा छन्। तर, अधिकांश गन्तव्यसम्म सहज पहुँच, व्यवस्थित बसोबास, खानेपानी, होटल तथा अन्य पर्यटकीय सेवाको पर्याप्त विकास हुन सकेको छैन।

पाँच वर्षमा दोब्बरभन्दा बढी भयो बजेट
पर्यटक आगमनसँगै प्रदेश सरकारले पर्यटन क्षेत्रमा गर्ने लगानी पनि बढाएको छ। पछिल्ला वर्षका नीति, कार्यक्रम तथा बजेट हेर्दा पर्यटनलाई प्रदेशको आर्थिक विकास र रोजगारीसँग जोड्ने गरी बजेटको आकार बढाइएको देखिन्छ।
आर्थिक वर्ष २०७८–७९ मा पर्यटन क्षेत्रमा २३ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो। २०७९–८० मा ३४ करोड ५७ लाख, २०८०–८१ मा ४१ करोड ९९ लाख, २०८१–८२ मा ४० करोड ५१ लाख र २०८२–८३ मा ५० करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

चालु आर्थिक वर्ष २०८३–८४ मा पर्यटन क्षेत्रका लागि ५३ करोड ८६ लाख रुपैयाँ बजेट राखिएको छ। २०७८–७९ को तुलनामा चालु आर्थिक वर्षसम्म आइपुग्दा पर्यटन क्षेत्रको वार्षिक बजेट दोब्बरभन्दा बढी भएको छ।
लगानी बढे पनि कर्णालीको पर्यटनबाट अपेक्षित आर्थिक प्रतिफल लिन भने चुनौती कायमै छ। प्रमुख पर्यटकीय गन्तव्यमा सडक पहुँच सुधार, नियमित हवाई सेवा, होटल तथा अन्य सेवाको गुणस्तर र अन्तर्राष्ट्रियस्तरको प्रचारप्रसारलाई एकसाथ अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ।

पर्यटन दशकको तयारी
प्रदेश सरकारले चालु आर्थिक वर्षबाट ‘कर्णाली पर्यटन दशक’ सुरु गर्ने तयारी गरेको छ। वार्षिक नीति तथा कार्यक्रम र बजेटमार्फत पर्यटनलाई आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र स्थानीय समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्ने लक्ष्यसहित पर्यटन दशक घोषणा गर्ने नीति लिइएको हो।
दशकअन्तर्गत प्रमुख पर्यटकीय गन्तव्यको संरक्षण, पूर्वाधार निर्माण, पहुँच विस्तार, प्रचारप्रसार र पर्यटन सेवाको गुणस्तर सुधारलाई प्राथमिकता दिने सरकारको योजना छ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काका अनुसार पर्यटन दशक कार्यान्वयनका लागि आवश्यक नीतिगत तयारी थालिएको छ।
‘१० वर्षको योजना भएकाले व्यापक नीतिगत तयारी गर्नुपर्ने हुन्छ, बजेट पनि धेरै छ,’ उनले भनिन्, ‘कार्यक्रमका लागि आवश्यक कार्यविधि निर्माण गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ।’
पर्यटन दशकको योजनाअनुसार चालु आर्थिक वर्षमा रारा ताल, काँक्रेबिहार, बुलबुले उद्यान तथा चौगान पार्क, कुपिण्डे दह र रुकुम पश्चिमको स्यार्पु तालको संरक्षण तथा विकासका लागि कार्यान्वयनमा रहेका गुरुयोजनालाई थप प्रभावकारी बनाउन २१ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
त्यस्तै, प्रदेश सरकारको सहकार्यमा सुर्खेत विमानस्थल विस्तार र स्तरोन्नतिलगायत कामका लागि पाँच करोड रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जनाएको छ। सुर्खेत विमानस्थलबाट हिमाली जिल्लाका विमानस्थलमा नियमित उडान सञ्चालनका लागि संघीय सरकारसँग समन्वय गरी सहुलियत कार्यक्रम सञ्चालन गर्ने योजना पनि प्रदेश सरकारको छ।

बसाइ लम्ब्याउने लक्ष्य
सरकारले पर्यटकलाई गन्तव्यसम्म पुर्‍याउने मात्रै नभई उनीहरूको बसाइ अवधि लम्ब्याएर स्थानीय अर्थतन्त्रसँग जोड्ने नीति लिएको छ। यसका लागि पर्यटन सूचना तथा अभिलेख केन्द्र, सूचना सामग्री, गाइडबुक तथा पर्यटक सुरक्षा र आपत्कालीन सहयोग संयन्त्र विकास गर्ने योजना अघि सारिएको छ।
शहरी क्षेत्रको सौन्दर्य अभिवृद्धि, हरित वातावरण संरक्षण तथा पर्यापर्यटनको दिगो विकासमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउन पार्क, उद्यान, खुला स्थान, पदमार्ग र दृश्यावलोकन स्थलसहित प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटकीय पूर्वाधार निर्माण र स्तरोन्नतिका कार्यक्रमसमेत राखिएका छन्।
चालु आर्थिक वर्षमा पर्यापर्यटन, ग्रामीण पर्यटन र होमस्टे प्रवर्द्धन गर्दै पर्यटनसँग जोडिएको स्थानीय रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ। हस्पिटालिटी, ट्रेकिङ गाइड, स्थानीय मौलिक वास्तुकला तथा रैथाने बालीबाट बन्ने परिकारसम्बन्धी सीप विकासका कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ।
यसअघि प्रदेश सरकारले रारा, शे–फोक्सुण्डो, कुपिण्डे, स्यार्पु, काँक्रेबिहार र पञ्चकोशीलगायत प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई एउटै पर्यटन सञ्जालमा जोड्ने गरी पर्यटन सर्किट विकासको अवधारणा अघि सारेको थियो।
सरकारले पर्यटनमा बजेट बढाउँदै लगे पनि अबको चुनौती विनियोजित बजेटलाई गन्तव्यको आवश्यकताअनुसार प्रभावकारी रूपमा कार्यान्वयन गर्नु हो। सात वर्षमा पर्यटकको संख्या उल्लेख्य बढेको तथ्यांकले देखाए पनि कर्णालीको प्राकृतिक र सांस्कृतिक सम्भावनासँग तुलना गर्दा यो संख्या अझै न्यून छ।
विशेषगरी प्रमुख गन्तव्यसम्म सुरक्षित र सहज सडक तथा हवाई पहुँच, गुणस्तरीय होटल र अन्य सेवा, प्रभावकारी प्रचारप्रसार तथा पर्यटकको बसाइ लम्ब्याउने गतिविधिको विकासबिना बजेट वृद्धिले मात्रै कर्णालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न कठिन देखिन्छ।