दलित समुदायप्रति क्षमायाचना र सुधारमुखी कार्यक्रमको इन्सेकद्वारा स्वागत


सुर्खेत: नवगठित सरकारले २०८२ चैत १६ गते सार्वजनिक गरेको एकसय दिने कार्ययोजनामा दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि राज्य, समाज तथा नीति–निर्माण संरचनाबाट भएका अन्याय र विभेदविरुद्ध क्षमायाचनासहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने प्रतिबद्धता समावेश गरेकोमा इन्सेकले नेपाल सरकारलाई धन्यवाद ज्ञापन तथा सो प्रतिबद्धताको स्वागत गरेको छ ।
इन्सेकका अध्यक्ष विजयराज गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा कयौँ वर्षदेखि संरचनागत विभेद र बहिष्करणमा परेका दलित समुदायमाथि भएको थिचोमिचोप्रति राज्यको स्वीकारोक्ति सामाजिक न्याय, समावेशी पुर्नस्थापना र ऐतिहासिक मेलमिलापतर्फको सकारात्मक कदमका रूपमा लिनु पर्ने उल्लेख छ । विगतमा पनि यस्ता प्रतिबद्धताहरू कार्यान्वयनको अभावमा प्रभावहीन बनेकाले ठोस, समयबद्ध र परिणाममुखी कार्यान्वयन सुनिश्चित गर्न नेपाल सरकारलाई इन्सेकले आग्रह गरेको छ । सरकारको प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन, अन्तर्राष्ट्रिय दायित्वहरूको पालना तथा पीडित समुदायप्रति उत्तरदायित्व बहन गर्दै अघि बढ्न साथै अन्तर्राष्ट्रिय मानव अधिकार संयन्त्रसँगको सहकार्य सुदृढ गर्न नागरिक समाज, मानव अधिकारकर्मी तथा सरोकारवाला सबै पक्षसँग सहकार्य गर्न आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।