भैलीमा उठेकोे रकमबाट अक्षयकोष स्थापना

सुर्खेत: भैलीमा उठेको रकमले अक्षयकोष स्थापना गरिएको छ । २०७६ सालमा देउसी भैलीबाट सुर्खेत स्थित काँक्रेबिहार मिडिया प्रालि र मोन्टाज मिडिया प्रालिले संयुक्तरुपमा भैली खेलेर संकलन गरेको उक्त रकम अक्षयकोष स्थापना गर्न नेपाल पत्रकार महासंघ सुर्खेत शाखालाई हस्तान्तरण गरिएको हो ।
भैलीबाट एक लाख दुई हजार र शुसीलराज शर्माले २३ हजार थप गरी एक लाख २५ हजार रुपैयाँ महासंघलाई हस्तान्त्रण गरिएको कांक्रेविहार मिडियाका प्रकाशक शर्माले जानकारी दिए । ‘हामीले भैली खेलेको रकमले पत्रकारलाई प्रोत्साहित गर्ने उद्देश्यले महासंघमा पुरस्कारका लागि अक्षयकोषको स्थापना गर्न २३ हजार थपेर एक लाख २३ हजार हस्तान्त्रण गरेका छौं,’शर्माले भने, ‘यसले सुर्खेती पत्रकारिता र सञ्चारकर्मीको विकासमा टेवा पुग्नेछ ।’
सोमबार नेपाल पत्रकार महासंघ सुर्खेत शाखालाई पत्रकारिता पुरस्कार स्थापनाको लागि हस्तान्तरण गरेका हुन् ।
पछिल्लो समय भैली खेलेको पैसाले विभिन्न विषयमा खर्च भइरहेका बेला यो कार्यले पत्रकारितालाई थप मद्दत पुगेको पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले बताए । कोषाध्यक्ष सेजुवालले यो उदाहरणीय कार्यको प्रशंसा गर्दै काँक्रेबिहार र मोन्टाज मिडिाया प्रालिप्रति आभार व्यक्त गरे ।
त्यस्तै पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले पत्रकारको वृद्धि विकास र प्रोत्सानमा यो पुरस्कारले महत्वपुर्ण योगदान पुर्याउने बताए । हस्तान्तरण कार्यक्रममा मोन्टाजका अध्यक्ष उपेन्द्र खड्का, संचालक समिति सदस्य बुद्धिसिंह ठकुरी र पत्रकार महासंघ सुर्खेतका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।