पहिलोपल्ट समयमै पाठ्यपुस्तक पाएपछि उत्साहित विद्यार्थी

सुर्खेत: कर्णाली प्रदेशका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले यस वर्ष पहिलोपटक भर्नासँगै पाठ्यपुस्तक पाएका छन् । विगतका वर्षहरूमा महिनौँ ढिला हुने पुस्तक आपूर्तिको समस्या यसपटक उल्लेखनीय रूपमा सुधार हुँदा विद्यार्थी, शिक्षक र अभिभावक सबैमा उत्साह देखिएको छ ।
कालीकोटको रास्कोट नगरपालिकास्थित बडिमालिका माध्यमिक विद्यालयकी कक्षा ६ मा भर्ना भएकी छात्रा जयन्ती बराल नयाँ पुस्तक पाउँदा दंग छिन् । उनले गत वर्ष पुरानै किताबबाट कक्षा ५ पढ्नुपरेको स्मरण गर्दै भनिन्, `पोहर त विद्यालयले दिएको पुरानो किताबले नै कक्षा ५ सकियो, यसपालि नयाँ किताब पाएपछि पढ्न झन् जाँगर आएको छ ।´
त्यसै विद्यालयका कक्षा ९ का छात्र हिक्मत शाहीले पनि सुरुकै दिन पुस्तक पाउनु ठूलो परिवर्तन भएको बताए । `पहिले त कहिल्यै सबै किताब आउँदैनथ्यो, साथीको किताब हेरेर पढ्दा राम्रोसँग बुझ्न गाह्रो हुन्थ्यो,´उनले भने, `यसपटक नयाँ किताबले पढाइमा निकै सहज भएको छ ।´
विद्यालयका प्रधानाध्यापक पुष्पराज बरालका अनुसार यस वर्ष पहिलोपटक सबै विद्यार्थीलाई पूर्ण सेट पाठ्यपुस्तक वितरण गर्न सम्भव भएको हो । `गत वर्षसम्म ढुवानीमा ढिलाइ र अपुगताका कारण पुराना किताब बाँड्नुपर्ने बाध्यता थियो,´उनले भने, `यसपटक भर्नासँगै सबैले किताब पाएपछि विद्यार्थी निकै खुसी छन् ।´ विद्यालयमा हालसम्म ३ सय १२ जना विद्यार्थी भर्ना भएका छन्, जसमा १ सय ९७ छात्रा र १ सय १५ छात्र रहेका छन् ।
कालीकोटकै जनजीवन माध्यमिक विद्यालयमा पनि ४ सय ७० जना विद्यार्थीले भर्नासँगै पुस्तक पाइसकेका छन् । विद्यालयका प्रधानाध्यापक तेजबहादुर शाहीका अनुसार यस वर्षको अनुभव विगतभन्दा फरक छ । `पहिले पुराना किताबमै भर पर्नुपर्थ्यो, तर यसपटक नयाँ किताब पाएपछि विद्यार्थीको खुसी नै छुट्टै देखिएको छ,´उनले भने ।
कर्णाली प्रदेशभर ३ हजार २६ सामुदायिक विद्यालय रहेका छन् । गत वर्ष यहाँ ५ लाख ९५ हजारभन्दा बढी विद्यार्थी भर्ना भएका थिए । यस वर्ष पनि सोही हाराहारीमा विद्यार्थी भर्ना हुने अनुमान गरिएको छ । शिक्षा विकास निर्देशनालयकी निमित्त निर्देशक दीपा हमालले अधिकांश विद्यालयमा पढाइ सुरु भइसकेको र भर्ना भएका विद्यार्थीले पुस्तक पाइसकेको जानकारी दिइन् । `केही विद्यालयमा भर्नासँगै नियमित पठनपाठन पनि सुरु भइसकेको छ,´ उनले भनिन् ।
जनक शिक्षा सामग्री केन्द्रका अनुसार कर्णाली प्रदेशमा झण्डै १ लाख २० हजार सेट पाठ्यपुस्तक आवश्यक पर्नेमा हालसम्म ८० हजार ८ सय ६८ सेट पुस्तक वितरण भइसकेको छ । केन्द्रकी प्रादेशिक प्रमुख जमुना ढकालका अनुसार गत वर्षका केही मौज्दात पुस्तक र निजी क्षेत्रबाट छापिएका किताबसमेत जोड्दा करिब ८० प्रतिशत विद्यार्थीसम्म पुस्तक पुगिसकेको छ । `केही कक्षाका किताब निजी क्षेत्रबाट पनि वितरण हुन्छन्,´उनले भनिन्, ´विद्यालय र पसलमा मौज्दात किताबसमेत प्रयोग हुँदा अभाव कम भएको छ ।´
तथ्यांकअनुसार सबैभन्दा धेरै पुस्तक दैलेखमा १७ हजार ९ सय ८४ थान पुगेको छ भने सबैभन्दा कम जाजरकोटमा ५ हजार ६ सय ६६ थान पुस्तक वितरण गरिएको छ । जाजरकोटका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख यज्ञश्वर खत्रीका अनुसार अझै करिब २० प्रतिशत विद्यार्थी भर्ना हुन बाँकी छन् । `धेरै अभिभावक मजदुरीका लागि भारत जाने भएकाले केही विद्यार्थी पनि उनीहरूसँगै गएका छन्,´उनले भने, `जडिबुटी संकलन र अन्य कामका कारण पनि सबै विद्यार्थी तत्काल भर्ना हुन सकेका छैनन् ।´
जनक शिक्षा सामग्री केन्द्रले पहिलो चरणमा करिब ८० प्रतिशत पुस्तक वितरण गरेपछि अब विद्यालयको मागअनुसार थप पुस्तक पठाइने जनाएको छ । केन्द्रका अनुसार पछिल्ला वर्षहरूको तुलनामा यस वर्ष सबैभन्दा धेरै पुस्तक भर्ना अभियान सुरु हुनु अघि नै वितरण गरिएको हो । विगतमा भने भर्ना अभियानका बेला कर्णालीका पहाडी र हिमाली जिल्लामा ४० प्रतिशतभन्दा कम पुस्तक मात्र पुग्ने गरेको थियो ।
केन्द्रका अनुसार २०७९ मा ४५ प्रतिशत, २०८० मा ४८ प्रतिशत, २०८१ मा ४९ प्रतिशत र गत वर्ष करिब ४० प्रतिशत मात्र पुस्तक वितरण भएको थियो । यस वर्ष भने पाठ्यक्रम परिवर्तन नभएको, छपाइ समयमै सम्पन्न भएको र ढुवानी प्रक्रियामा सुधार आएको कारण समयमै वितरण सम्भव भएको ढकालले बताइन् ।
केन्द्रले हालसम्म ७ करोड ६९ लाख रुपैयाँ बराबरको पाठ्यपुस्तक बिक्री गरिसकेको जनाएको छ । कक्षा ३ र ५ देखि १० सम्मका पाठ्यपुस्तक जनक शिक्षाले वितरण गर्ने व्यवस्था छ भने कक्षा १, २ र ४ का पुस्तक निजी क्षेत्रले छाप्ने र वितरण गर्ने गरेका छन् । प्रदेशभर पाठ्यपुस्तक वितरणका लागि ८९ वटा पुस्तक पसल सूचीकृत गरिएका छन् । यद्यपि केही स्थानीय तहमा भने बजेट निकासा नहुँदा समस्या अझै देखिएको छ । मुगुको सोरु गाउँपालिकामा पाठ्यपुस्तकका लागि करिब २० लाख रुपैयाँ निकासा नहुँदा विद्यालयहरूले उधारोमा पुस्तक खरिद गरेका छन् । सोरुकोटका शिक्षक गोविन्द शाहीका अनुसार विद्यार्थीलाई पुस्तक दिन ढिलाइ नहोस् भनेर उधारोमा किताब ल्याइएको हो । गाउँपालिकाको शिक्षा शाखा प्रमुख वीरेन्द्र मल्लले प्रशासनिक समस्या र कर्मचारी अभावका कारण रकम निकासा हुन नसकेको बताए । `प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएको र लेखापाल निलम्बनमा परेका कारण ढिलाइ भएको हो,´उनले भने, `तर विद्यार्थीले भने किताब पाइसकेका छन् र पढाइ सुरु भइसकेको छ ।´
जुम्लाको सिंजा गाउँपालिकास्थित भैरव माध्यमिक विद्यालयका शिक्षक कमल नेपालीले विगतमा विद्यार्थीले महिनौँसम्म पुस्तक नपाउने समस्या रहेको बताए । `कुनै वर्ष त ६ महिनासम्म पनि किताब आउँदैनथ्यो,´ उनले भने, `यस वर्ष भने भर्नासँगै सबै विद्यार्थीले किताब पाएका छन्, जुन ठूलो उपलब्धि हो ।´
उनका अनुसार अघिल्ला वर्षहरूमा ढिलाइ हुनुका मुख्य कारण समयमै छपाइ नहुनु, स्थानीय तहबाट रकम निकासा ढिलो हुनु र ढुवानीमा समस्या हुनु थियो । यस वर्ष ती समस्यामा सुधार आएको देखिन्छ ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारका अनुसार दुर्गम भौगोलिक अवस्थाले पनि पुस्तक ढुवानीमा चुनौती सिर्जना गर्ने गरेको थियो । `पहिले सडक पहुँच नहुँदा खच्चडमार्फत पुस्तक ढुवानी गर्नुपर्थ्यो,´उनले भने, `अहिले केही ठाउँमा सडक विस्तार भएपछि अवस्था सुधार हुँदै गएको छ ।´
हुम्लाको सर्केगाड गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक जयबहादुर बमले पाठ्यपुस्तक विद्यार्थीको सिकाइका लागि अत्यन्त महत्वपूर्ण रहेको बताए । `पुस्तक र विद्यार्थीबीच मनोवैज्ञानिक सम्बन्ध हुन्छ,´उनले भने, `पुस्तक हातमा हुँदा विद्यार्थीको सिकाइ गति बढ्छ र शिक्षकलाई पनि पढाउन सहज हुन्छ ।´
उनका अनुसार समयमै पुस्तक नपाउँदा विगतमा पाठ्यक्रम पूरा गर्न कठिनाइ हुने र त्यसले परीक्षाफलमा समेत असर पार्ने गरेको थियो । `यस वर्ष भने ३ सय ९० विद्यार्थीले समयमै पुस्तक पाएका छन्,´उनले भने, `यसले शैक्षिक गुणस्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।´
समग्रमा हेर्दा कर्णाली प्रदेशमा यस वर्ष पाठ्यपुस्तक वितरण प्रणालीमा देखिएको सुधारले शिक्षा क्षेत्रमा सकारात्मक सन्देश दिएको छ । समयमै पुस्तक उपलब्ध हुँदा विद्यार्थीको सिकाइमा उत्साह बढ्नुका साथै विद्यालयको पठनपाठन पनि व्यवस्थित हुने विश्वास गरिएको छ ।