सुर्खेत: रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीमा परेर कर्णाली प्रदेशका १ सय ६५ जना अझै सम्पर्कविहीन रहेका छन् । कर्णाली प्रदेश प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीमा परेर कर्णालीका १० जिल्लाका २ सय ४५ जना सम्पर्कविहीन भएकामा ७८ जना सम्पर्कमा आएका छन् भने दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सम्पर्कमा आउन बाँकी १ सय ६५ जनामध्ये १ सय ३२ पुरुष, २४ महिला, पाँच बालक र चार बालिका रहेका छन् ।
सबैभन्दा धेरै जुम्लाका ६३ जना अझै सम्पर्कविहीन छन् । त्यस्तै सल्यानका ४७, मुगुका ११, रुकुम पश्चिमका सात, दैलेखका छ, कालीकोटका छ, हुम्लाका छ, सुर्खेतका १५, जाजरकोटका दुई र डोल्पाका दुई जना सम्पर्कमा आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
जिल्लागत विवरणअनुसार बाढीमा परेर सुरुमा सम्पर्कविहीन हुनेको संख्या सुर्खेतमा २२, दैलेखमा नौ, जाजरकोटमा ११, सल्यानमा ५३, रुकुम पश्चिममा १८, कालीकोटमा छ, जुम्लामा १३, मुगुमा १९, डोल्पामा दुई र हुम्लामा १२ जना थियो । तीमध्ये विभिन्न जिल्लाका ७८ जना सम्पर्कमा आएका छन् । बाढीमा परेर दुई जनाको मृत्यु भएको प्रहरीको विवरणमा उल्लेख छ । मृतकमध्ये हुम्लाको ताजाकोट गाउँपालिका–२ का नहकुल शर्मा रसुवा भन्सार कार्यालयमा अधिकृतका रूपमा कार्यरत थिए । गोरखामा उनको शव भेटिएको थियो । उनको काठमाडौँस्थित पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । त्यस्तै, सल्यानको बागचौर नगरपालिका–१० पीपलनेटाका २० वर्षीय आयुष खड्काको पनि बाढीमा परेर मृत्यु भएको छ । प्लान्ट क्वारेन्टाइन कार्यालय टिमुरेमा खरिदार पदमा कार्यरत खड्काको चितवनस्थित देवघाटमा दाहसंस्कार गरिएको छ ।
पछिल्लो तथ्याङ्कले बाढी गएको तीन साताभन्दा बढी समय बितिसक्दा पनि कर्णालीका १ सय ६५ नागरिकको अवस्था अझै अज्ञात रहेको देखाएको छ । बेपत्ता व्यक्तिका परिवारले खोजी तथा पहिचानका लागि सम्बन्धित निकायसँग निरन्तर पहल गर्दै आएका छन् ।
डिएनए परीक्षणका लागि रगत संकलन
भोटेकोशी बाढीमा परेर बेपत्ता भएका पातारासी गाउँपालिकाका नागरिकको डिएनए परीक्षणका लागि आफन्तको रगतको नमुना संकलन गरिएको छ । भदौ १० गते आएको भोटेकोशी बाढीमा परेर बेपत्ता भएका नागरिकको पहिचानका लागि बुधबार ३२ जना आफन्तको रगतको नमुना संकलन गरिएको हो ।
यस्तै, गुठीचौर गाउँपालिकामा पनि डिएनए परीक्षणका लागि रगतको नमुना संकलन गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनस्वास्थ्य कार्यालय जुम्लाका स्वास्थ्यकर्मीको टोली खटिएको छ । गुठीचौर गाउँपालिकामा नौ जनाको पनि रगतको नमुना संकलन गरिएको छ ।
पातारासी गाउँपालिकाका लाम्री, तिर्खु, माथिल्लो लोर्पा, तल्लो लोर्पा, बाता र जप्न गाउँका ४९ जना बाढीमा परेर बेपत्ता भएका छन् । बाढीमा बेपत्ता भएको तीन हप्तासम्म पनि उनीहरूमध्ये कोही सम्पर्कमा नआएपछि जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार डिएनए परीक्षणका लागि आफन्तको रगतको नमुना संकलन गर्न थालिएको हो ।
प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार रसुवा बाढीबाट सबैभन्दा बढी प्रभावित हुनेमा पातारासी गाउँपालिकाका नागरिक छन् । लामो समयसम्म सम्पर्कमा नआएपछि डिएनए परीक्षणका लागि नमुना रगत संकलन थालिएको उनले बताए ।
पातारासीमा ४९ जना बाढीमा बेपत्ता भएको तथ्याङ्क भए पनि हालसम्म ३२ जना पीडित परिवारका सदस्यको डिएनए परीक्षणका लागि रगतको नमुना संकलन भएको छ । कतिपय परिवारले काठमाडौं तथा जिल्ला बाहिरसमेत रगतको नमुना परीक्षण गराएको जानकारी आएकाले ती सबै तथ्याङ्क एकीकृत गर्न थालिएको प्रमुख जिल्ला अधिकारी प्रसाईंले बताए।
डिएनए परीक्षणका लागि संकलन गरिएको रगतको नमुना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुरक्षित राखिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख किरण शर्माले बताए।
१४ सय ९ जनाको शव फेला
रसुवाको भोटेकोशीमा आएको बाढीका कारण बिहिबार बिहान ८ बजेसम्म १ हजार ४ सय ९ जनाको शव फेला परेको छ ।
जसमध्ये रसुवामा १ सय ९९ जना, नुवाकोटमा २ सय २ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्चिममा २ सय २२ जना गरी १ हजार ४ सय ७ जनाको शव फेला परेको हो । साथै, दुई जना घाइतेको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पुरा गरी हालसम्म १ हजार २ सय ३७ ओटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय १४ गरी कुल ३ हजार २ सय ओटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३ सय ६१ ओटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा २ हजार ३ जना व्यक्तिहरूलाई राखिएको छ । हालसम्म सम्पर्कविहिन भएका ४ हजार ८९ जनाको खोजी कार्य भइरहेको छ । बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ ।

खुलानजर । २ आश्विन २०८३, शुक्रबार ०९:५८