चुनावी हारभन्दा राजनीतिक हारको चिन्ता गरौँ’ : विशुन्के

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्दै पार्वती विशुन्केले निर्वाचनमा भएको पराजयलाई चुनावी हारका रूपमा मात्र नहेरी पार्टीको राजनीतिक कार्यशैली, संगठन र जनसम्बन्धबारे गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएकी छन्।

उनले समय, समाज र जनताको मनोविज्ञान परिवर्तन भइसकेकाले पार्टी पनि समयअनुसार परिवर्तन हुनुपर्नेमा जोड दिइन्। युग र जमाना परिवर्तन भए पनि आफू नफेरिने सोचले पार्टीलाई गन्तव्यमा पुर्‍याउन नसक्ने उनको भनाइ छ।

‘चुनावमा हारियो भने फेरि जित्न सकिन्छ, तर राजनीति हारियो भने उठ्न गाह्रो हुन्छ,’ विशुन्केले भनिन्, ‘त्यसैले निर्वाचन परिणामसँगै हाम्रो राजनीतिक कार्यशैली र जनसम्बन्धको विषयमा पनि गम्भीर समीक्षा गरौँ।’

उनले कम्युनिष्टहरूले आफूलाई केन्द्रमा राख्नेभन्दा देश, पार्टी र समाजलाई केन्द्रमा राख्नुपर्ने बताइन्। पार्टीभित्र ‘म’वादको प्रवृत्ति विकास भइरहेको छ कि छैन भन्ने विषयमा प्रत्येक नेता–कार्यकर्ताले आत्मचिन्तन गर्नुपर्ने उनको भनाइ थियो।

विशुन्केले नेताहरूले आफूलाई सर्वेसर्वा र अरूलाई रैती वा दासको रूपमा व्यवहार गर्ने प्रवृत्ति विकास भएको छ कि छैन भन्ने प्रश्नसमेत उठाइन्। त्यस्तो प्रवृत्ति भए त्यसको समीक्षा आफूबाटै सुरु गर्नुपर्ने उनले बताइन्।

कार्यदलको प्रतिवेदनमा खुला छलफल गर्न माग

पार्टीको सचिवालय बैठकले निर्वाचन समीक्षा र पुनर्गठनका लागि कार्यदल बनाएको र कार्यदलले प्रतिवेदन तयार गरेको उल्लेख गर्दै विशुन्केले उक्त प्रतिवेदन कमिटीमा ल्याएर खुला, तथ्यमा आधारित र सामूहिक छलफल गर्नुपर्ने बताइन्।

पार्टी विधि, पद्धति, सामूहिकता र सहकार्यका आधारमा अघि बढेको सन्देश दिन पनि प्रतिवेदनमाथि खुला छलफल आवश्यक रहेको उनको भनाइ छ।

कम्युनिष्ट पार्टीभित्र आलोचना र आत्मालोचनालाई स्वाभाविक प्रक्रियाका रूपमा स्वीकार गर्नुपर्ने भन्दै उनले संगठनभित्र फरक मत र आलोचनालाई स्थान दिनुपर्ने बताइन्।

जनसम्बन्ध पुनःस्थापना गर्नुपर्नेमा जोड

विशुन्केले अहिले पार्टीको प्रमुख कार्यभार जनसम्बन्ध पुनःस्थापना गर्नु रहेको बताइन्। उनले युवा, महिला, दलित, भुइँमान्छे, आधारभूत तहका वर्ग, उद्यमी, किसान, पेशाकर्मी, विद्यार्थी तथा प्रविधिमैत्री युवासँग नयाँ सम्बन्ध निर्माण गर्नुपर्ने धारणा राखिन्।

‘जनताको कुरा सुन्ने, जनतासँगै हिँड्ने र जनताको समस्या बुझ्ने पार्टी बनाउनुपर्छ,’ उनले भनिन्, ‘यो आजको युगको माग हो।’

उनका अनुसार पार्टीले जनताको समस्या र अपेक्षालाई बुझेर त्यसअनुसार आफ्नो नीति, संगठन र कार्यशैली विकास गर्न आवश्यक छ।

नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने

विशुन्केले पार्टीभित्र युवा नेतृत्व विकासमा समेत जोड दिइन्। नयाँ पुस्तालाई नेतृत्वका लागि तयार गर्न नसके आगामी दिनमा पार्टीले थप चुनौती सामना गर्नुपर्ने उनको धारणा थियो।

‘सधैँ बासी कुराको बहस गरेर गन्तव्यमा पुगिँदैन,’ उनले भनिन्, ‘हामीले नयाँ पुस्तासँग प्रतिस्पर्धा गर्न सक्ने युवा नेतृत्व तयार गर्नुपर्छ।’ उनले पार्टीमा पुस्तान्तरण र नेतृत्व विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताइन्।

‘षड्यन्त्र भयो’ भन्ने भाष्यले मात्रै पार्टी बन्दैन

पार्टीमाथि सधैँ षड्यन्त्र र प्रतिशोध भएको भाष्यबाट मात्रै संगठन निर्माण हुन नसक्ने विशुन्केको भनाइ छ। उनले पार्टीभित्र नेता–कार्यकर्ताको मन मिलाउन, अल्पमतको कदर गर्न र बहुमतको निर्णयलाई स्वीकार गर्ने संस्कार विकास गर्नुपर्ने बताइन्। सबै नेता–कार्यकर्ताले आफ्नो भूमिका र सम्मानको अनुभूति गर्न सक्ने संगठन निर्माण गर्नुपर्नेमा उनले जोड दिइन्।

व्यक्तिमुखी होइन, संस्थामुखी पार्टी बनाउनुपर्ने

विशुन्केले पार्टीलाई व्यक्तिमुखी नभई संस्थामुखी बनाउनुपर्ने बताइन्। उनले पार्टीलाई यथास्थितिमुखी नभई रूपान्तरणमुखी र जनताबाट टाढिएको होइन, जनतामाझ फर्किएको पार्टीका रूपमा विकास गर्नुपर्ने धारणा राखिन्।

सतही विषयमा मात्र बहस नगरी गहिराइमा पुगेर बहस गर्ने, योजना बनाउने, त्यसको कार्यान्वयन गर्ने र प्राप्त परिणामको समीक्षा गर्ने संस्कार पार्टीभित्र विकास गर्नुपर्ने उनको भनाइ थियो।

उनले पार्टीको आगामी यात्रा आत्मसमीक्षा, संगठनात्मक सुधार, जनसम्बन्ध विस्तार र नयाँ पुस्ताको नेतृत्व विकासमा केन्द्रित हुनुपर्ने धारणा राखिन्।