लाईसेन्ससका लागि किर्ते कागजात पेश गर्ने प्रहरी जवान पक्राउ


सुर्खेत प्रहरीले सोमबार यातायात व्यवस्थापन कार्यालय सुर्खेतबाट सवारी चालक अनुमती पत्र (लाईसेन्स)का लागि किर्ते सही र छाप लगाएर कागजात पेश गर्ने एक जनालाई पक्राउ गरेको छ ।

दैलेख गुरासँ गाउँपालिका–४ घर भइ सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत ३० वर्षीय प्रहरी जवान भक्तबहादुर शाहीलाई नक्कली काजगात पेश गरेर सवारी चालक अनुमती पत्र लिन लाग्दा प्रहरीले पक्राउ गरेको हो ।

उनले साउन ११ गते दिएको मोटरसाइकल सवारी चालक अनुमती पत्रको परीक्षाको (लिखित र मौखिक) प्रवेश पत्रमा यातायात व्यवस्था कार्यालय सुर्खेतका दुई जना कर्मचारीको किर्ते सही र कार्यालयको किर्ते छाप लगाइ उत्तीर्ण (पास) भएको बनाइ सवारी चालक अनुमती पत्र लिन आएको अवस्थामा शंका भएपछि प्रहरीले केरकार गरेका थिए ।

यातायात व्यवस्था कार्यालयका कर्मचारीले किर्ते सही छाप गरेको आंशका गरेपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले पक्राउ गरेको हो । नक्कली सही र छाप लगाएर सवारी अनुमती पत्र लिन आउने भक्तबहादुर शाहीलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) माधवप्रसाद श्रेष्ठले बताए ।