कागज उद्योगी बोहरा भन्छन्– ‘अनुदानमा समेत कमिसन मागेपछि विदेशिने निर्णय गरेँ’


सुर्खेत: देशमा कमिसनको जालो यतिसम्म फैलिएको छ कि त्यसले सामान्य किसानदेखि ठूल्ठूला व्यापारीसम्मलाई दुःख दिएको छ। भएकाले त दिएर आफ्नो काम फत्ते गर्लान् नभएकाले कसरी पार लगाउने?

घरजग्गा धितो राखी ऋण लिएर कागज उद्योग सञ्चालन गरेका जिल्लाको चौकुने गाउँपालिका–२ लगामका बुद्धिमान बोहराको अवस्था योभन्दा केही फरक छैन।
२०७५ सालमा सुर्खेतको पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा सिर्जना नेपाली हाते कागज उद्योग सञ्चालनमा ल्याएका उनले विभिन्न सरकारी निकाय चहार्दा पनि उद्योगका लागि अनुदान पाएनन्। पाए त हन्डर, ठक्कर अनि कमिसनमा रमाइरहेको प्रशासनिक संरचना।

अनुदानका लागि आफूले विभिन्न ठाउँमा प्रयास गर्दा पनि नभएको भन्दै उनले आक्रोश पोखे। झोलामा उद्योग देखाउनेले अनुदान पाइरहेको अवस्थामा साँच्चै पीडित भएको आफूले बिन्ति बिसाउँदासमेत नपाएको उनले बताए। अनुदान माग्दा हाकाहाकी प्रतिशत माग्ने भेटिएको उनको अनुभव छ।

‘यहाँ त अनुदान पाउन पनि कमिन दिनुपर्ने रहेछ, चारपटक घरेलुमा, पाँचपटक स्थानीय तहमा प्रस्तावना दिएँ,’ उनले भने, ‘सिधै कति प्रतिशत दिने हो हामीलाई भनेर माग्छन्, पैसा दिन सक्दिन भनेपछि सञ्चालनमै नभएका उद्योग अनुदानका सूचीमा परेको देखेँ।’

दुई रोपनी जग्गा भाडामा लिएर सात लाखमा उद्योग सञ्चालन गरेका उनी कोरोना महामारीका कारण उद्योगमा परेको प्रभावले अहिले विदेशिन लागेका हुन्। महामारीपछि उद्योगमा संकट देखियो। अनुदान पाइने आशमा उनले स्थानीय तहदेखि प्रदेश सरकारसम्म प्रस्ताव लगे। तर, माखो मरेन।

‘सुरुमा उद्योग राम्रो चलेको थियो, उद्योगकै आम्दानीले महिना–महिनामा किस्ता तिर्न र उद्योग सञ्चालनका लागि आम्दानी भएकै थियो,’ उनले भने, ‘तर, कोरोना महामारीले कागज बजारमा गएन, उत्पादनका लागि ल्याइएको कच्चा पदार्थ समेत नष्ट भयो, ऋण त तिर्नैप¥यो, विदेशिने सुरमा छु।’
मलेसिया जानका लागि उनले पासपोर्ट बनाउने प्रक्रियामा छन्। उद्योगको ऋण र परिवार पाल्नकै लागि विदेशिन बाध्य भएको सुनाउँदै गर्दा उनी केही भावुक देखिए।
बुद्धिमानले कागज उद्योगमा घर र बाहिरकासहित आठ जनालाई रोजगारी दिएका थिए। कोरोना महामारीपछि ती कामदारहरूले पनि काम छोडे। दक्ष कामदारले कामदारको समेत अभाव भयो।
कच्चा पदार्थको भाउ बढ्दा पनि कागजको भने मूल्य नबढ्नुले उद्योग सञ्चालनमा कठिनाइ भएको उनको अनुभव छ। चार वर्ष पहिला र अहिलेको कागजको मूल्य एउटै भए पनि कच्चा पदार्थको मूल्य आकाशिएको उनको भनाइ छ। एक कोडी कागजको मूल्य चार वर्षअघि र अहिले दुई हजार रूपैयाँ नै छ।
साना तथा घरेलु उद्योग महासंघका अनुसार कर्णालीमा करिब १७ हजार साना तथा घरेलु उद्योगहरू छन् । तीमध्ये मुस्किलले १० प्रतिशत उद्योग मात्र नियमित सञ्चालनमा छन्। उकेरा