
सुर्खेत: तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०४८ सालमा शिलान्यास गरेको कर्णाली राजमार्गको निर्माण २०६३ सालपछि मात्रै अगाडी बढ्यो । शान्ति प्रक्रिया सुरु भएसँगै कर्णाली राजमार्गको ट्रयाक खुल्यो । १० वर्षे सशस्त्र संघर्षको अन्त्यपछि सुर्खेत हुँदै दैलेख, कालिकोट, जुम्ला र मुगुसम्म कर्णालीको तिरैतिर राजमार्गको ट्रयाक खुल्दा यहाँका मानिसहरुमा खुसीको कुनै सिमा थिएन । विकट दुर्गम ठाउँलाई छिचोल्दै राजमार्ग पुगेपछि सुविधाको नयाँ आशा पलायो । चट्टानै चट्टानका कारण ट्रयाक खोल्न समस्या भएपछि सरकारले यो काम नेपाली सेनालाई दियो । यो राजमार्ग विश्व बैंकको आर्थिक सहयोगमा ट्रयाक खोली सञ्चालनमा आएको १९ वर्ष भयो । साविक कर्णालीको ‘लाइफलाइन’का रुपमा हेरिएको यो राजमार्ग अहिले मृत्यू मार्गका रुपमा परिचित छ । न्यूनतम इन्जिनियरिङ मापदण्ड समेत पूरा नगरेको यो राजमार्गमा हरेक वर्ष दुर्घटनाबाट सयौं नागरिकहरुले ज्यान गुमाउनुपरेको छ । यो सडकमा वर्षेनी दुर्घटना र क्षतिको ‘ग्राफ’ बढ्न थालेको छ । प्रायजसो चाडपर्व र बर्खाको सिजनमा यो बाटोमा अत्याधिक दुर्घटना बढ्ने गरेका छन् ।
प्रतिनिधिमूलक घटना
२०६६ चैत ५ गते कालिकोटबाट सुर्खेत फर्कंदै गरेको काँक्रेविहार यातायातको ना.३ ख ५८६८ नम्बरको यात्रुवाहक बस दैलेखको किटु भीरमा दुर्घटना भयो । बस भिरबाटै सिधै कर्णाली नदीमा खस्यो । त्यस दुर्घटनाबाट ४१ जनाको मृत्यू भयो । त्यस्तै ०६८ असोज २७ गते दशैं बिदामा घर फर्किएका विद्यार्थी चढेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायाँनाथ रारा नगरपालिका–७, पिनाटपने खोलामा खस्दा ३३ जनाले ज्यान गुमाएका थिए ।
०६८ मंसिरमा कालीकोटको सेराबाडा बित्तामोडमा बस दुर्घटना हुँदा २८ जनाले ज्यान गुमाएका थिए । यस्तै०७१ सालमा जुम्लाको रारालिहीमा बस दुर्घटना हुँदा दुधे बालकसहित १८ जनाको ज्यान गयो । यीत कर्णाली राजमार्गमा भएका केही प्रतिनिधिमूलक ठुला घटना मात्रै हुन् । प्रदेश प्रहरीको तथ्याङ्कले देखाउँछकी पछिल्ला वर्षहरुमा हजारौं नागरिकको काल बनेको छ कर्णाली राजमार्ग ।
यस्तो छ तथ्याङ्क
कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्ला तीन आर्थिक वर्ष ( २०७९-०८० देखि०८२-०८३)को साउनसम्म कर्णाली राजमार्गमा ६ सय १७ वटा सवारी दुर्घटना भएका छन् । जसबाट १ सय ४४ जनाको मृत्यू भएको छ भने, ८ सय ९२ जना घाइते भएका छन् । तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा सबैभन्दा बढी आर्थिक वर्ष ०८१-०८२ मा २ सय ३३ दुर्घटना हुँदा ९५ जनाको मृत्यू र २ सय ५५ जना घाइते भएका छन् । त्यस्तै आर्थिक वर्ष ०७९-८० मा १ सय २७ दुर्घटनामा ३३ जनाको मृत्यू र २ सय २३ जना घाइते भए । ०८०-०८१ मा २ सय ३६ वटा दुर्घटनामा १४ जनाको मृत्यू र ३ सय ६४ जना घाइते भए । चालु आर्थिक वर्षको साउनसम्म २१ वटा दुर्घटना २ जनाको मृत्यू र ५० जना घाइते भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क रहेको छ ।
आठ वर्षमा ८ सय ९७ जनाको मृत्यू
ट्राफिक प्रहरी कार्यालय सुर्खेतको तथ्यांकअनुसार आर्थिक वर्ष०७१-०७२ मा भएका १ सय ३० सवारी दुर्घटनामा १ सय ३९ जनाको मृत्यु भएको थियो । त्यो वर्ष१ सय ७२ जना गम्भीर घाइते भएका थिए।०७२-०७३ मा ७६ वटा सवारी दुघर्टना हुँदा ५६ जनाको ज्यान गयो भने ६५ जना गम्भीर घाइते भए । ०७३-०७४ मा १ सय १ वटा सवारी दुर्घटना भए । ती दुर्घटनामा परी १ सय १७ जनाले ज्यान गुमाए भने १सय ५३ जना गम्भीर घाइते भए । ०७४-०७५ मा भएका ८८ वटा सडक दुर्घटनामा ९१ जनाको मृत्यु भयो । ती दुर्घटनामा परी १ सय २० जना गम्भीर घाइते भए ।
०७५-०७६ मा १ सय ४६ वटा सवारी दुर्घटना भए। दुर्घटनामा १ सय १९ जनाको ज्यान गयो भने १सय ५० जना गम्भीर घाइते भए । ०७६-०७७ मा यस राजमार्गमा २ सय ३६ वटा सवारी दुर्घटना हुँदा ९७ जनाको मृत्यु भयो। उक्त वर्ष १ सय ३१ जना गम्भीर घाइते भए ।
०७७-०७८ मा भएका २ सय ९१ वटा सवारी दुर्घटनामा परी ९८ जनाको ज्यान गयो भने १ सय ६९ जना गम्भीर घाइते भए । ०७८-०७९ मा सबैभन्दा धेरै ४ सय ३ वटा सवारी दुघर्टना भए । ती दुर्घटनामा परी १ सय ८० जनाको मृत्यु भयो भने ३ सय ६२ जना गम्भीर घाइते भए । यो आठ वर्षमा ८ सय ९७ जनाको यहि राजमार्गमा मृत्यू भएको छ ।
साँघुरा र अप्ठ्यारा सडक, क्षमताभन्दा बढी यात्रु, पुराना गाडी, ट्राफिक नियमको बेवास्ता लगायत कारण राजमार्गमा दुर्घटना बढिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी माधव श्रेष्ठ बताउँछन् । ‘कर्णालीको भूगोल आफैंमा कठिन छ । सडक पनि जीर्ण हुँदा दुर्घटना रोक्ने चुनौती छ,’ डिआइजी श्रेष्ठले भने, ‘ट्राफिक नियमको उल्लङ्घन रतीव्र गतिका कारण दुर्घटना बढेको हाम्रो तथ्याङ्कले देखाएको छ ।’ सडक सुरक्षाका लागि जनचेतना र सडकको अवस्था सुधारमा तत्काल ध्यान नदिए यसको स्वरुप बिकराल हुने उनले बताए ।
‘फर्किएला जस्तो त कहिल्यै पनि लाग्दैन’
कर्णाली प्रदेश ००२००१ ख ०६८४ नम्बरको बसका चालक हुन् भरत कुमार डाँगी। वीरेन्द्रनगर–११ सुब्बाकुनाका ४३ वर्षीय उनी कर्णाली राजमार्गमा २०५८ सालदेखि नै सुर्खेतदेखि मुगुसम्म गाडी चलाउँछन् । कर्णाली राजमार्गमा बस चलाउन लागेको २३ वर्षमा उनले कहिले बाढी र पहिरोका कारण त कहिले सडकका कारण भौकै बसेर पाएका कष्ट थुप्रै छन् । यो राजमार्गमा गाडी चलाउन उनको रहर नभएर बाध्यता हो।अन्य ठाउँमा सहजै यातायातका साधनको पहुँच छ । त्यहाँ कडा प्रतिस्पर्धा हुन्छ । तर, कर्णाली राजमार्गमा कम यातायातको पहुँच छ। उनको व्यवसाय पनि त्यहिँबाट चल्छ । त्यसैले उनी२३ वर्षदेखि जोखिम मोलेरै यो राजमार्गमा बस चलाइरहेका छन्।भरत सुर्खेतको काँक्रेबिहार यातायात व्यवसायी संघको बसमा चाललक हुन् । वीरेन्द्रनगरबाट जान दुई दिन र फर्कन दुई दिन गरेर चार दिनको समय लाग्छ । दुई दिन उनको छुट्टी हुन्छ । फेरि सात दिनमा उनको पालो आउँछ । यात्रामा निस्कँदा उनी चिन्तित हुन्छन् । बर्खाको बाटो साँघुरा एकतर्फी सडक छन् । ठाउँ–ठाउँमा बाढी र पहिरोको बितण्डा । फर्केर आइँदैनकी भन्ने डर भए पनि जीविका चलाउनका लागि गाडी चलाउनुपर्ने बाध्यता रहेको भरत बताउँछन् । ‘भोलि जाने पालो छ भने आज रातिबाटै मनमा अनेक कुराहरू खेल्छन् । रातभर निन्द्रा नै लाग्दैन,’ उनले भने, ‘जब बसपार्कबाट यात्रुहरू हालेर यात्रामा निस्केपछि लाग्छ फर्केर आइँदैन की ! सुर्खेत फर्केपछि मात्रै ढुक्क भइन्छ ।’ बाटोको अवस्था बिग्रेका कारण हिउँदाभन्दा बर्खामा झनै समस्या हुने गरेको उनी सुनाउँछन् ।
‘म त्यो बाटो भर्खर बनाउने बेलादेखि हिँडेको छु । पहिला त खोलामा काठका पुल हुन्थे। बाटो साँघुरो छ । खाल्डाखुल्डी बढी छन् । गाडी मोड्ने ठाउँ पनि हुँदैन,’ डाँगी भन्छन्, ‘हिउँदमा धुलो हुन्छ । तर, वर्षमा कतिबेला कहाँबाट पहिरोले आएर लिन्छ भन्ने चिन्ता हुन्छ । कति पटक त पहिरोले बाटो थुन्दा दुई तीन रात खोलाको पानी खाएर भोकै बसेको पनि छु ।’ असुरक्षित सडक संरचना, सडक नियमित रूपमा मर्मत नगरिनु, प्राकृतिक विपत्ति, ओभरलोड जस्ता समस्याले यो राजमार्गमा वर्षेनी दुर्घटना बढी हुन्छन् । यात्रा गर्दा आफ्ना देवीदेवता पुकार्ने र बाटोमा हिँड्दा देउराली र मन्दिरहरुमा भगवानसँग सफल यात्राको माग गर्दै हिँड्ने गरेको अर्का बस चालक कमल थापाले बताए ।
‘अधिकांश धेरै ठाउँमा एकतर्फी मात्र गाडी पास गर्न सकिन्छ । अत्याधिक उकालो, ओरालो र घुम्तीहरू छन् । कुनबेला के हुन्छ भन्नै सकिदैन,’ थापाले भने, ‘त्यसैले पनि यात्रा गर्नुपूर्व घरका देवीदेवता र यात्रा गरिसकेपछि विभिन्न मन्दिर र देउरालीमा रक्षा गरे प्रभु भन्दै हिँड्ने गरेको छु ।’ थापा पनि सुर्खेत–मुगुसम्म (२९४) किलोमिटरमा बस चलाउँछन् । ठुला गाडीमा मान्छे नबस्दा कहिल्यै रित्तै आउनुपर्ने बाध्यता रहेको उनले सुनाए ।‘मान्छे साना गाडीमा बस्न रुचाउँछन् । ठूला गाडीमा त धेरै सामान हुनेहरू मात्रै बस्छन् । कहिल्यै त रित्तै आउनुपर्छ,’ उनले भने, ‘आँखै अगाडि गाडी पल्टिन्छन् । त्यो देखेको बेला त लाग्छ, कस्तो पेशा रोजेछु ! गाडीभरी मान्छे ल्याएपछि साहुले पनि खुसीले भत्ता दिन्छ । के गर्ने? जीविका चलाउनका लागि गर्नैपर्यो ।’गाडी चलाउन लागेको १४ वर्षसम्म ढुक्कले कुनै दिन पनि गाडी चलाउन नपाएको उनको भनाइ छ । विभिन्न बाध्यता र समस्याका कारण गाडीमा क्षमताभन्दा बढी यात्रुहरु हाल्नुपर्ने बाध्यता रहेको फोर्स गाडीका चालक राजीव भण्डारीले बताए । ‘हामीलाई पनि गाडीमा ठिक्क मान्छे राखेर सुरक्षित हिँड्ने मन त हुन्छ नि ! तर, मान्छे कम ल्याएपछि साहुले किन कम मान्छे ल्याएको? अर्को गाडीले त्यति धेरै ल्याउँदा के हेरेर बसेको भन्छन् । बढी ल्याएपछि साहु पनि खुसी, यता चिट काट्न पाएपछि प्रहरी पनि खुसी,’ उनले भने, ‘मान्छे नल्याएपछि त साहुले भत्ता पनि दिन लोभ मान्छन् ।’
करोडौं खर्च गर्दा पनि सुध्रियन सडक
कर्णाली राजमार्ग सडक मर्मतका नाममा वर्षेनी करोडौँ रुपैयाँ खर्च हुने गरेपनि सडकको अवस्था भने उस्तै रहेको छ । मर्मत तथा सम्भारका नाममा बजेट आउने भए पनि भत्केको ठाउँमा सामान्य मर्मत गरेर बजेट मात्र सक्ने परिपाटीका कारण यो सडकले स्वरुप नफेरिएको हो । आर्थिक वर्ष २०७७-०७८ मा कर्णाली राजमार्गको मर्मतका लागि झन्डै १६ करोड बजेट खर्च भएको थियो भने आर्थिक वर्ष २०७८÷८९ मा २६ करोड बजेट खर्च आर्थिक वर्ष २०७९-८० सोही हाराहारीमा बजेट खर्च भएको थियो ।
सडक विभागले राजमार्गका विभिन्न १४ वटा पुल निर्माणमा १ अर्ब १३ करोड खर्च गरेको छ भने ओटासिल प्रविधिको कालोपत्र गर्न र सेफ्टी बारसहित पर्खाल निर्माणका लागि विश्व बैंकको करिब २ अर्ब रुपैयाँ खर्च भइसकेको छ । राजमार्ग खुलेयता कालोपत्र र पर्खालबाहेक बर्सेनी १० देखि ४० करोड रुपैयाँसम्म खर्च भएको सडक विभागको तथ्यांक छ । तर राजमार्ग खुलेदेखि अहिलेसम्म राजमार्गमा कुल कति खर्च भयो भन्नेबारे तथ्यांक विभागसँग छैन ।
सरकारले विश्व बैंकको सहयोगमा सुर्खेतबाट दैलेखको खिड्कीज्युलासम्म १ सय २६ र खिड्कीज्युलादेखि जुम्लासम्म १ सय ७ किलोमिटर ओटासिल प्रविधिको कालोपत्रे गरेको थियो । तर, पाँच वर्षमै सडकको करिब ९५ प्रतिशत भागमा कालोपत्रे उप्कियो । २ सय ३२ किलोमिटर लामो यो राजमार्ग गुणस्तर र सुविधाका दृष्टिले एकदमै कमजोर छ । रारासम्म पुग्ने पर्यटकहरु समेत यहि राजमार्गको सास्तीले अर्को पटक फर्केर आउन चाहँदैनन् ।
ठेकेदारको ढिलासुस्ती, अनुगमनको कमी, कमसल निर्माण सामग्रीको प्रयोग लगायतका कारण राजमार्ग झन् झन् जीर्ण बनिरहेको इन्जिनियर पदमबहादुर केसीले बताए । ‘झन्डै ८० प्रतिशत कालोपत्र उप्किएपछि पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने भएकाले यो राजमार्गमा यात्रु हिँड्नै चाहँदैनन्,’ उनले भने, ‘ठेकेदारको लापरबाही, कमसल निर्माण सामग्रीको प्रयोगले यो सडक दिनहुँ दिन जीर्ण बन्दै गएको छ ।’ पुरानो डिजाइन्मा ट्रयाक खोलका कारण अहिलेको मापदण्ड अनुसार राजमार्ग नरहेको इन्जिनियर केसीको भनाई छ ।
सदनदेखि अदालतसम्म
सरकारले कर्णाली राजमार्गको स्तरोन्नतिमा बेवास्ता गरेको भन्दै ०८० भदौ १९ मा जुम्लाकी पूर्व प्रतिनिधि सभा सांसद विनीता कठायतले प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्तत्वको प्रस्ताव दर्ता गरेकी थिइन् । त्यस्तै, कर्णाली राजमार्गमा बढ्दो सवारी साधन दुर्घटनाको रोकथाम तथा न्यूनीकरणका लागि इन्सेकको अगुवाइमा ०८० वैशाख २५ गते उच्च अदालत सुर्खेतमा रिट दर्ता गरिएको थियो । ०८१ वैशाख १८ गते विपक्षीहरुका नाममा सडक सुरक्षालाई ध्यान दिई समस्या समाधान गर्न अन्तरिम आदेश जारी गरेको थियो । तरपनि कर्णाली राजमार्गले मुहार फेर्ने सकेको छैन ।

जगतदल जनाला विक । १७ मंसिर २०८२, मंगलवार ०९:२२