इन्सेकले आफ्नो पालिकामा कार्यक्रम ल्याएकाेमा खुशी छु :कार्यवाहक अध्यक्ष जोल्मी

सुर्खेत : बराहताल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तथा गाउँपालिकाका कार्यवाहक अध्यक्ष धिमराज जोल्मी मगरले इन्सेकले बाल अधिकार सम्बन्धी कार्यक्रम आफ्नो पालिकामा ल्याएकोमा खुशी व्यक्त गरेका छन् । बाल अधिकार समूहका सदस्यका लागि बराहताल गाउँपालिकामा आयोजित बाल अधिकार शिविरको उद्घाटन सत्रमा बोल्दै कार्यवाहक अध्यक्ष जोल्मीले सुर्खेत जिल्लामा बराहताल गाउँपालिका पनि छनोट गरेकोमा इन्सेकलाई धन्यबाद दिए ।

कार्यक्रममा बोल्दै जोल्मीले दुई दिने शिविरमा हाम्रा बालबालिकाले प्रस्तुत विषयवस्तुको गहिराइमा गएर बुझेर, आफ्नो विद्यालय हुँदै समाजमा आफूले सिकेका कुरा अरूलाई पनि सिकाउने विश्वास व्यक्त गरे ।
यस्तै अधिकारका कुरा मात्र नसिकाउन र बढी भन्दा बढी कर्तव्य सिकाउन सहजकर्तालाई अनुराेध गरे ।

कार्यक्रममा बोल्दै सूर्यज्योति मा.विका प्राध्यापक केशर बहादुर गौतमले क्षमता अभवृद्धिका लागि आफ्नो विद्यालय छनोट गर्नु भएकोमा संस्थालाई धन्यवाद दिँदै दुईदिने तालिममा अधिकार र कर्तव्यका कुरा सिकेर अरु लाई सिकाउने विश्वास व्यक्त गरे ।  साथै, यहाँका समस्याहरूलाई पहिचान गरी समस्या समाधान तिर लाग्नुहुने छ भन्ने अपेक्षा व्यक्त गरे । यस्तै राज्यले धेरै मौलिक हक व्यवस्था गरेको बारे धेरैलाई जानकारी नभएको र यिनै बालबालिका मार्फत जानकारी हुने बताए । यस्तै कार्यक्रममा बोल्दै मानव अधिकार समुह संयोजक तिलक मर्स्याङ्गी मगरले बालबालिका भनेका भोलिका नेतृत्वमा पुग्ने व्यक्ति हुन र यस कार्यक्रमले समाज रूपान्तरण गर्ने अवसर पनि प्रदान गरेको बताए ।  यस्तै कार्यक्रममा बोल्दै जनज्योति माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन नेपालीले इन्सेकले देशभरीमा ५६ विद्यालयका बालबालिकाको नेतृत्व विकासको लागि कार्यक्रम ल्याएर अधिकारका कुरा सिकाउनु भनेको बालबालिकाका लागि धेरै महत्वपूर्ण पक्ष भएकोमा इन्सेकलाई धन्यबाद व्यक्त गरे ।

शिविर उदघाटन सत्रमा इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बाल अधिकार समूहका सदस्यहरूको क्षमता अभिवृद्धि गराई अभियान संचालन गर्न सक्षम बनाउने उद्देश्यले बाल अधिकार सचेतना शिविर संचालन गरिएको बताए । समुदायमा रहेको शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, महिला अधिकार र जातीय विभेदका विषयमा बाल अधिकार समूहका सदस्यलाई सचेत पार्दै समस्या समाधानका लागि कार्ययोजना बनाउने संयोजक सुवेदीले जानकारी दिए । दुई दिन संचालन भएको शिविरमा इन्सेक अभियान, बाल अधिकारको एतिहासिक विकासक्रम, बाल अधिकार, बालजिम्मेवारी र अभिभावक र शिक्षकको दायित्व, बालबालिका सम्बन्धी ऐन २०४८, लैंगिक हिंसा, महिला तथा विभेद विरुद्धको अधिकार, वातावरण संरक्षण, भित्ते पत्रिका प्रकाशन, कार्ययोजना निर्माण लगायतका विषयमा इन्सेकका प्रदेश संयोजक नारायण सुवेदी, कार्यक्रम अधिकृत परिस्कृत पौडेल, ईलपी परियोजनाका फोकल पर्सन दुर्गा थापा, परियोजना सहजकर्ता ललिता विश्वकर्मा ओड र जनज्योति मावि विद्यालयका तालिम संयोजक सुरेन्द्रबहादुर रावत लगायतले सहजीकरण गरृका थिए ।

बाल अधिकार सचेतना शिविर मङ्सिर २९ र पौष १ गते संचालन भएको हो । बराहताल गाउँपालिकामा जनज्योति मावि बड्डीचाैर, सुर्यज्याेती मावि लामाखालीमा गठन गरिएको बाल अधिकार समूहका २६ जना बालबालिका सचेतना शिविरमा सहभागी भएका थिए । शिविरको उद्घाटन सत्रमा दुबै विद्यायल व्यवस्थापन समितिका अध्यक्ष, प्रध्यानाध्यापक, विद्यालयका सह- प्रध्यानाध्यापक र मानव अधिकार समूहका संयोजकको समेत उपस्थिति रहेको थियो ।