प्रदेश सरकारको समर्थन फिर्ता लिन केन्द्रले दवाव दिँदैन : एमाले उपाध्यक्ष पौडेल

सुर्खेत: कर्णाली प्रदेश सरकारमा रहेका आफ्ना मुख्यमन्त्री तथा मन्त्रीहरुलाई छाड्न कुनै निर्देशन नदिने नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताएका छन् । आइतबार अछाम जाने क्रममा सुर्खेत विमास्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले सरकारमा रहने वा बाहिरिने भन्ने विषयमा प्रदेशकै अधिकार रहेको बताएका हुन् ।
‘सरकारमा रहने की बाहिरिने भन्ने कुरा सरकारमा नेतृत्व गरेका मुख्यमन्त्रीहरुकै व्यवहारमा भरपर्छ,’ पौडेलले भने, ‘केन्द्रमा समिकरण बदलियो भन्दैमा प्रदेशमा समिकरण बदलिहाल्नु पर्छ भन्ने मनसायमा पार्टीको केन्द्रीय नेतृत्व छैन् ।’ पौडेलले अन्य प्रदेशमा पनि एमालेबाट मुख्यमन्त्री र मन्त्री बनेकाहरुलाई सरकार छाड वा राजिनामा दिनुपर्छ भनेर कुनै निर्देशन नगर्ने स्पष्ट पारे । ‘समिकरण कायम रहन्छ वा रहदैन् भन्ने प्रदेशमै रहेका एमालेको नेतृत्वमा निर्भर रहन्छ । यसमा केन्द्रको कुनै हस्तक्षेप र परिपत्र गरिदैन,’ पौडेलले भने ।
समस्या समाधानभन्दा पनि देशमा कस्ता खालका समस्या छन् भन्ने जानकारी नै अहिलेको गठबन्धनलाई नभएको आरोप पौडेलको छ । उनले देशको अर्थतन्त्र निराशाजन अवस्था पुग्दा पनि देशले यतिका समयसम्म अर्थमन्त्री नै नपाउनु दुभाग्य भएको बताए । ‘सरकारले राम्रा काम गर्ला भनेर आशा गर्ने ठाउँ छैन्,’ पौडेलले भने, ‘प्रतिपक्षमा रहेर सडक र सदनबाट जनताका समस्याहरु बुलन्द रुपमा उठान गर्ने र आगामी निर्वाचनका लागि एकल बहुमत निर्माण गर्नेगरी जनता माझ पुग्न मिसन ग्रासरुटमा होमिएका छौं ।’
प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकार पदहरुको बटुवारा रहेको पुष्टी गरिसकेको आरोप पौडलेको छ । ‘सरकारमा पुग्ने र सरकारमा टिक्ने, जिम्मेवारीहरुको बटुवारा गर्नमै अहिलेको गठबन्धन केन्द्रित रहेको छ,’ पौडेलले भने, ‘देशमा अन्य शक्ति राष्ट्रहरुको चलखेल बढेको छ । नेपाल र नेपालीको हितका लागि काम गर्ने आँट र सामर्थ्य अहिलेको सरकारसँग छैन् ।’