
सुर्खेत: स्थानीय तहमा कर्मचारी व्यवस्थापन, सेवा प्रवाह तथा स्थायी नियुक्ति सम्बन्धी समस्याहरू चुलिँदो रहेका बेला गाउपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिक संघ कर्णाली प्रदेश समितिले संयुक्तरूपमा कर्णालीका सबै स्थानीय सरकारहरूसँग ठोस कार्यान्वयनका लागि ५ बुँदे सुझावसहितको पत्र सार्वजनिक गरेका छन् ।
गाउँ तथा नगरपालिकाहरूमा स्थायी नियुक्तिको प्रक्रिया अन्योलमा रहेकाले कर्मचारीको मनोबल कमजोर हुँदै गएको र सेवा प्रवाह प्रभावित भएको उल्लेख गर्दै, उक्त पत्रमा स्थानीय सेवा ऐन, २०७९ को कार्यान्वयन गर्दा देखिएका व्यवहारिक समस्याहरूको समाधान गर्न आह्वान गरिएको छ ।
संघीय संरचनाअनुसार स्थानी तहमा कर्मचारी व्यवस्थापन स्पष्ट नहुँदा धेरै पालिकामा दरबन्दीअनुसार पदपूर्ति हुन नसकेको, सेवा सुविधा तथा कामको स्पष्टता नहुँदा सेवा प्रवाह प्रभावित भएको पत्रमा उल्लेख गरिएको छ।
संयुक्तरूपमा जारी गरिएको पत्रमा निम्न ५ प्रमुख सुझावहरू समेटिएका छन्:
१. ऐनको धारा १५ ले उल्लेख गरेअनुसार स्थानीय तहमा नियुक्तिका लागि स्पष्ट प्रक्रिया र प्रणाली विकास गरी अविलम्ब कार्यान्वयन गर्नुपर्ने।
२. धारा ९ को उपधारा १२ अनुसार कम्प्युटर अपरेटर, कार्यालय सहयोगी, ड्राइभर, प्लम्बर लगायत प्राविधिक पदहरूमा न्यूनतम योग्यता निर्धारण गरी आवश्यक कर्मचारी भर्ना प्रक्रिया अघि बढाउनुपर्ने।
३. स्वास्थ्य क्षेत्रका रिक्त पदहरू पूर्ति तथा कार्यान्वयन जिम्मेवारी स्पष्ट गर्न प्रदेश लोकसेवा आयोगमार्फत पदपूर्ति गर्नुपर्ने।
४. आवश्यकता अनुसार स्थानीय तह स्वयंले कर्मचारी नियुक्ति गर्न सक्ने अधिकार सुनिश्चित गर्नुपर्ने।
५. स्थानीय तहको जनशक्ति अभाव पूर्ति गर्न समन्वयकारी संयन्त्रमार्फत दरबन्दी, O&M स्वीकृति तथा अन्य कानुनी सहजीकरण गरिनुपर्ने।

पत्रमा भनिएको छ, “स्थानीय सेवा ऐन २०७९ मा व्यवस्था भएअनुसार पालिकाले कर्मचारी व्यवस्थापनको अधिकार पाएका भए पनि यसको कार्यान्वयन अपारदर्शी र अलमलिएको छ, जसले गर्दा सेवा प्रवाह अवरुद्ध भएको अवस्था सिर्जना भएको छ।”
संघीयता कार्यान्वयनका लागि स्थानीय तहलाई पूर्ण अधिकार सम्पन्न बनाइनुपर्ने भन्दै संघीय सरकार, प्रदेश सरकार र सम्बन्धित निकायलाई समेत सहकार्य गर्न महासंघ तथा संघले आग्रह गरेका छन्।
पत्रमा गाउपालिका राष्ट्रिय महासंघ नेपाल कर्णाली प्रदेश अध्यक्ष निमबहादुर केसी, नेपाल नगरपालिक संघ प्रदेश संयोजक हरि पुन लगायतका पदाधिकारीहरूको हस्ताक्षर रहेको छ।

जितबहादुर तिरुवा । ११ श्रावण २०८२, शनिबार ०७:५२