सल्यानमा जिप दुर्घटना हुँदा पाँच घाइते

सुर्खेत : सल्यानमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सोमबार दिउँसो राप्ती लोकमार्ग अन्तर्गत छत्रेश्वरी गाउँपालिका–६ कल्लेखोला मोडमा दुर्घटना भएको हो । सल्यानको फलाबाङबाट श्रीनगर आउँदै गरेको लु १ ज ९७२७ नम्बरको डबलक्याप जिप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिए ।
उनका अनुसार सल्यान शारदा नगरपालिका –१२ अम्रई टाकुराकी ५८ वर्षीया गोमा बोहरा, २९ वर्षीय सागर बोहरा, ३८ वर्षीया कमला बुढाथोकी ३३ वर्षीय गोविन्द बोहरा र ४३ वर्षीय गोपिलाल बोहरा घाइते भएका छन् । घाइते सबै यात्रुहरुको सल्यानको श्रीनगर स्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी खनालले बताए ।
घाइतेहरुमध्ये गोमाको अवस्था गम्भीर रहेको छ, भने अन्यको अवस्था सामान्य रहेको खनालले बताए ।
जिप अनियन्त्रित भइ भित्तामा ठोक्किएर सडकमा नै पल्टिएको थियो । जिप चालक शारदा नगरपालिका–१२ का राजेश बोहरा फरार रहेको र उनको खोजी कार्यमा प्रहरी जुटिरहेको छ ।