सुर्खेतमा iCAUR V23 सार्वजनिक, कर्णालीमा प्रिमियम इलेक्ट्रिक एसयूभीको प्रवेश


सुर्खेत: कर्णाली प्रदेशमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यसहित नयाँ पुस्ताको इलेक्ट्रिक एसयूभी iCAUR V23 सुर्खेतमा सार्वजनिक गरिएको छ। कर्णालीका लागि iCAUR सवारी साधनको आधिकारिक बिक्रेता स्वर्णिम बिजनेस कन्सर्न प्रा. लि. ले उक्त गाडी बजारमा ल्याएको हो।
सार्वजनिक कार्यक्रम स्वर्णिम बिजनेस कन्सर्न प्रा. लि. को आयोजनामा सम्पन्न भएको थियो। कार्यक्रममा कर्णाली अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष भद्र भण्डारी, स्वर्णिम बिजनेस कन्सर्नका महा–निर्देशक सैयद अनवर अली, निर्देशकहरू सोमराज थापा र रोशन सोब, एसपीजी अटोमोबाइल्स प्रा. लि. का प्रतिनिधि, स्थानीय सञ्चारकर्मी तथा उपभोक्ताहरूको उपस्थिति रहेको थियो।
कम्पनीका अनुसार iCAUR V23 कर्णालीको भौगोलिक अवस्था र आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको पूर्ण विद्युतीय एसयूभी हो। रेट्रो शैलीको बक्सी डिजाइन, उच्च ग्राउन्ड क्लियरेन्स र आधुनिक प्रविधिको संयोजनले यसलाई शहर र अफ–रोड दुवैका लागि उपयुक्त बनाएको छ।
४९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको यस गाडीमा ५९.९३ किलोवाट आवर क्षमताको LFP ब्याट्री र १०० किलोवाट मोटर जडान गरिएको छ। एक पटक पूर्ण चार्ज गरेपछि गाडीले ४०१ किलोमिटर (CLTC) सम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ। २१० एमएम ग्राउन्ड क्लियरेन्स र क्लासिक गोलो हेडलाइटले गाडीलाई थप आकर्षक बनाएको छ।
सुविधाका हिसाबले iCAUR V23 मा १५.६ इन्चको ठूलो इन्फोटेनमेन्ट डिस्प्ले, लेभल–२ एडास (ADAS), ASEAN NCAP ५–स्टार सुरक्षा मापदण्ड, बहु–एयरब्याग लगायतका सुरक्षा फिचर समावेश छन्। पछाडिको सिट फोल्ड गर्दा ७४४ लिटरसम्मको ट्रंक स्पेस उपलब्ध हुने जनाइएको छ।
प्रिमियम लाइफस्टाइल सेग्मेन्टलाई लक्षित गर्दै ल्याइएको iCAUR V23 को डेलिभरी प्रक्रिया प्रि–बुकिङ गरेका ग्राहकहरूका लागि चाँडै सुरु गरिने कम्पनीले जनाएको छ। टेस्ट ड्राइभ तथा थप जानकारीका लागि OMODA & JAECOO शोरूम मा सम्पर्क गर्न सकिनेछ।