कर्णालीमा पहिलोपटक रिङ्ग रेस्लिङ्ग हुँदै

सुर्खेत: कर्णाली प्रदेशमा पहिलो पटक रिङ्ग रेस्लिङ्ग महाभिडन्त हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा आगामी जेठ १३ गते वीरेन्द्रनगरमा प्रतियोगिता हुने भएको हो ।
७२ औँ मदन जयन्तीको अवसरमा प्रतियोगिता गर्न लागिएको मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रीय उपाध्यक्ष तेज विक्रम बस्नेतले जानकारी दिए ।
‘कर्णालीमा पहिलोपल्ट रेस्लिङ्ग प्रतियोगिता हुन लागेको छ । यहाँको खेलकुद, पर्यटनलाई ध्यानमा राखेर हामीले जेठ १३ मा आयोजना गर्न लागेका हौं,’उपाध्यक्ष बस्नेतले भने ।
रेस्लिङ्ग प्रतियोगिताले आगामी वर्ष कर्णालीमा हुन लागेको १० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत टेवा पुर्याउने कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले बताए ।
सोमवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता बारे जानकारी दिइएको हो । महिला र पुरुष गरी २५ जना खेलाडी सहभागी हुने प्रतियोगितामा विजेता लाईटवेट, ट्याग टिम च्याम्पियनले ५०÷५० हजार रुपैयाँपाउने छन् भने महिला तर्फ लेडिजवेट च्याम्पीयनले ६० हजार, मिडल वेट च्याम्पियनले ७० हजार, हार्डकोडर च्याम्पियनले ७५ हजार र हेभिवेट च्याम्पियनले एक लाख ५ हजार नगद पाउने छन् । भने सबै विजेताले मेडल, प्रमाणपत्र र च्याम्पियन बेल्ट पाउने छन् । प्रतियोगिताका लागि १२ लाख रुपैयाँसम्म खर्च हुने आयोजक संस्था मदन भण्डारी स्पोर्टस एकेडेकीले जनाएको छ ।