गुर्भाकोट र लेकवेसीमा मानव अधिकार समन्वय समिति गठन

सुर्खेत: इन्सेक कर्णाली प्रदेश कार्यालयले जिल्ला समन्वय समिति, सुर्खेतसँगको समन्वयमा बुधबार आयोजना गरेको मानव अधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन विषयक छलफल कार्यक्रमबाट सुर्खेत जिल्लाको गुर्भाकोट र लेकवेसी नगरपालिकामा स्थानीय तह समन्वय समिति गठन भएको छ ।
गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनको संयोजकत्वमा मानव अधिकारसम्बन्धी स्थानीय तह समन्वय समिति गठन भएको गुर्भाकोट नगरपालिकाले जानकारी दिएको छ । समितिका अन्य सदस्यमा नगर उप्रमुख, १४ वटै वडाका वडाअध्यक्ष, सुरक्षा निकायका प्रमुख, सम्बन्धीत विषय हेर्ने शाखा अधिकृत रहने गरी समिति गठन भएको गुर्भाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिए ।
संयोजकले तोकेका एक जना महिलासहित नागरिक समाजका तीन जना प्रतिनिधि समितिको आगामी बैठकले निर्णय गरिने गुर्भाकोट नगरपालिका समन्वय समितिका संयोजक हस्त पुनले प्रतिवद्धता जनाए ।
यसैगरी लेकवेशी नपामा नगर प्रमुख उमेश कुमार पौडेलको संयोजकत्वमा स्थानीय तह समन्वय समिति गठन भएको छ । समितिका अन्य सदस्यमा नगर उप्रमुख, १० वटै वडाका वडाअध्यक्ष, सुरक्षा निकायका प्रमुख, सम्बन्धीत विषय हेर्ने शाखा अधिकृत रहने गरी समिति गठन भएको लेकवेशी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमलाल लामिछानेले जानकारी दिए ।
संयोजकले तोकेका एक जना महिलासहित नागरिक समाजका तीन जना प्रतिनिधि पूर्णता समितिको आगामी बैठकले निर्णय गरिने लेकवेसी नगरपालिका समन्वय समितिका संयोजक उमेश कुमार पौडेलले प्रतिवद्धता जनाए ।


कार्यक्रममा जिल्ला समन्वय समिति, सुर्खेतका प्रमुख गंगाराम सुनारले मानव अधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजनाको सोच र उद्देश्य अनुसार स्थानीय तहले कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।
यस कार्ययोजना कार्यान्वयन गर्ने सवालमा संघ, प्रदेश र स्थानीय तीनै तहबाट सम्पन्न गरिने विकासका कार्यहरू अधिकारमा आधारित अवधारणा अनुरुप कार्यान्वयन गनुपर्ने समन्वय प्रमुख सुनारले सुझाव दिए ।
इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले पाँचौं राष्ट्रिय कार्ययोजनाको पृष्ठभूमि, दिर्घकालीन सोच, प्रमुख उद्देश्य, रणनीति, कार्ययोजनाले समेटिएका विषय, कार्ययोजना कार्यान्वयन, समन्वय र अनुगमन, कार्ययोजना कार्यन्वयनमा सम्बद्ध निकायको भूमिका, जिम्मेवार निकाय, कार्ययोजना समन्वय संयन्त्र, अपेक्षित उपलब्धि लगायतका विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा नगर उपप्रमुख, जिल्ला समन्वय समिति सुर्खेतका समन्वय अधिकारी पीताम्बर पाण्डे, मानव अधिकार रक्षक सञ्जालका प्रदेश संयोजक पीताम्बर ढकाल, मानव अधिकारका लागि महिला एकल महिला समूहका जिल्ला अध्यक्ष ममता नगाल, नागरिक समाजका प्रतिनिधि र नगरपालिकाको सम्बन्धीत शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।