सुर्खेत: बुधबार मानव बेचविखन तथा ओसारपसार विरुद्धको १७ औं राष्ट्रिय दिवस देशैभरी विभिन्न कार्यक्रम गरी मनाइएको छ । सुर्खेतमा पनि प्रभातफेरि र अन्तरक्रिया गरेर उक्त दिवस मनाइएको हो ।
आर्थिक सुचाङ्क र भौगोलिक विकटताले पछाडि परेको कर्णालीमा शिक्षा, स्वास्थ्य, सञ्चार र यातायातको सास्ती त छँदै छ । अपराधीक गतिविधिमा पनि त्यतिकै जोखिम कर्णालीलाई छ । पछिल्लो समय लागूऔषध दुव्र्यसनीको रुपमा प्रदेशको राजधानी समेत रहेको सुर्खेत पनि चर्चामा आएको छ । कर्णालीमा वर्षेनी शिक्षा, स्वास्थ्य र रोजगारीका नाममा कैयौं बालबालिका र महिलाहरु ओसारपसार र बेचबिखनको सिकार बन्छन् । तर, सुर्खेत प्रहरीसँग विगत तीन वर्षदेखि मानव बेचविखन र ओसारपसारका सातवटा मुद्दा मात्रै दर्ता भएका छन् । त्यो तथ्याङ्कबाट पनि मानव बेचविखनका मुद्दा प्रहरीसामु आउन नसकेको प्रष्ट देख्न सकिन्छ ।
मानिसले आफुलाई भएको अन्याय र पीडा बाहिर ल्याउन नचाहानुको मुख्य कारण नै मुद्दा दर्ताको संख्यामा कमी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एवं प्रहरी उपरिक्षक योगेन्द्र सिंह थापाले बताए ।
‘समाजमा बेचविखन र ओसारपसारका घटना त धेरै भइरहेका छन्, भन्ने कुरा बुझिन्छ । तर, त्यस्ता घटना प्रहरीसम्म त्यति आएको पाइँदैन,’उपरीक्षक थापाले भने, ‘सायद जनचेतना र कानुनी सचेतनाको अभाव भएर होला । हामीले प्रहरी साझेदारी कार्यक्रम मार्फत पनि त्यस्ता विभिन्न प्रकारका सचेतनामूलक कार्यक्रमहरु गदै आएका छौं ।’
मानव बेचविखन तथा ओसारपसारको मुख्य कारण बेरोजगारी र गरिबी भएको उपरीक्षक थापाले बताए ।
नेपालमा मानव बेचविखन तथा ओसारपसारको अवस्था दयनीय भएको र त्यसको प्रभाव कर्णालीमा रहेको भएपनि पीडितहरु नखुल्नाले पीडितले उन्मूक्ति पाउने खतरा बढेको उनको भनाई छ ।
उनका अनुसार सुर्खेतमा पछिल्लो तीन वर्षमा सात वटा मानव बेचविखन तथा ओसारपसार सम्बन्धीका मुद्दाहरु प्रहरीसँग आएका छन् । जसअनुसार आर्थिक वर्ष २०७६—०७७ मा एक, २०७७—०७८ मा एक, २०७८—०७९ मा दुई र २०७९—८० मा तीनवटा मुद्दाहरु आएका हुन् ।
मानव बेचबिखन तथा ओसारपसारका घटनामा राज्यले कडा कानुनको व्यवस्था गरेपनि पीडित नखुल्दा दोषीले उन्मूक्ति पाएको मानवबेचविखन, ओसारपसार नियन्त्रण समिति सुर्खेतका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले बताए ।
‘कसैले राम्रो रोजगारीको नाममा, शिक्षाको नाममा बालबालिका र महिलाहरुलाई बेचविखन तथा ओसारपसार गरिरहेका खबर यही समाजमा सुनिन्छ । तर, आफ्नो पीडा बाहिर ल्याएर कानुनी लडाईं लड्ने त औंलामा गनिने मात्रै हुन्छन्,’प्रमुख जिल्ला अधिकारी सापकोटाले भने, ‘यस मुख्य कारण गरिबी र अशिक्षा नै हो ।’
उनले २००७ सालभन्दा अघितिर नेपालमा पनि दास प्रथा रहेको भन्दै समाजलाई परिवर्तन गर्ने विषयमा नागरिक र राज्य दुबैको उत्तिकै दायित्व रहेको बताए ।
मानव अधिकार मानिसका लागि सर्बोच्च अधिकार रहेकोले कानुनी राज्यमा त्यसको रक्षा गर्नु राज्यको दायित्व रहेको उनकाे भनाई छ ।
मानव बेचबिखनका घटनाहरु बढिरहेपनि त्यसलाई बाहिर ल्याउन सचेतना नै आवश्यक रहेको जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले बताए ।
‘पीडितहरुको सानो सोचाई हुन्छ । आफुले जे भोगें भोगिहालें । बाहिर ल्याएर के नै हुन्छ भन्ने सोचाई समाजमा हावी भएको छ,’प्रमुख सुनारले भने, ‘आफुमाथि भएको पीडा बाहिर ल्याए समाज र परिवारको डरले पनि धेरै घटना लुकाइएका छन् । त्यसैले पहिलो कुरा सचेतनाको आवश्यक छ । त्यो राज्यले गर्न जरुरी छ ।’
समाजमा लुकेर रहेका घटनाहरु बाहिर ल्याई पीडकलाई कारबाहीको दायरामा ल्याउनु सबैको दायित्व रहेकोे प्रमुख सुनारको भनाई छ ।
त्यस्तै इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले मानव बेचविखनको जालो ठुलो हुनेभएकोले त्यसलाई तोड्न सरकारी तथा गैरसरकारी निकायको महत्वपुर्ण भूमिका रहने बताए ।
अशिक्षा र गरिबीको मौकामा बेचबिखन गर्नेहरुको समुहले राज्यलाई नै चुनौती दिने गरेको भन्दै त्यसका विरुद्ध एकजुट भएमात्रै मानवअधिकारको रक्षा हुने उनको भनाई छ । नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल र आवाज संस्था सुर्खेतकी प्रतिनिधि निसा पौडेलले दिवसका अवसरमा हुने कार्यक्रमसँगै अन्य कार्यक्रमहरु गर्न सरकारले विषेश नीति तथा कार्यक्रम ल्याउनुपर्नेम जोड दिए ।
दिवसको अवसर पारेर आवाज, इन्सेक र फेडोको समन्वय तथा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति सर्खेतले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा
सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला स्थित सरकारी कार्यालय, बालसमुह, किशोरी समुह, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । साथै आवाज संस्थाकाे आयोजनामा मंगलगढी चाेकमा मानव बेचविखन सम्बन्धी सचेतनामूलक सडक नाटक समेत देखाएको थियाे ।
जगतदल । २० भाद्र २०८०, बुधबार २२:४४