निजी क्षेत्र कमजोर भए, देश कमजोर हुन्छ : मन्त्री पाखरेल

सुर्खेत: कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलले निजी क्षेत्र कमजोर भए देश नै कमजोर हुने बताएका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको सातौं प्रदेश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले व्यवसायी धरासायी भए सरकारसँगै अन्य विषयहरु समेत कमजोर हुने बताए ।
‘कोरोना महामारी र पछिल्लो समयको आर्थिक मन्दीले गर्दा व्यवसायीलाई समस्या परेको छ । यसरी अर्थतन्त्रको प्रमुख स्रोत व्यवसायी नै अप्ठारोमा पर्दा देशको अर्थतन्त्र कसरी अगाडी बढ्न सक्छ,’उनले भने, ‘यहाँका कतिपय सटरहरु खाली छन् । धेरै व्यवसायी व्यापार छाडेर बाहिर गएका छन् ।’
मन्त्री पोखरेलले यहि अवस्था रहिरहे देशको अर्थतन्त्र माथि नउठ्ने भन्दै आर्थिक अवस्था सुधार गर्न सबैको समन्वय खाँचो रहेको बताए । उनले उद्योगी व्यवसायीका समस्या बारे प्रदेश सरकारले पनि केही योजना बनाइरहेको बताए ।
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. विनोद देवकोटा तीन खम्बे नीतिलाई सफल बनाउन निजी क्षेत्रको महत्वपुर्ण योगदान रहेपनि पछिल्लो समय व्यवसायीहरुमा मर्कामा परेको बताए ।
कर्णालीमा वन, जडीबुटी र पर्यटनको बढी सम्भावना रहेको भन्दै त्यसको विकासमा सरकारले पनि नीति तथा कार्यक्रम ल्याइरहेको बताए । उनले व्यवसायी र उद्योगीलाई सहज हुनेगरी नीति बनाउन तर्फ मन्त्रालय जुटिरहेको बताए ।
प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले उद्यम गर्ने थलोको रुपमा रहेको कर्णालीलाई व्यापारीक केन्द्रका रुपमा विकास गर्न आवश्यक रहेको बताए ।
व्यवसायीलाई समस्या पार्ने नीतिभन्दा पनि सहज हुनेगरी सरकारले नीति कार्यक्रम बनाउनुपर्ने उपाध्यक्ष शाहीले बताए । उनले कर्णालीमा लगानी भित्र्याउनेगरी नीति बनाउनुपर्नेमा जोड दिए ।
गाउँपालिका महासंघ कर्णाली प्रदेशका अध्यक्ष निमबहादुर केसीले निजी क्षेत्रसँग सहकार्य गरेर मात्रै देशको विकास हुने बताए । उनले आर्थिक गतिविधिलाई चलायमान बनाउन स्थानीय तह महासंघसँग समन्वय गर्न तयार रहेको बताए ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालले देशको अर्थतन्त्रमा विकास गर्न अहिलेको कार्यसमिति निरन्तर लागेको बताए । उनले कानुन बाझिएका कारण व्यवसायी धेरै समस्यामा रहेको बताउँदै वन लगायतका विषयमा बनेका कानुनलाई सरकारले परिमार्जन गर्नुपर्ने बताए ।
व्यवसायीलाई दिइने ऋणमा सहुलियत, व्यवसायीका उत्पादनलाई प्रोत्साहनमा सरकारले ध्यान दिनुपर्ने उपाध्यक्ष ढकालले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अर्का उपाध्यक्ष सुरकृष्ण वैद्यले शेयर र जग्गा कारोबारलाई अनुपात्पादन क्षेत्र तोकेपछि समस्या भएको बताए । उक्त विषयमा सरकारले हेरफेर गरेर सहज बनाउन अनुरोध गरे ।
बिमा नीति परिवर्तन गर्नुपर्नेमा भन्दै युवालाई उद्यममा जोड्नेगरी तीनै तहका सरकारले नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै व्यवसायीहरुको हकअधिकारका लागि एकतावद्ध भएर अगाडी बढ्नुपर्ने बताए ।


अहिलेको यो अवस्थामा व्यापार र व्यवसायीलाई बचाउन विशेष योजना बनाएर अघि बढ्नुपर्ने बताए । महासंघका प्रदेश कोषाध्यक्ष भानुभक्त बरालले यस वर्षको आयव्यय आगामी वर्षको प्रस्तावित आयव्ययको प्रस्तुत गरेका थिए । सबै जिल्ला उद्योग वाणिज्य संघको सहभागितामा महासंघले लघुकालिन प्राथमिकता, मध्यकालिन प्राथमिकता र दिर्घकालिन प्राथमिकता गरी तीन चरणमा कार्ययोजना समेत निर्माण गरेको छ । सोही अनुसार अगामी नीति तथा कार्यक्रमहरु गरिने महासंघले जनाएको छ । सभाको अवसरमा महासंघले कर्णाली प्रदेश उद्योग वाणिज्य संघ ‘बुलेटिन २०८०’ प्रकाशन समेत गरेको थियो । सभाको समापन उपाध्यक्ष हर्षविक्रम खड्काले गरेका थिए । कार्यक्रममा १० वटै जिल्लाका उद्योग वाणिज्य संघका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।