
सरकारको एक्लो प्रयासले मात्र मानवअधिकार संरक्षणमा पर्याप्त नहुने भएकोले प्रत्येक नागरिकले आफ्नो कर्तव्य पालन गर्दै मानवअधिकारको सम्मान गर्नुपर्नेमा उनको जोड थियो । मुख्यमन्त्री कँडेलले आफ्नो अधिकार उपभोग गर्दा अरूको अधिकार हननमा हेक्का राख्नुपर्ने चर्चा गर्दे अधिकारसँगै दायित्वको विषयमा पनि नागरिकलाई सचेत गराउनुपर्ने जोड दिए ।
उच्च अदालत सुर्खेतका कायम मुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा अदालतले समेत गम्भीर भएर काम गर्ने गरेकाे बताए । उनले मानव अधिकारकाे संरक्षण गर्नका लागि हरेक व्यक्ति, घर र समुदायकाे महत्त्वपूर्ण भूमिका रहने बताए ।
राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेशकुमार थापाले मानव अधिकारका सवालमा ध्यान दिन सबैकाे महत्त्वपूर्ण दायित्व रहेकाे बताए । उनले कर्णालीमा संक्रमणकालीन मानव अधिकार हननका मुद्दाहरुकाे अवस्था गम्भीर रहेकाे बताए । अब आउने आयाेगले थप उत्साह थपिएको उनकाे भनाइ छ ।
त्यस्तै मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयका सचिव आनन्द सारुले सरकारले ल्याउने नीति तथा कार्यक्रमदेखि दैनिकरुपमा गरिने सेवा प्रवाहमा समेत मानव अधिकारका सवाललाई प्राथमिकता दिँदै आएकाे बताए । सचिव सारुले कर्णाली प्रदेशमा बनेका ३८ ऐन र २२ नियमावली मानव अधिकारमैत्री भएको बताए।

उनले मानव अधिकारकाे संरक्षणमा विकसित राष्ट्रहरुकाे पछि-पछि नेपाल पुगेकाे दावी गरे । मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयाेजक पीताम्बर ढकालले मानव अधिकारकाे सवालमा काम गर्नका लागि संघीय कानुन आवश्यक रहेकाे भन्दै मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धि प्रदेशमा कानुन बनाउन आवश्यक रहेकाे औंल्याए । दलित महिला संघ (फेडाे)की सुर्खेत अध्यक्ष मञ्जु सुनारले सिमान्तकृत दलित समुदाय र दलित महिलाहरुकाे अधिकार संरक्षण गर्न तीनै तहका सरकारको महत्त्वपूर्ण भूमिका रहने बताइन् । त्यस्तै दलित अधिकारकर्मी वसन्त विश्वकर्माले कर्णालीमा २९ प्रतिशत बाहुल्यता रहेकाे दलित समुदायका लागि दलित ऐन ल्याउनुपर्ने बताए । उक्त ऐन आएपछि धेरै दलितका सवाललाई समेट्ने उनकाे भनाइ छ । कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका व्यक्तिहरुले मानव अधिकारकाे रक्षामा लागि साझा प्रतिवद्दता व्यक्त गरेका थिए ।
खुलानजर । २६ मंसिर २०८१, बुधबार ०१:०६