
सुर्खेत: कर्णाली प्रदेशअन्तर्गत सुर्खेतको चौकुने गाउँपालिकाले शहीदहरूको सम्मान र स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यका साथ निर्माणाधीन ‘शहीद पार्क’को थप निर्माण कार्यलाई अगाडि बढाएको छ।
गाउँपालिका अध्यक्ष खड्क बासपाने विवशले शहीदहरूको योगदानको सम्मान गर्दै सामाजिक सञ्जालमार्फत शहीद पार्क निर्माण अभियानलाई निरन्तरता दिइएको जानकारी दिएका छन्। उनले चौकुने गाउँपालिकाको माटोमा जन्मिएर परिवर्तन र राष्ट्र निर्माणका लागि आफ्नो जीवन समर्पण गरेका महान् शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शहीदहरूको सम्झनामा निर्माण भइरहेको पार्क केवल भौतिक संरचना मात्र नभई त्याग, साहस र समर्पणको प्रतीक भएको बताएका छन्।

अध्यक्ष विवशका अनुसार प्राकृतिक सौन्दर्यले भरिपूर्ण तथा पर्यटकीय सम्भावना बोकेको उक्त क्षेत्रलाई थप व्यवस्थित, आकर्षक र जीवन्त बनाउने उद्देश्यका साथ आजबाट थप निर्माण कार्यको विधिवत् शुभारम्भ गरिएको हो।
गाउँपालिकाले शहीद पार्क निर्माणमार्फत स्थानीय इतिहास, संस्कार र शहीदहरूको योगदानलाई नयाँ पुस्तासम्म पुर्याउने विश्वास लिएको जनाएको छ। स्थानीयवासीहरूले पनि गाउँपालिकाको यो पहलले क्षेत्रको ऐतिहासिक महत्वसँगै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरेका छन्।
शहीदहरूको सम्झना, सम्मान र भावी पुस्ताका लागि प्रेरणाको केन्द्र बनाउने लक्ष्यसहित चौकुने गाउँपालिकाले उक्त परियोजनालाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।

जितबहादुर तिरुवा । २० बैशाख २०८३, आईतवार १९:४७