राउटे समुदायमा रक्सीको छायाँ, नसामा हराउँदो भविष्य !


सुर्खेत: नेपालका जंगलका स्वतन्त्र ‘राजा’ भनिने राउटेहरूको जीवनशैली आज संकटमा छ । परम्परागत घुमन्ते जीवन, आत्मनिर्भर उत्पादन र मौलिक संस्कृतिबाट बाँच्दै आएका यो समुदाय अहिले मदिराको घोर लतमा डुब्दै गएको छ । पछिल्ला वर्षहरूमा दर्जनौँ राउटेले अत्यधिक मदिरा सेवनकै कारण ज्यान गुमाएका छन् । यहि कात्तिक ६ गते पुजारी भक्तबहादुर शाहीको ७१ वर्षको उमेरमा निधन भयो । भदौमा २३ वर्षीय गोविन्द शाही र वैशाखमा मुखिया सूर्यनारायण शाहीको मृत्यु पनि त्यही कारणले भएको बताइन्छ । राउटे परियोजनाका कर्मचारी लालबहादुर खत्री भन्छन्, ‘मृत्यु हुनेहरू मध्ये धेरैजसोको कारण मदिरा नै हो । सरकारले दिने नगद भत्ताले उनीहरूलाई मदिराको लतबाट झन् टाढा पार्न सकेको छैन, बरु अझै फसाएको छ ।’ राउटे समुदायका लागि सरकारले २०७५ सालमा परियोजना सुरु गरेको थियो । सुरुमा जनसंख्या १४७ थियो, अहिले घटेर १ सय ३५ मा सीमित छ । सात वर्षको अवधिमा ४३ जनाको मृत्यु र ३१ जनाको मात्र जन्म भएको तथ्याङ्क परियोजनासँग छ ।

भत्ताले बढायो असुरक्षा
सरकारले सामाजिक सुरक्षा भत्ता शीर्षकमा हरेक महिनाको निश्चित रकम राउटेहरूलाई वितरण गर्छ । तर यही नगद अहिले उनीहरूको जीवनमा विष झैँ फैलिएको छ । भत्ता हातमा पर्नासाथ नजिकका बजारबाट मदिरा खरिद हुन्छ, र बस्ती नै मादक पदार्थको असरमा डुब्छ । परियोजनाले राउटे बस्ती वरिपरिका पसलहरूलाई मदिरा बिक्री नगर्न आग्रह गर्दै आएको छ । प्रहरी र परियोजना कर्मचारीले सयौँ पटक चेतावनी दिएका छन्, तर उनीहरूका अनुसार ‘मदिरा नखाने’ बानी बसाल्न अहिलेसम्म कसैलाई सफल हुन सकेको छैन ।
खत्री भन्छन्, ‘उनीहरूलाई सम्झाइबुझाइ गरेर मात्र सम्भव छैन, भत्ता वितरणको स्वरूप नै बदल्नुपर्छ । नगदको सट्टा रासन, लत्ताकपडा, पोषणयुक्त खाना वा पशुपालन सामग्री दिनुपर्छ ।’

संस्कृति संकटमा
राउटेहरूको दैनिकीमा केही सकारात्मक परिवर्तन देखिएको छ । पहिले बस्तीमै दिसापिसाब गर्ने, नुहाउने वा कपडा धुने बानी नहुने समुदाय अहिले हप्तामा एकपटक नुहाउँछ, सरसफाइ गर्छ र बाहिर जाँदा जुत्ता–चप्पल लगाउँछन् । तर, यो सुधारले पनि उनीहरूको परम्परागत संरचना र स्वतन्त्र जीवनशैलीलाई बचाउन सकेको छैन । उनीहरू अब जंगलबाट काठका भाँडाकुँडा बनाएर बेच्दैनन्, बरु सहायता र भत्तामा निर्भर छन् । ‘जंगलका राजा’ अब सरकारी सूचीका भत्ता पाउने नागरिकमा मात्र सीमित भएका छन् ।
पछिल्ला वर्षहरूमा राउटे बालबालिकामा पढ्ने इच्छा जागेको छ । विद्यालय नजिकै हुँदा पनि उनीहरूलाई पढ्न मुखियाले अनुमति नदिने गरेको खत्री बताउँछन् । ‘बालबालिकाले लुकिछिपी नाम लेख्ने, कखरा लेख्ने गर्छन् । तर मुखियाहरूले ‘पढ्न हुन्न’ भनेर रोक्छन् ।’ शिक्षाबाट टाढा राख्ने यो संस्कारले नयाँ पुस्ता अझै पुरानै परम्परामा बाँधिएको छ ।

‘सहायता’ को नाममा हस्तक्षेप
शान्ति प्रक्रियापछि विभिन्न एनजीओ÷आईएनजीओहरूले राउटे समुदायमा ‘परिवर्तनका’ नाममा हस्तक्षेप गर्न थाले । कसैले त्रिपाल र चामल बाँडे, कसैले सरसफाइका कार्यक्रम चलाए, कसैले सामाजिक सुरक्षा योजनाको अध्ययन गरे ।
तर यसरी निरन्तर हुने हस्तक्षेपले समुदायभित्र आत्मनिर्भरता भन्दा पनि निर्भरता बढायो । मदिरा सेवनको चलन पनि त्यसैबीच विस्तार भयो । केही संस्थाले त प्रचारका लागि राउटेहरूको तस्बिर र भिडियो प्रयोग गरेको आरोपसमेत समुदायभित्र छ ।

नीतिगत पहलको आवश्यकता
राउटेहरूको जीवनशैली संरक्षणका लागि नीति निर्माण अत्यावश्यक भएको परियोजनाका कर्मचारीहरूको ठम्याइ छ ।
खत्री सुझाव दिन्छन्, ‘राउटे बस्ती नजिक अस्थायी प्रहरी चौकी स्थापना गर्नुपर्ने, नगद भत्ता बन्द गरेर वस्तुगत सहायता (खाद्यान्न, लत्ताकपडा, पशुपालनका सामग्री) वितरण गर्नुपर्ने, राउटे संरक्षणका लागि छुट्टै राष्ट्रिय नीति कार्यान्वयन गर्नुपर्ने ।’
कर्णाली प्रदेश सरकारले हाल राउटे नीति ल्याउने तयारी गरिरहेको र यो वर्षभित्र पारित हुने अपेक्षा गरिएको छ । हाल राउटेहरू सुर्खेतमा बसोबास गर्छन् । कहिल्यै स्थायी नबसेको यो समुदाय अहिले आफ्नै पहिचान गुमाउने संकटमा छ । जंगलमा बाँच्ने गर्विलो समुदाय अब भत्तामा बाँच्न बाध्य छ । सांस्कृतिक गर्व, आत्मनिर्भरता र स्वतन्त्रताको प्रतीक रहेकाहरू आज मदिरा र निर्भर जीवनबीच अल्झिएका छन् । राउटेहरूलाई जोगाउन अब केवल ‘सहायता कार्यक्रम’ होइन, संवेदनशील र व्यवहारिक नीति र कानुन बनाउन जरुरी छ ।