जितबहादुर तिरुवा
सुर्खेत : राष्ट्रिय दलित आयोगकाे आयोजनामा मंगलबार बालविवाह न्यूनिकरणका लागि विद्यमान कानुनी व्यवस्था र सरोकारवालाहरूको भूमिकाबारे कर्णाली प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले बाल विवाहको प्रभाव दलित समुदायमा अझ बढी देखिएकोले कर्णालीमा उक्त कार्यक्रम गरिएको उल्लेख गरे । `बाल विवाहका कारण धेरै बालिका शिक्षाबाट बञ्चित भएका छन् ,´उनले भने, `यसले उनीहरूको भविष्य अन्धकारमय बनाइरहेको छ। कानुन सबैका लागि समान हुनुपर्छ, तर व्यवहारमा दलित समुदाय अझै पनि विभेदको सिकार भइरहेका छन्।´
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बाल विवाह रोक्न प्रदेश सरकारले विभिन्न कार्यक्रम अघि सारेको जानकारी दिए । उनले भने, `हामीले शिक्षामा पहुँच बढाउने, सचेतना कार्यक्रम सञ्चालन गर्ने र कानुनी कार्यान्वयनलाई प्रभावकारी बनाउने काम गरिरहेका छौं।´
प्रतिनिधि सभा सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेत सन्तोष परियारले बालविवाह न्यूनिकरणका लागि भएका कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए । उनले भने, `बाल विवाह समाजमा जरा गाडेर बसेको समस्या हो। यसलाई न्यूनीकरण गर्न केवल कानुन बनाएर मात्रै हुँदैन, कडा कार्यान्वयन पनि आवश्यक छ।´
कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी राजन चापागाईंले बाल विवाह विरुद्धको कानुनी कारबाहीका विषयमा जानकारी दिए । `बाल विवाह गराउने, गराउने कोशिश गर्ने वा सहयोग गर्ने जो–कोहीलाई पनि कानुनी दायरामा ल्याइनेछ। समाजमा यो चेतना फैलाउनु आवश्यक छ कि बाल विवाह गैरकानुनी मात्रै होइन, यो अपराध पनि हो,`उनले भने ।
कर्णाली प्रदेश सभा सदस्य उर्मिला विश्वकर्माले दलित समुदायका बालबालिकाहरू अझ बढी प्रभावित भएको बताउँदै यसलाई न्यूनीकरण गर्न सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन् । त्यस्तै, सांसद रणसिंह परियारले बाल विवाह न्यूनीकरणका लागि सामाजिक सचेतना अभिवृद्धि गर्नुपर्ने बताउँदै यसमा युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे । राष्ट्रिय दलित आयोगको आयोजनामा सम्पन्न यस कार्यक्रममा संघीय तथा प्रदेश सरकारका प्रतिनिधिहरू, सुरक्षा निकायका अधिकारीहरू, सामाजिक अभियन्ताहरू, पत्रकारहरू, तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो।
खुलानजर । १३ फाल्गुन २०८१, मंगलवार १९:४९