जलवायु परिवर्तनको असर: नेपालमा पहिरो र चट्याङले निम्त्याएको विनाश

काभ्रेपलाञ्चोक पनौती नगरपालिका-१२ मा गएको पहिरो ।तस्वीर : मुकेश पोखरेल

जगतदल जनाला विक/मुकेश पोखरेल/ यमुना साउद

प्राकृतिक विपत्ति मध्ये पहिरोका कारण सवैभन्दा बढी नेपालीले ज्यान गुमाइरहेका छन् । अघिल्लो चार दशकको तुलनामा पछिल्लो एक दशकको तथ्याङ्कले औसतमा मृत्युदर बढेको देखिन्छ ।

काठमाडौंं-गौरीशंकर गाउँपालिका–९ बेदिङ, दोलखाका निमाछिरी शेर्पा ९२ वर्षका भए। थाहा पाउने भएदेखि बेदिङमा पहिलो पटक उनले यो वर्ष ठूलो वर्षा सामना गरे। बेदिङको बस्ती समुन्द्रसतहदेखि ३७ सय ७ मिटर उचाइमा छ। हिउँदमा यहाँ हिउँपर्छ। “तर म जान्ने भएदेखि बर्खामा यति ठूलो पानी परेको जानेकै थिइनँ। पानी त पथ्र्यो, भलबाढी आउने गरी परेको थाहा छैन,” उनी भन्छन् ।

गौरीशंकर गाउँपालिकाको ३५ सय मिटरभन्दा माथिको क्षेत्रमा गत असार २१ गते अस्वाभाविक वर्षा भयो । जसकारण गौरीशंकर गाउँपालिकाका उच्च हिमाली बस्तीले पहिलो पटक बाढी र पहिरोको सामना गर्नुपर्याे । त्यहाँ वर्षा मापन केन्द्र नभएका कारण कति पानी प¥यो, त्यसको आधिकारिक विवरण जल तथा मौसम विज्ञान विभागसंग छैन । रोल्वालिङ खोलामा हिमालका उच्च भागबाट आएको ठूलो बाढीले तल्लो क्षेत्रमा धेरै क्षति पु¥याएको गौरीशंकर गाउँपालिका–९ ना गाउँका दाबाछिरी शेर्पा बताउँछन । “हिमालका टाकुरासम्म भयो, जसले माथिबाट गेग्य्रानसहित ठूलो बाढी ल्यायो। हिमालका टाकुराबाट आउने बाढी रोल्वालिङ खोलामा झरेपछि त्यसले दायाँ बायाँ कटान गर्यो।”


गौरीशंकर गाउँपालिका–९ का वडाध्यक्ष ङिमगेली शेर्पा उच्च हिमाली क्षेत्रमा पछिल्लो १०० वर्षयता त्यति ठूलो पानी नपरेको बताउँछन् ।हरितगृह ग्यासको उत्सर्जन तथा मानवीय क्रियाकलापका कारण पछिल्ला दशकमा विश्वको तापमान अस्वभाविक रुपमा वृद्धि भएको छ। जलवायुजन्य आगलागी, बाढी, पहिरो, चट्याङ्, जस्ता घटनाबाट नेपाल पनि प्रभावित छ । पछिल्लो १० वर्षका घटनामा ३ हजार ७४१ जनाले ज्यान गुमाएका छन् । यो तथ्याङ्ले औसतमा प्रतिवर्ष ३७४ जनाको आगलागी, बाढी, पहिरो, चट्याङका कारण ज्यान जाने गरेको देखिन्छ । तर, त्यसमध्ये सबैभन्दा बढी पहिरोका कारण मानिस मरिरहेको तथ्याङ्ले देखाउँछ । पछिल्लो १० वर्षमा पहिरोका कारण १ हजार ५१२ जनाले ज्यान गुमाएका छन् । यो तथ्याङ्ले प्रतिवर्ष पहिरोका कारण १३७ जनाले ज्यान गुमाउने गरेको देखिन्छ । त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका उप–प्राध्यापक बसन्तराज अधिकारी सहितका विज्ञहरुले गरेको अध्ययनले सन २०१५ अघिको तीन दशकको तथ्याङ्क पहिरोका कारण मृत्यु हुने बार्षिक औसत संख्या ११३ थियो । सन १९७२ देखि २०१५ सम्म ३ हजार ४१९ पहिरोका घटनामा ५१८० जनाले ज्यान गुमाएका थिए।

सन २०२१ मा वन तथा वातावरण मन्त्रालयले तयार गरेको संकटासन्ता, जोखिम विश्लेषण र अनुकुलताका उपाय सम्वन्धी प्रतिवेदनले पनि बाढी, पहिरो, चट्याङ र हिमताल जस्ता जलवायुजन्य घटना देशभर बढ्दै गएको उल्लेख गरेको छ । तापक्रम वृद्धि, तथा छोंटो समयमा हुने अत्यधिक वर्षाका घटनाले विश्वव्यापी रुपमै हरेक वर्ष उच्च रेकर्ड कायम गरिरहेका छन् ।

सन २०२४ सन १८५० यताको सवैभन्दा बढी तातो वर्षको रुपमा रहन गयो । सन २०२४ को औसत विश्वव्यापी तापक्रम १५.१० डिग्रि सेल्सियस रहन गयो। जुन सन २०२३ को भन्दा ०.१२ डिग्रि सेल्सियस बढी हो । विभिन्न रिर्पोटहरुले पछिल्लो एक दशकलाई अहिलेसम्मकै तातो वर्षका रुपमा देखाएका छन् । तापक्रम वृद्धिको वर्तमान प्रवृतिदर प्रतिदशक ०.२ डिग्रि सेल्सियसका दरले बढेको देखिन्छ । जसका कारण सन २०३० को दशकभित्रै १.५ डिग्रि सेल्सियसको सीमा रेखा पार गर्ने संभावना धेरै उच्च छ । सन २०१६ मा भएको पेरिस सम्झौताले विश्वव्यापी तापक्रम वृद्धिलाई औद्योगिकिकरणपूर्वको स्तरभन्दा २ डिग्रि सेल्सियस भन्दा कम राख्ने र १.५ डिग्रि सेल्सियस भित्र सिमित गर्ने लक्ष्य राखेको छ । यद्यपी केही वर्ष १.५ डिग्रि सेल्सियस माथि जानु पेरिस सम्झौताको लक्ष्य उल्लंघन भएको मानिंदैन। तर, तापक्रम वृद्धिको परिणाम हुने जलवायुजन्य बाढी, पहिरो, चट्याङ र हिमताल विस्फोट जस्ता घटनालाई रोक्न सकिंदैन । र, यस्ता घटनाले नेपालमा ठूलो मानवीय तथा भौतिक नोक्सान गरिरहेका छन् ।

राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार पछिल्लो एक दशकमा (सन २०१५–२०२५ सम्म) मा मात्र चट्याङ्का कारण ८११ जनाले ज्यान गुमाए । हरेक वर्ष सरदरमा ८२ जना मानिसको चट्याङ्बाट मृत्यु हुने देखिन्छ। त्यसैगरी २ हजार ६६६ जना मानिस घाइते भए । चट्याङ्कै कारण देशले करिव ९० मिलियन बराबरको क्षति व्यहोरेको छ । यद्यपी स्वतन्त्र निकाय तथा चट्याङ्को क्षेत्रमा काम गर्ने अध्ययेताले गरेको अनुसन्धानमा भने मृत्यु हुने दर बढी छ ।

सह–प्राध्यापक एवम् चट्याङविज्ञ श्रीराम शर्मासहितको टोलीले सन् २०२१ मा गरेको अध्ययन अनुसार, १४ अप्रिल २०११ देखि १५ अप्रिल २०२० सम्म नेपालमा चट्याङका कारण ९३० जनाको मृत्यु भएको छ।सोही अवधिमा चट्याङका कारण घाइते हुनेको संख्या २ हजार ४५४ छ। यस हिसाबले नेपालमा हरेक वर्ष सरदर १०३ जनाले चट्याङका कारण ज्यान गुमाइरहेका छन् । मृत्यु हुनेमध्ये ५०.८ प्रतिशत पुरुष छन् भने ३५.३ प्रतिशत महिला र १४ प्रतिशतको पहिचान हुनसकेको छैन। यो अवधिको तथ्याङ्कलाई विश्लेषण गर्दा प्राकृतिक प्रकोपमध्ये सबैभन्दा बढी मृत्युको कारण चट्याङ बनेको छ।

विश्वमा चट्याङका कारण बर्सेनी २४००० हजार मानिसको मृत्यु हुन्छ भने करिव २ लाख ४० हजार मानिस घाइते हुन्छन्। चट्याङ पर्ने घटना तापक्रवृद्धिसंग सम्बन्धीत रहेको छ । वैज्ञानिकहरुका अनुसार १ डिग्रि तापक्रम वृद्धि हुँदा चट्याङ् पर्ने दर १० देखि २० गुणाले वृद्धि हुन्छ । नेपालको तापक्रम वृद्धिदर भूगोल र क्षेत्र अनुसार फरक छ । विश्व व्याङ्कको ‘क्लाइमेट चेन्ज नलेज म्यानेजमेन्ट पोर्टलका अनुसार सन १९०१ म नेपालको औसत तापक्रम १३ दशमलव ६६ डिग्रि सेल्सियस रहेकोमा सन २०२३ मा १४.०७ डिग्रि सेल्सियस वृद्धि भएको छ ।

सूर्यको तापका कारण वाष्पीकरण भएका पानीका कणहरु वायुमण्डलको एउटा निश्चित बिन्दुमा गएपछि चिसिएर बरफ बन्छन् । माथि पुगेका ती गह्रुङ्गा कणहरु तलतिर झर्न थाल्छन भने हलुका कणहरु माथिरित सोझिन्छन् । त्यसक्रममा घर्षण सुरु हुन्छ । यो प्रक्रियामा नेगेटिभ र पोजेटि चार्ज बोकेका कणहरुबीचको घर्षण बढ्दै गएपछि ठूलो मात्रामा करेन्ट प्रवाह हुन्छ र त्यसले चट्याङ् उत्पन्न हुन्छ ।
विश्व मानचित्रमा तीनवटा बढी चट्याङ पर्ने स्थान (हटस्पट) छन् । पहिलो मध्य अफ्रिकामा पर्छ भने दोस्रो, दक्षिण र उत्तरी अमेरिकाको बीचको भू भाग हो भने तेस्रो पूर्वी एसिया ।

पूर्वी एसियाका इण्डोनेसिया, सिंगापुर, मेलेसिया चट्याङ पर्ने मुख्य क्षेत्र हुन् । त्यसको एउटा सानो चोइटो बंगालको खाडी वरिपरि पनि छ र त्यसैको छिटा नेपालसम्म आइपुग्छ । चट्याङका कारण प्रभावित हुनेमा जो गाउँ घरमा बसोबास गर्छन् । निम्न र सिमान्तकृत समूह नै त्यसबाट प्रभावित हुने गरेको पाइन्छ । जुम्लाको पातारासी गाउँपालिकाको बाघजाले लेकमा चराउन लगेका करिव १ हजार ५०० भेंडा चट्याङ लागेर मरे । चट्याङका कारण हरेक वर्ष किसानले ज्यानको साथै वस्तुभाउका साथै आफ्ना पशुचौपाया गुमाउन पुगेका छन् । चट्याङका कारण खेतबारीमा काम गरिरहेका निम्न र गरिव समुदायका मानिस नै प्रभावित हुने गरेका छन् । केही वर्ष अघि सप्तरीमा खेतमा काम गरिहेका चार जना महिलाको चट्याङ लागेर मृत्यु भयो । यो एउटा उदाहरण मात्र हो । हरेक वर्ष जब प्रि मनसुन र मनसुन सिजन सुरु हुन्छ चट्याङका कारण भएका मानवीय क्षतिका यस्ता समाचार आइरहन्छन् ।

 

नेपालले बर्षा तथा बाढी पूर्वानुमानमा ठूलो फड्को मारेको छ । कुनै बेला आकासमा नाङ् आँखाले हेरेर पूर्वानुमान सम्बन्धी सूचना जारी गर्ने अवस्थामा रहेको नेपालको जल तथा मौसम विज्ञान विभागले अहिले तीनदिन अघि नै कुन क्षेत्रमा कस्तो किसिमको वर्षा हुँदै छ त्यस सम्बन्धी पूर्वसूचना दिन सक्ने अवस्थामा पुगेको छ । नदी प्रणालीमा जडान गरिएका पूर्व सूचना प्रणालीले गर्दा बाढीका कारण हुनसक्ने मानवीय क्षति धेरै कम भएको छ । विज्ञहरुका भनाईमा चट्याङ्बाट हुने मानवीय क्षतिलाई पनि कम गर्न सकिन्छ । तर, त्यसका लागि चट्याङकाे ‘अभ्जरभेसन मनिटरिङ सिस्टम’ पहिलो काम हो । त्यसबाट आधा घण्टा अघि नै वायुमण्डलको स्थितिका बारेमा सूचना प्रदान गर्न सकिन्छ । कम्तिमा पनि चट्याङ पर्न सुरु गर्नु आधा वा एक घण्टाअघि जनतामा सूचना प्रवाह गर्न सक्दा त्यसबाट हुनसक्ने मानवीय क्षतिलाई कम गर्न सकिन्छ ।

पूर्व सूचनाका कारण संभावित ठूलो मानवीय क्षतिलाई कसरी जोगाउन सकिन्छ भन्ने एउटा उदाहरण गत मनसुनको समयमा कञ्चनपुरमा भएको अतिभारी वर्षा र पूर्व सूचनाकै कारण रोक्न सकिएको मानवीय क्षति हो । कञ्चनपुरमा ठूलो वर्षा हुँदैछ भन्ने जलतथा मौसम विज्ञान विभागले जारी गरेको सूचनाका आधारमा त्यहाँका स्थानीय तह तथा प्रहरी प्रशासनले गरेको तयारीका कारण संभावित ठूलो मानवीय क्षति रोकिएको थियो।