जातीय विभेद तथा रंगभेद उन्मूलन दिवस मनाउन तयारी बैठक सम्पन्न

सुर्खेत : कर्णाली प्रदेश प्रतिष्ठानका अध्यक्ष बसन्त कुमार विश्वकर्माको अध्यक्षता तथा राष्ट्रिय मानवअधिकार आयोग, कर्णाली प्रदेशका मानवअधिकार अधिकृत मानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा ६०औं अन्तर्राष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मूलन दिवस मनाउने सम्बन्धमा तयारी बैठक शनिबार सम्पन्न भएको छ। बैठकले सम्बन्धित सरोकारवालाहरूको सुझावसहित यही चैत्र ८ गते (२१ मार्च) बिहान ११:०० बजे मंगलगढी चोकदेखि पिपल चौतारासम्म र्याली निकाल्ने तथा पिपल चौतारामा औपचारिक समारोह आयोजना गर्ने निर्णय गरेको छ।

बैठकले सरकारी निकाय, उक्त दिवसमा सहभागिताका लागि कर्णालीवासीलाई अपिल गरिएको छ । २१ मार्चको दिवसलाई सफल पार्न कर्णाली प्रदेश प्रतिष्ठान, सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर नगरपालिका, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय दलित आयोग, दलित महिला संघ, इन्सेक कर्णाली प्रदेश, आवाज संस्था, दलित गैरसरकारी संस्था महासंघ, पेशागत संगठनहरू,  जनसंगठनहरू, अनलाईन मिडिया लगायतका संघ संस्थाहरूको ऐक्यवद्धता रहेको छ । कानूनी व्यवसायी, बुद्धिजीवी, सामाजिक अभियन्ता, विद्यार्थी, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालालाई आ-आफ्नो संस्थाको व्यानर र पहिचानसहित उपस्थित हुन आग्रह गरेको छ।

२१ मार्चको कार्यक्रममा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, प्रदेशसभा सदस्य उर्मिला विश्वकर्मा, रणसिंह परियार, वीरेन्द्रनगर नगर प्रमुख मोहनमाया ढकाल लगायतका व्यक्तित्वहरूले सम्बोधन गर्नेछन्। संयुक्त राष्ट्रसंघले १९६६ मा मार्च २१ लाई जातीय विभेद तथा रंगभेद उन्मूलन दिवस को रूपमा घोषणा गरेको थियो। उक्त दिन १९६० मा दक्षिण अफ्रिकाको सार्पभिल्लेमा रंगभेदी ऐनको विरोध गर्दा ६९ जना अश्वेत नागरिक प्रहरीको गोलीबाट मारिएका थिए। त्यस घटनाको स्मरण गर्दै जातीय विभेद तथा रंगभेद उन्मुलन दिवसका कार्यक्रमहरु विश्वभर सरकारी तथा गैरसरकारी निकायबाट आयोजना गरिन्छ।